७ कम्पनीको ६ अर्ब ८५ करोड रुपैयाँ बढीको बोनस सेयर दर्ता, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ७ कम्पनीको मात्रै बोनस सेयर दर्ता भएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ७ वटा कम्पनीको बोनस सेयर सेबोनमा दर्ता भएको हो । गत साउनदेखि हालसम्ममा कूल ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएका छन् । जसमा तीन इन्स्योरेन्ससहित ७ कम्पनीको कूल ६ करोड ८५ लाख कित्ता सेयर रहेका छन् । हालसम्म बोनस सेयर दर्ता हुनेमा गरिमा विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र एनसीसी बैंक रहेका छन् । यीमध्ये गरिमा विकास बैंकको ६३ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । गत साउन ६ गते नै बैंकको ६३ लाख १७ हजार कित्ता बोनस सेयर सेबोनमा दर्ता भएको हो । जुन आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर हो । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको पनि सोहि दिन ३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दर्ताका भएको थियो । अन्य समूह अन्तर्गतको यो कम्पनीको आर्थिक वर्ष २०७७/७८ को ३ करोड कित्ता बोनस सेयर दर्ता भएको हो । बीमा समूहअन्तर्गतका तीन वटा कम्पनीको बोनस सेयर दर्ता भएका छन् । निर्जीवन बीमाको तर्फबाट लुम्बिनी जनरल इन्स्योरेन्स र जीवन बीमाको तर्फबाट एशियन र सानिमा लाइफ रहेका छन् । जसमध्ये लुम्बिनी जनरल र एशियन लाइफको आर्थिक वर्ष २०७७/७८ को र सानिमा लाइफको आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर चालु आवमा सेबोनमा दर्ता भएको हो । जसमध्ये लुम्बिनी जनरलको ११ करोड ३८ लाख रुपैयाँ बराबरको ११ लाख ३८ हजार कित्ता सेयर रहेको छ । एशियन लाइफको ३६ करोड ८२ लाख रुपैयाँ बराबरको ३६ लाख ८२ हजार कित्ता सेयर सेबोनमा दर्ता भएका छन् । त्यसैगरी, सानिमा लाइफको गत कार्त्तिक २४ गते ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता बोनस धितोपत्र बोर्डमा दर्ता भएका छन् । यता वाणिज्य बैंकको तर्फबाट दुई कम्पनी रहेका छन् । जसमा हिमालयन बैंक र एनसीसी बैंक छन् । हिमालयन बैंकको २ अर्ब २८ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो भने एनसीसी बैंकको ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर दर्ता भएको छ । त्यस्तै, हिमालयन बैंकको आर्थिक वर्ष २०७७/७८ को २ करोड २८ लाख कित्ता सेयर दर्ता भएको छ । एनसीसी बैंकको भने आर्थिक वर्ष २०७८/७९ को ३७ लाख ५० हजार कित्ता सेयर धितोपत्र बोर्डमा दर्ता भएका छन् । हालसम्ममा गत आर्थिक वर्ष अर्थात २०७८/७९ को बोनस सेयर दर्ता गर्नेमा एनसीसी बैंक मात्र देखिएको छ । कम्पनीहरुले सम्बन्धित वर्षको लाभांश सेयरधनीलाई वितरण गरेपछि मात्रै उक्त सेयर सेबोनसमा दर्ता हुने छ ।

सरकारको स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन

घोराही । दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पु¥याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार आठ सय ६७ पुरुषले बीमा गरेका हुन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार पाँच सय ९१ बिमित छन् । तुलसीपुर उपमहानगरपालिकामा सात हजार सात सय ३८, लमही नगरपालिकामा एक हजार सात सय ६७, बबई गाउँपालिकामा एक हजार चार सय ३९, बङ्गलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा आठ सय ९७, गढवा गाउँपालिकामा सात सय ७९, राजपुर गाउँपालिकामा पाँच सय ३३, राप्ती गाउँपालिकामा एक हजार चार सय ४३ र शान्तिनगरमा एक हजार ४० बीमित रहेका प्रमुख वलीले जानकारी दिए । उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार आठ सय ३३, ज्येष्ठ नागरिक १० हजार दुई सय ३६, अति अशक्त एक हजार तीन सय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार एक सय ९१, एचआईभी सङ्क्रमित दुई सय २८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चार जना छन् । ‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको सङ्ख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन् । रासस

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/÷७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट फागुन २९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २७ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १०८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ६४७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २६५ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ९३६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २१७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार ६८६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३१५ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिका २ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ६८४ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ३०६ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३६ हजार ७३९ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको १६ हजार ४९७ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ३२५ वटा र ३० वा सोभन्दा माथि अवधिका १२९ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख) यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ५३९ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १२ हजार १६१ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ४ हजार ९५९ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका १८ वटा बीमालेख बिक्री गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३६८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार ९६२ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ११ हजार २६ वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १८९ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९७० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ९ हजार २३६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ८ हजार २५ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २९६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ७६ वटा बीमा लेख बिक्री गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।