काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्सले बीमा क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई राम्रो तलब सुविधासहित भित्र्याउने रणनीति बनाएको छ । कम्पनीले विभिन्न बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई आकर्षक तलब सुविधा तथा अफरहरू सुनाएर आफ्नो कम्पनीमा आकर्षित गरिरहेको हो ।
अहिले पनि धेरै कम्पनीबाट सन नेपालमा प्रवेश गरिसकेका छन् । अहिले धेरैजसो आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी सन नेपालमा प्रवेश गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सका पनि आधा दर्जन बढी कर्मचारी सनमा भित्रिएको बुझिएको छ ।
आइएमई लाइफका माइक्रो इन्स्योरेन्स विभाग र वैदेशिक रोजगार म्यादी जीवन बीमा विभाग प्रमुख बनेका जनक फुँयालले कम्पनी छोडेका छन् । उनी आइएमई लाइफ छोडेर सन नेपाल लाइफ गएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी, आइएमईको वैदेशिक रोजगार म्यादी जीवन बीमा विभागको ताहाचल शाखा प्रमुख ज्ञानेन्द्र गौतम, भक्तपुरको एरियल म्यानेजर सनत सत्याल र कम्पनीको बजार प्रमुखको रूपमा रहेका गणेश चौलागाईं पनि सन नेपालमा गरिसकेका छन् ।
सन नेपालले आइएमईको भन्दा राम्रो सेवा सुविधा दिने सर्तमा उनीहरूलाई बोलाएको हो । उनीहरूबाहेक आइएमईका अन्य कर्मचारीलाई सन नेपालले विभिन्न अफर गरिरहेको बुझिएको छ। स्रोतका अनुसार हालसम्म एक दर्जन कम्पनीले आईएमई छोडेर सनमा गइसकेका छन् भने थप अन्य कर्मचारी पनि सनमा जाने तयारी गरेका छन् ।
डीसीईओ बन्दै फुयाँल
केही साताअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका कवि फुँयाल कम्पनीबाट बाहिरिए । उनी आइएमईबाट बारिरिएसँगै कुन कम्पनीमा जालान् भन्ने निकै चासोको विषय थियो । अन्ततः उनी सन नेपालमा जाने पक्कापक्की भइसकेको बुझिएको छ । तर, कुलिङ पिरियडका कारण उनी रोकिएका छन् । फुँयाल वरिष्ठ नायब प्रमुख कार्यकारी (डीसीओ)को रूपमा सन नेपाल लाइफमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
यद्यपि सन नेपालले उनलाई डीसीईओलाई ल्याउने विषय हल्ला मात्रै भएको औपचारिक जवाफ दिएको छ ।
सिटिजनका कर्मचारी पनि सनमा जाँदै
सिटिजन लाइफको काठमाडौं एरियल म्यानेजरको रूपमा रहेकी लोकमाया अधिकारी पनि सनमा प्रवेश गरेकी छन् । उनी सनको बागमती प्रदेश प्रमुखको रूपमा सनमा भित्रिएकी हुन् । उनीसँगै अन्य कर्मचारीहरू पनि सनमा भित्रिसकेका छन् ।
हाल सन नेपाल लाइफको व्यवस्थापकीय नेतृत्व राजकुमार अर्यालले गरिरहेका छन् भने बोर्डको नेतृत्व अनुज केयालले गरिरहेका छन् । राम्रा कर्मचारीलाई भित्र्याएर आक्रामक ढंगले अगाडि बढ्ने रणनीति सन नेपालले बनाएको बुझिएको छ ।