अब अनलाइनबाटै बीमा एजेन्ट र सर्भेयरको लाइसेन्स नवीकरण हुने, डुब्लीकेशन भए के गर्ने ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्न शुरु गरेको छ । प्राधिकरणले गत चैत ५ गतेदेखि नै उक्त प्रणाली मार्फत अभिकर्ताको व्यवस्थापन शुरु गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको सामान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनको लागि सो कार्य शुरु गरेको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ता तथा बीमा सर्भेयरको अनुगमनमा सहज हुने भन्दै एक कार्यक्रमबीच सो प्रणालीको उद्घाटन गरेका हुन् । नयाँ प्रणालीमामार्फत अभिकर्ताले कसरी गर्ने लाइसेन्स नवीकरण ? यो व्यवस्था लागू भएसँगै बीमा अभिकर्ताले लाइसेन्स नवीकरण गर्न कम्पनी धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । बीमा प्राधिकरणले अनलाइन प्रणाली लागू गरेसँगै उनीहरुले अब घरबाटै आफ्नो लाइसेन्स नवीकरण गर्न सक्ने छन् । त्यसको लागि बीमा अभिकर्ताहरु बीमा प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । उक्त वेवसाइटमा गई अभिकर्ताले इ-सर्भिसेस् तथा अनलाइन पेमेन्ट सर्भेयर तथा एजेन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा गइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स अर्थात इजाजतपत्र ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढी कम्पनीमा आवद्ध) भए वा नभएको पहिचान गर्नुपर्छ । यदि बीमा अभिकर्ता एउटा मात्र कम्पनीमा आवद्ध भएको पाइएमा उसले नवीकरणका लागि विभिन्न दुई विवरण टिप्नु पर्छ । एउटा आफ्नो लाइसेन्स नम्बर, अर्को उक्त लाइसेन्स नम्बर जारी भएको मिति । जुन मिति नेपाली नभई अंग्रेजी डेट नै हुनुपर्ने व्यवस्था छ । अभिकर्ता एकभन्दा बढी बीमकसँग आवद्ध भएमा के गर्ने ? यदि बीमा अभिकर्ता एकभन्दा बढी बीमक (कम्पनी) सँग आवद्ध भएमा अभिकर्ताले थप प्रकृया पुरा गर्नुपर्ने हुन्छ । सिस्टमले देखाए बमोजिमको कम्पनीहरुमध्ये आफूले एउटा मात्रै कम्पनी छान्नु पर्छ । त्यससँगै आफूले छानेको कम्पनी सहि छ वा छैन एकीन गर्नुपर्ने हुन्छ । कम्पनी एकीन गरिसकेपछि सिस्टममा भएको मोबाईल नम्बरमा गएको ओटीपी (वान् टाइम पासवर्ड) सिस्टममा राख्नुपर्ने छ । तर उक्त ओटीपी कोड एक दिनमा बढीमा दुई पटक मात्रै जेनरेट गर्न सकिने सिस्टम छ । जसको समयसीमा पनि १० मिनेटको मात्रै रहने छ । त्यस्तै, ओटीपी राखिसकेपछि बीमा ऐन, २०७९ को दफा ९१(७) बमोजिम समान किसिमको एक बीमक एक अभिकर्ता छनौट भएको मानिने छ । सो अनुसार छनौट भइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र उक्त नम्बर जारी गरिएको मिति (अंग्रेजी मिति) टिप्नुपर्ने हुन्छ । यसपछि मात्रै अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने छन् । उनीहरुले नेपाल क्लियरिङ हाउस, कनेक्ट आईपीएस, इसेवा, प्रभु टिभी, सेल पे, खल्ती, आइएमई पे लगायतका गेटवेहरुबाट लाइसेन्स नवीकरण गर्न सक्ने छन् । बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुले विभिन्न भुक्तानी सेवा प्रदायक संस्था मार्फत जुनसुकै समयमा नवीकरण शुल्क तिर्न सक्ने छन् । उक्त सेवा उनीहरुले वेब र मोबाइल एप दुबै माध्यमबाट पाउन सक्ने छन् । साथै, माथिका मध्ये कुनै एक गेटवेबाट भुक्तानी गरेपछिको भौचर सुरक्षित राख्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अभिकर्ताको लाइसेन्स नवीकरणको लागि प्राप्त भएको निवेदन कम्पनीको आईआरएमआईएस सिस्टममा जाने छ । उक्त सिस्टमबाट प्राधिकरणमा सिफारिस भई आएपछि मात्रै प्राधिकरणले एप्रुभ गर्छ । प्राधिकरणले एप्रुभ गरेपछि मात्रै लाइसेन्स नवीकरण भएको मानिने समेत जनाइएको छ । सर्भेयरले कसरी नवीकरण गर्ने ? बीमा सर्भेयरको लाइसेन्स नवीकरणको प्रकृया पनि अभिकर्ताको जस्तै लगभग उस्तै छ । अभिकर्ताले प्राधिकरणको वेवसाइटमा भएको एजेन्ट म्यानुअलमा जानुपर्थ्यो भने सर्भेयरले सर्भेयर म्यानुअल भन्ने अप्सनमा जानु पर्ने हुन्छ । त्यस्तै, अभिकर्ताको लाइसेन्स नम्बर भनेकोमा सर्भेयरले स.ई.प. ३४२/०६३/०६४ टिप्नु पर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, बीमा सर्भेयरहरुले २०७९ सालमा शुरु गरेका र सम्पन्न गरेका कामको विवरण पनि राख्नु पर्ने बताइएको छ । नवीकरणमा समस्या देखिए तत्काल समाधान गर्न निर्देशन प्राधिकरणका अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताएका छन् । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आइहालेमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् । समस्या आए के गर्ने ? लाइसेन्स नवीकरण गर्दा सम्बन्धित सेवा प्रदायकको भुक्तानी तथा डाटा इन्ट्रीमा समस्या आएमा अभिकर्ता तथा सर्भेयरले आफू आवद्ध भएको बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, अन्य प्राविधिक समस्या आएमा बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको नम्बर (०१-५४२८६१८, ५४२१०७९ मा कल गरी एक्स्टेन्सन नम्बर २२०, २०९, ११७) मा सम्पर्क गरी जानकारी लिन सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल [email protected] मार्फत पनि आफ्नो समस्या राख्न सक्ने प्राधिकरणले जानकारी गराएको छ ।

मर्जरलाई अन्तिम रुप दिन आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके विशेष साधारणसभा

काठमाडौं । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २२ गते विशेष साधारण सभा बोलाएका हुन् । आइएमई जनरल इन्स्योरेन्सको लैनचौर ब्याङ्क्वेट काठमाडौंमा र प्रुडेन्सियल इन्स्योरेन्सको होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे साधारणसभा गर्ने भएका हुन् । सोमबार दुई कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो । आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी सेयर अनुपात १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् कम्पनीको केन्द्रिय कार्यालय आइएमई जनरल इन्स्योरेन्सको हाल कै कार्यालय कायम रहने छ । विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरलले चैत्र १३ गते र प्रुडेन्सियलले चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले अघिल्लो दिनसम्म सेयर खरिद गरि कायम सेयरधनीहरु मात्रै सभामा सहभागि हुन पाउने छन् ।

आईएमई लाइफ इन्स्योरेन्स आइपीओ जारी गर्ने अन्तिम तयारीमा

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी अन्तिम अवस्थामा रहेको जानकारी दिएकाे छ । साेमबार सम्पन्न छैटौं वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले यस्ताे जानकारी दिएका हुन् । सभाले सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेकाे छ । सभाले कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्तावहरु सर्वसम्म्तिबाट पारित डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।