प्रस्तावकको मृत्यु भएमा बाँकी अवधि बीमाशुल्क तिर्नु नपर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन लाइफ सुनौलो बाल समृद्धि जीवन बीमा योजना ल्याएको छ । यसैगरी, मेडिकेयर (आपतमा राहत) नामको अतिरिक्त पोलिसी सार्वजनिक गरेको छ । अतिरिक्त योजना भने म्यादी हो । याे हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । (क) सुनौलो बाल समृद्धि योजना  सुनाैलाे बाल समृद्धि याेजना बच्चा जन्मिएकाे ३१ दिनदेखि १७ वर्षको उमेरसम्मका लागि हाे ।  यसैगरी, प्रस्तावक (आमा वा बुबा) को उमेर १८ वर्ष पूरा भएर ५५ वर्ष ननाघेको हुनुपर्ने छ । यो बीमा अवधि ५ वर्ष देखि २५ वर्ष अवधिसम्मका लागि खरिद गर्न सकिने छ । बीमा अवधिमा बीमितको अधिकतम उमेर २५ वर्ष भन्दा बढी हुनु हुँदैन । यसैगरी, बीमा समाप्तिमा प्रस्तावकको उमेर ६५ वर्ष ननाघेको अवस्था हुनुपर्ने छ । यो पोलिसी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ बीमांक रकमको हुनेछ । मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र एकमुष्ठ रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने छ । १. जोखिम बहन समय बीमा प्रारम्भ मितिबाट २ वर्ष वा बच्चा ६ वर्षको उमेर पूरा मितिमध्ये जुनपछि आउँछ सोही मितिबाट जोखिम बहन हुनेछ । यदि बच्चाको उमेर १० वर्षको भएपछि बीमा प्रारम्भ गरिएको छ भने प्रारम्भ मितिबाट १ वर्षपछि जोखिम बहन हुनेछ । बच्चाको उमेर ११ वर्ष पुरा भएपछि बीमा गरेको हकमा सोही मितिबाट जोखिम बहन हुनेछ । प्रस्तावकको हकमा बीमा प्रारम्भ भएको मितिदेखि नै जोखिम प्रारम्भ हुनेछ । २. प्रस्तावकको मृत्यु भएको अवस्थामा प्रस्तावकको कुनैपनि समयमा मृत्यु भएमा बीमांक रकम कम्पनीले बच्चालाई भुक्तानी दिनेछ । यसैगरी, बाँकी अवधिभर भुक्तानी गर्नुपर्ने बीमाशुल्क बीमितले भुक्तानी गर्नु पर्दैन । साथै, घटना भएको मितिबाट उक्त बच्चाको पढाइका लागि कम्पनीले कुल बीमांक रकमको २ प्रतिशतले हुन आउने रकम हरेक महिना बच्चालाई भुक्तानी दिनेछ । उदाहरणका लागि यदि कसैले २० वर्षका लागि २० लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गरेको छ र ५ वर्षपछि प्रस्तावक तथा बच्चाको बुबा वा आमाको मृत्यु भएमा  २० लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले सो बच्चालाई भुक्तानी दिन्छ । यसैगरी, २० लाख रुपैयाँको २ प्रतिशत अर्थात ४० हजार रुपैयाँ सो बच्चालाई हरेक महिना बाँकी १५ वर्षसम्म कम्पनीले भुक्तानी दिन्छ । र, बीमितले तिर्नुपर्ने बीमाशुल्क पनि सोही दिनबाट तिर्नु पर्दैन । बीमालेख निरन्तर रहन्छ । २० वर्ष पूरा भएपछि सो बीमांक रकम र आर्जित बोनोस एकमुष्ठ रूपमा कम्पनीले फेरि सोही बच्चालाई भुक्तानी दिन्छ । २. बीमित बच्चाको मृत्यु भएमा जोखिम प्रारम्भ हुनुपूर्व बीमित बाल बालिकाको मृत्यु भएमा भुक्तानी गरेको सबै बीमाशुल्क फिर्ता हुनेछ । र बीमा योजना स्वतः रद्द हुनेछ । जोखिम सुरु भएपछि बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिश र आर्जित बोनस वा भुक्तानी गरिएको बीमा शुल्क जुन धेरै हुन्छ, सोही रकम फिर्ता हुनेछ । र, पोलिसी स्वत: रद्द हुनेछ । २. बीमित बच्चा र प्रस्तावकको एकै साथ मृत्यु भएमा पूरै बीमांक रकमको १२५ प्रतिशत रकम र आर्थित बोनस जोड्दा जति हुन्छ उक्त रकम फिर्ता हुनेछ । अर्थात २० लाख रुपैयाँको बीमांक भएमा २५ लाख रुपैयाँ र सो समयसम्म आर्जित बोनस फिर्ता हुन्छ । पोलिसी स्वतः रद्द हुनेछ । छुट वार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशतसम्म छुट हुनेछ । अर्धवार्षिक रूपमा भुक्तानी गर्दा १ प्रतिशत र त्रैमासिक रूपमा भुक्तानी गर्दा छुट पाइने छैन । मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा ५ प्रतिशत थप गर्नुपर्ने हुन्छ । यदि वार्षिक एक लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ भने वार्षिक रूपमा भुक्तानी गर्दा ९८ हजार रुपैयाँ भुक्तानी गर्दा हुन्छ । यसैगरी, अर्धवार्षिक रूपमा भुक्तानी गरेमा ९९ हजार भुक्तानी गर्नुपर्छ । त्रैमासिक रूपमा १ लाख रुपैयाँ नै भुक्तानी गर्नुपर्ने हुन्छ । मासिक रूपमा भुक्तानी गरेमा १२ महिनासम्म भुक्तानी गरेको रकम १ लाख ५ हजार हुन जान्छ । अर्थात, वार्षिक भुक्तान गर्दा बीमितलाई नै फाइदा हुने देखिन्छ । (ख) मेडिकेयर (आपतमा राहत) ः यो राइडर (अतिरिक्त) पोलिसी हो । यो म्यादी पोलिसी हो । हरके एक वर्षमा यसको नवीकरण गर्नुपर्ने हुन्छ । यो पोलिसीले दुर्घटना र घातक रोकको लागि क्षतिपूर्ति प्रदान गर्दछ । दुर्घटना र घातक रोग गरी १५ वटा अवस्थाको यो पोलिसीले बहन गर्छ । यो पोलिसी अन्य मुख्य पोलिसी खरिद गर्दा सँगसँगै खरिद गर्ने पोलिसी हो । यो मात्र खरिद गर्न पाइँदैन । ५ वर्ष पूरा भएको र ६९ वर्ष ननाघेको व्यक्तिले यो पोलिसी अतिरिक्तको रूपमा लिन सक्नेछ । पोलिसीले क्षतिपूर्ति प्रदान गर्ने दुर्घटना र घातक रोकको सूची: १. सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना २. एपेन्डिसाइटिस ३. प्यान्क्रियाटाइटिस ४. हृदयाघात ५. मस्तिष्कघात ६. विद्युतीय तथा अन्य जलन ७. डुबान ८. खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण ९. आन्द्रामा रगत बग्ने १०. कीरारसर्प टोकाइ ११. तापघात १२. मस्तिष्कमा चोट १३. गर्भाशय बाहिरको गर्भ १४. मानसिक स्वास्थ्य संकट १५. घाउमा संक्रमण शुल्क र बीमांक एक लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गर्दा १ हजार ३९३ रुपैयाँ बीमाशुल्क लाग्छ । अर्थात माथि उल्लेखित रोग तथा दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको उपचार खर्च यस पोलिसीले गर्नेछ । आपतकालीन अवस्थामा निम्न सुविधाहरू पाउन सकिन्छ: शल्यक्रियासहित अस्पतालमा रहँदाः पहिलो २ दिनको लागि प्रत्येक दिन बीमाङ्क रकमको २५५ तत्पश्चात थप ५ दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत । शल्यक्रिया बिना अस्पतालमा रहँदाः १० दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत। यो सुविधा निम्न अवस्थाहरुमा लागू हुँदैनः १. नियमित स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य समस्याहरूको लागि आपतकालीन भर्ना वा इएम् मार्फत नियमित अस्पताल भर्नाहरूमा लागू हुँदैन । २. गैरकानुनी रूपमा संलग्न भएर घाइते भई बिरामी भएमा लागू हुँदैन, अस्पताल भर्ना अवधि २४ घण्टाभन्दा कम भएमा यो सुविधा लागू हुँदैन ।

लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीले हालै वीरगञ्ज, लमजुङ, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगञ्ज, विराटनगर, लमही, दाङलगायत देशका विभिन्न ठाउँहरूमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेके छ । आगामी तालिमा सहभागी हुन चाहनेले अनलाइनबाट नै फर्म भर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform मा गएर अनलाईन फर्म भर्न सकिने छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍याे दुईवटा नवीनतम बीमा योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेकाे हाे । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको सन नेपाल लाइफले जनाएकाे छ । ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीकाे दावी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने अपेक्षा कम्पनीकाे छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् । सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सतकर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको छ । सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।