लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । चालू आवको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३ प्रतिशत बढेर १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर २ अर्ब ९० करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोष २० प्रतिशत बढेर ३६ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोष ४९ प्रतिशत बढेर १७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अुपात ६८१० गुणा रहेको छ ।

प्राइम, युनियन र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राइम, युनियन र गुराँसबीचका मर्जर बीमा ईतिहासको सबैभन्दा ठूलो मर्जर भएको बताएका छन् । मंगलबार काठमाडौंमा तीन कम्पनीबीचको एकिकृत कारोबार सुरुवातको कार्यक्रममा उनले यस्तो बताएका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरेका यी तीन कम्पनीले मर्जर भएपछिको उत्तर खोज्न तिर लाग्नुपर्ने उनले बताए ।’बजार, दक्ष कर्मचारी, अनुभवी संचालक भएको हुँदा सिनर्जी ल्याउन जोड दिनुपर्छ,’ उनले भने । बीमा कम्पनीको सफलता नै प्राधिकरणको सफलता भएको बताउँदै उनले भने,’यदि भोलिका दिनमा मर्जरले सिनर्जी दियो भने प्राधिकरणको पनि सफलता हुनेछ ।’ प्राधिकरणले पुँजी वृद्धि गर्न भनेको तर कम्पनीहरूले मर्जरको बाटो रोजेको उनले बताए । उनले प्राधिकरणको निर्देशन अनुसार  सहि ठाउँमा लगानी गर्न,  नयाँ आधुनिक पोलिसी ल्याउन सुझाव दिएका छन् । यस्तै, सिलवालले सरकारले बैकिङ क्षेत्रलाई जस्तै बीमा क्षेत्रलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘गत कात्तिकमा परेको बर्साले धान बालिमा ठूलो क्षति गर्यो तर बीमा नहुँदा सरकारले १० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्नसकेको छैन, यदि बीमा गरेको भए सरकारको दायित्व बीमा कम्पनीले व्यहोर्ने थिए,’ उनले भने । मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हिमालयन लाइफको अभिकर्ता सञ्जाल पनि सबैभन्दा ठूलो हुन पुगेको छ ।