प्राइम लाइफको सेयर संरचना परिवर्तन, ५१:४९ अनुपात कायम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ मा परिणत गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० को रहेको थियो । सेयर अनुपातलाई ५१ः४९ मा परिणत गर्न नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीको १५ औं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ । साथै सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाण्डौंमा लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्दै आइएमई लाइफ इन्स्योरेन्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १७६ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।

सगरमाथा लुम्बिनीको वरिष्ठ डीसीईओ बनिन् बरिष्मा साउद आचार्य

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो । यसअघि उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रुपमा कार्यरत थिइन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त वरिष्ठ डीसीईओ आचार्यसँग नेपाली बीमा क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । त्यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिईन् ।