एक महिनामै सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ । सलिकाे निर्जीव बीमा व्यवसाय गर्ने कम्पनी हाे । यसले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेकाे छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक-आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो । सलिकोको हाल देशभर १२० वटाभन्दा धेरै शाखा कार्यालयहरू रहेका छन् ।
साउनमा १५४ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को साउन महिनामा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा सरेण्डर (बीमा त्याग) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका बीमितले सबैभन्दा धेरै बीमा सरेण्डर गरेका छन् । साउन महिनामा एलआईसीका २ हजार ७१५ जना बीमितले ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् । यसैगरी, नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसैगरी, एशियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् । बीमा सरेण्डर कम हुने कम्पनीम सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । सन लाइफका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । यसैगरी, प्रभु महालक्ष्मीका ८७ बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । सरेण्डरबारे के भन्छ बीमा प्राधिकरण ? नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा सरेण्डर हुनु सामान्य विषय भएको बताएको छ । कुल जारी पोलिसीको २ प्रतिशत सरेण्डरलाई अन्तराष्ट्रिय मान्यताअनुसार सामान्य मानिने उल्लेख गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको बीमा सरेण्डर सामान्य अवस्थाको रहेको बताउँछन् । सरेण्डर बढ्न नदिन र घटाउनका लागि प्राधिकरण लागि परेको पनि उनले जानकारी दिए । उनका अनुसार सामान्यता सरेण्डर हुनुको पछाडि आर्थिक मन्दी, अभिकर्ताको फोर्स सेलिङ, बीति तथा अभिकर्तामा जनचेतनाको अभाव आदि कुराहरूले भूमिका खेलेको हुन्छ । ‘त्यसका लागि प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै ३०० भन्दा धेरै पालिकामा गएर बीमासम्बन्धी चेतना दिएको छ,’ उनले थपे, ‘केही नीतिगत सुधार गरेको छ ।’ अभिकर्तालाई तालिमको अभाव पोलिसी सरेण्डर हुनुको मुख्य कारण अस्वस्थ प्रतिस्पर्धा रहेको अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका महासचिव ओमबहादुर केसीका अनुसार अभिकर्ताहरूले नै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने भएकाले पनि बीमा सरेण्डर हुने गरेको छ । उनका अनुसार एक कम्पनीमा बीमा गरेका बीमितलाई अर्का कम्पनीका अभिकर्ताले खोसेर लैजाने प्रविधिले सरेण्डर हुने गरेको छ । यसका लागि बीमा कम्पनीले सरेण्डर रोक्न डेक्स खडा गर्नुपर्ने, नेपाल बीमा प्राधिकरणले र बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोफेशनल बनाउन त्यसअनुसारको तालिम दिनुपर्ने महासचिव केसीकाे भनाइ छ । यसरी अभिकर्ताको क्षमता वृद्धि, अभिकर्ताको भूमिका आदिका बारेमा तालिम दिएमा केही हदसम्म सरेण्डर रोकिने उनले उल्लेख गरे । उनले भने, ‘अहिले ८० प्रतिशत अभिकर्ता प्रोफेशनल छैनन् । उनीहरूले अन्य कम्पनीका बीमितलाई विभिन्न प्रलोभन देखाएर आफ्नो कम्पनीमा ल्याएर बीमा गराउने पनि गर्दछन् । त्यस किसिमको अस्वस्थ्य प्रतिस्पर्धा रोक्न नियमित तालिम दिनु पर्दछ ।’
मेटलाइफ नेपालको ‘विविधतामा एकताको जीवन्त उत्सव’ भव्यताका साथ सम्पन्न
काठमाडौं । मेटलाइफ नेपालले विविधतामा एकताको जीवन्त उत्सव भव्यताका साथ सम्पन्न गरेकाे छ । उत्सवमा मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाकाे पनि उपस्थित थियाे । नेपालको विभिन्न क्षेत्रबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा उत्सवमा सहभागी भएका थिए । मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष-कार्यकारी गर्ने एजेन्सी म्यानेजर, युनिट म्यानेजर र फिल्ड रिप्रिजेन्टिभहरूको परिश्रम र समर्पणलाई सम्मान गरे । बीमा अभिकर्ताहरू वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका हुन् । मेटलाइफ, मेटलाइफ इन्कर्पोरेटेडको एक शाखा हो, जुन नेपालमा ५ डिसेम्बर, २००१ देखि सञ्चालित छ । मेटलाइफ नेपालमा बीमा अनुमति प्राप्त गर्ने पहिलो विदेशी कम्पनी पनि हाे । मेटलाइफ जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभहरु बीमा गर्ने देशको एक अग्रणी संस्था हो, जसले सुलभ लागतमा आकर्षक बीमा संरक्षण योजना र लाभ उपलब्ध गराउँदै आइरहेको छ । नेपालमा मेटलाइफका ८ हजार एजेन्ट छन् । सन् १८६८ मा स्थापित मेटलाइफ इन्कर्पोरेटेडको न्यूयोर्कमा प्रधान कार्यालय रहेकाे छ । विश्वका ४० भन्दा धेरै देशहरुमा सञ्चालित मेटलाइफले संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।