आइएमई लाइफ : व्यवसायमा बलियो, लाभांशमा आकर्षक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमै दोस्रो बढी लाभांश घोषणा गर्यो । आईपीओ जारी गरेको १० महिनामामै कम्पनीले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश घोषणा गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् वितरण हुनेछ । कम्पनीले पछिल्लो समय व्यवसाय पनि राम्रै गर्दै आएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ७५.७९ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ सेयर प्रिमियम शिर्षकमा सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरू बलियो देखिन्छन् । वित्तीय संस्था तथा बीमा कम्पनीहरू आर्थिक सुस्तताको समस्या भोगिरहँदा आइएमई लाइफले भने राम्रो व्यवसाय गरिरहेको देखिन्छ । सेयर बजारमा उच्च कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उच्च लाभांश घोषणा गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । बिहीबार ३४.५० प्रतिशत लाभांश घोषणा भएपछि सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्य बढेको थियो । तर, अन्तिम अवस्थामा भने त्यो अवस्था रहन सकेन । अर्थात्, बिहीबार कम्पनीको सेयर मूल्य २ रुपैयाँले घट्यो । मूल्य घटे पनि कारोबार भने बढी भएको छ । हाल यस कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ छ । बिहीबार कम्पनीको ४ लाख ९७ हजार ५७ कित्ता सेयर किनबेच भएर कुल २८ करोड ७७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । जुन बिहीबार भएको कम्पनीहरूमध्येको उच्च कारोबार हो । लगानीकर्ता राजन लम्साल अन्य कम्पनीको तुलनामा आइएमई लाइफको लाभांश आकर्षक नै भएको बताउँछन् । उनी कम्पनीमा सर्टटर्म लगानीकर्ताको आकर्षण भएको धारणा राख्छन् । हाल यस कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा रामहरी अर्यालले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनबाट कबी फुयालले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् ।
अब्बल अनल, ‘अजकल्टो’ साहित्यकार
काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो अनल गौतम । एनएलजी इन्स्योरेन्समा दाबी भुक्तानी प्रमुखका रूपमा काम गरिरहेका उनको क्षमता, सक्रियता र मिहिनेतको तारिफ गर्नेहरू बीमा क्षेत्रमा धेरै छन् । सानैदेखि परिश्रम गर्ने बानी परेका अनलको व्यक्तिगत जिन्दगी भने केही सकसमा बित्यो । वि.सं २०३८ सालमा हेटौंडामा जन्मिएका अनल घरको कान्छो र एउटै छोरा । उनले वि.सं. २०५४ सालमा हेटौंडाको बालज्योति स्कुलबाट एसएलसी (हालको एसईई) पास गरे । एसएलएसी परीक्षा दिएको भोलिपल्टै उनले काम सुरु गरे । किनकि उनमा काम गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो । उसो त उनलाई सानै छँदा वकिल वा पत्रकार बन्ने रहर थियो । तर, जीवन न हो बाटो मोडियो । एसएलसीलगत्तै उनले कुरियरमा काम थाले । तलब थियो ४ सय रुपैयाँ । त्यसपछि उनी पब्लिक कल अफिस (पीसीओ)मा आबद्ध भए । त्यतिबेला मोबाइल थिएन । फोन, फ्याक्स र इमेलबाट मात्रै कुराकानी हुन्थ्यो । त्यसका लागि पीसीओ अफिसको आवश्यक पर्थ्यो । इन्टरनेट सर्वसुलभ नभएकाले इमेल पनि तोकिएको पीसीओबाट मात्रै गर्न मिल्ने व्यवस्था थियो । एक पटक इमेल गरेको २५ रुपैयाँ शुल्क लाग्थ्यो । पीसीओमा उनको मासिक आम्दानी एक हजार रुपैयाँ हुन्थ्यो । त्यो बीचमा उनी धेरै ठाउँमा आबद्ध भए । विसं २०६४ सालमा उनी बीमा क्षेत्रमा प्रवेश गरे । आजभन्दा १७ वर्षअघि उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्स (हाल सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) बाट बीमा क्षेत्रमा प्रवेश गरे । उनले सुरुमा मार्केटिङ गरे । त्यसको ४ वर्षपछि साविकको एभरेष्ट इन्स्योरेन्स (हाल हिमालयन एभरेष्ट) मा गए । त्यहाँ क्लेम विभागमा थिए । त्यहाँ पनि ४ वर्ष बढी काम गरे र २०७३ सालबाट भने हालसम्म एनएलजीमा दाबी भुक्तानी विभागको प्रमुखका रूपमा काम गरिरहेका छन् । उनी भन्छन्, ‘पैसाले आत्मविश्वास बढाउने रहेछ, तर त्यही पैसाले पढ्ने बानी सिध्याउँदो रहेछ ।’ काम गर्दै गर्दा उनले पढाइलाई पनि अगाडि बढाए । तर, कामलाई नै बढी प्राथमिकता दिनुपरेका कारण पढाइतर्फ धेरै ध्यान दिन सकेनन् । उनले कानुनको पढाइ पनि अगाडि बढाए । कामकै कारण पढाइलाई निरन्तरता दिन नसकेको उनी बताउँछन् । ‘त्यतिबेला पढाइलाई दिने समयभन्दा कामलाई दिने समय अलिकति बढ्यो भने आम्दानी अलि बढी हुन्छ र सस्टेन हुन सक्छु भन्नेजस्तो महसुस हुन्थ्यो, बाध्यताले नै जागिरतिर फोकस भइयो, जुन गलत भयो,’ गौतम पश्चाताप महसुस गर्दै भन्छन् । अनलको पहिलेको घर काठमाडौंमै हो । तर, बुबा सरकारी जागिरे भएका कारण सरुवा भएर हेटौंडा गएपछि घर पनि उतै बन्यो । हेटौंडा गएको केही वर्षमै उनका बुवाआमाको निधन भयो । उनी आमाको ब्रेनह्यामरेज र बुवाको पनि रोगकै कारण निधन भएको बताउँछन् । ‘जबसम्म आमाबुबा हुनुहुन्थ्यो, मेरो जीवन एउटा खुसीको चरणमा थियो, तर उहाँहरूको निधन भएपछि जीवनले अर्कै रूप लियो,’ उनले निराश हुँदै भने, ‘बाल्यकालदेखि नै आफूले आफूलाई सम्हाल्नुको पीडा पनि व्यक्त गर्न नसकिने खालको हुँदो रहेछ ।’ उनले आफ्नो कामलाई सर्वोपरि ठान्दै मिहिनेत गरिरहेका छन् । उनी भन्छन्, ‘२०५४ सालदेखि २०८० सम्म अनवरत काम गर्दै आएको छु, बिचमा दुई/चार दिन कामबाट छुट्टी लिएँ होला, नत्र कहिल्यै पनि विश्राम लिइनँ ।’ उनी बीमा क्षेत्रमा कामसँगै साहित्यमा पनि रूची राख्छन् । धेरै कृतिहरू प्रकाशन पनि गरिसकेका छन् । ‘अफिस छिरेपछि मेरो जागिरे जीवन सुरु हुन्छ, बाहिर निस्किएपछि मेरो व्यक्तिगत जीवन सुरु हुन्छ, बाँकी रहेको समय आफ्नो हो, व्यक्तिगत समयलाई उपयोग गरेर साहित्यतर्फ मोडिएँ,’ उनले साहित्यिक यात्रा सुनाउँदै भने । हालसम्म उनले सात वटा साहित्यिक कृतिहरू सार्वजनिक गरिसकेका छन् । शुभप्रभात (हाइकु सङ्ग्रह,२०६४), चिनारी (कविता सङ्ग्रह, २०६६), घाटघाटका कथा (कथोपन्यास, २०७०), सरसी (गीती सङ्ग्रह, २०७०), लभ एट २५ (उपन्यास, २०७४), बार्दली (उपन्यास, २०८०) र दाहिने हाते सिक्का र साइकल (कथा सङ्ग्रह, २०८०) उनका हालसम्मका प्रकाशित भएका साहित्यिक कृतिहरू हुन् । ‘लेखनमा मलाई आख्यान विधा नै मनपर्छ, जसमा प्रेम छुटाउनै सकिँदैन, कोही प्रकृतिप्रेमी, कोही व्यक्तिप्रेमी,’ उनी भन्छन् ‘मेरो कृतिमा लेखिएका विषयहरू समाज केन्द्रित हुन्छन् ।’ अनलको साहित्यिक यात्रा लोकप्रियता र पैसाका लागि होइन । उनी भन्छन्, ‘हामीजस्तो अजकल्टो साहित्यकारहरूलाई किताब निकाल्नु बढो अफ्ठ्यारो हुने रहेछ ।’ अजकल्टो ? हामीले जिज्ञासा राख्यौं । उनी थप व्याख्या गर्दै भन्छन्, ‘न म फ्रेसर त स्थापित साहित्यकार, यी दुईलाई जे गर्दा पनि चल्यो, स्थापित साहित्यकारको फलानो कृति आयो रे भनेपछि त्यसले बजार पाउँछ, फ्रेसरका लागि पनि खासै फरक पर्दैन, तर म जस्तो अजकल्टो साहित्यकार र अजकल्टो लेखकको लागि वास्तवमै कठिन रहेछ साहित्य ।’ लेखनमा मात्रै होइन उनले जागिर लगायत आफ्ना जीवनका हरेक पाटालाई अजकल्टोका रूपमा लिएका छन् । उनी जागिरे जिन्दगीलाई पनि अजकल्टोको संज्ञा दिन्छन् । ‘म माथिल्लो स्तरको कर्मचारी पनि हाेइन, नत म तल्लो स्तरको कर्मचारी, न त म बच्चा, न त म बुढो, अर्थात मेरो जीवनको हरेक पाटाहरू परिपक्व हुने क्रममा छन्,’ उनी भन्छन्, ‘जागिरे जीवन, साहित्य यात्रा, उमेर सबै पाक्ने क्रममा छ ।’ तर, उनी आफूलाई साहित्यकारका रूपमा चिनाउन पाउँदा भने खुसी हुन्छन् । सन्तुष्टि मिल्छ । किनकि साहित्य उनको रूची हो । उनी भन्छन्, ‘विगत २६ वर्षदेखि विभिन्न क्षेत्रमा अनवरत आफ्नै व्यवसाय र जागिर गर्दैगर्दा व्यावसायिक मान्छे हुँ भन्ने जस्तो महसुस हुन्छ, तर साहित्यिक जगतमा चिनाउनु पर्दा साहित्यकार भन्न अझ बढी मज्जा आउँछ ।’ अनलको बुझाइमा जागिर गर्ने प्रतिष्ठाको लागि हो, पैसा कमाउनको लागि होइन । जागिरबाट परिवार पाल्न सकिएला तर जीवनको अरू इच्छा र चाहानाहरू पूरा हुन नसक्ने उनको धारणा छ । आफ्नो लगाव अनुरूपको क्षेत्र छनौट गरी व्यवसाय पनि सँगै अघि बढाउनुपर्ने धारणा उनको छ । सानैमा ‘फोर्स म्यारिज’ बुबाआमाको देहान्तपछि अनलको घरमा अनल र चार जना दिदीसहित पाँच जना थिए । तीन दिदीहरूको क्रमशः विवाह भयो । कान्छी दिदीको विवाह गर्ने बेलामा विवाह गर्न दिइएन । ‘तिम्रो विवाह गरेपछि मात्रै दिदीको विवाह गर्ने नत्र घरमा कोही पनि हुँदैन, एक्लो मान्छे, सारोगाह्रो पर्दा तातोपानी तताएर दिने कोही हुँदैन’ भन्ने जस्ता प्रेसर अनलमाथि आयो । ‘म मेरो विवाह फोर्स म्यारिज भन्छु, बाध्यात्मक रूपमा कम उमेरमै गरिहाल्नुपर्ने भयो, मेरो दिदीहरूले नै मेरो मागी विवाह गराउनुभयो, तर हामी सम्बन्धमा नै थियौं, लगभग डेढ वर्षको सम्बन्धलाई २०/२२ वर्षको उमेरमै विवाहमा परिणत गर्यौं,’ उनले विवाह गर्दाको क्षण स्मरण गर्दै भने । अहिले उनका दुई छोराछोरी छन् । सफल हुने चार चरण अनलका अनुसार जीवनमा सफल हुनका लागि चार वटा चरणहरू छन् । व्यक्तिमा क्षमता चाहिन्छ । दोश्रो, त्यो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म । तेश्रो, अनवरत प्रयास, मिहिनेत, परिश्रम र चौथोमा भाग्य, भगवान र आर्शीवाद आउँछ । व्यक्तिमा जन्मजात पनि केही न केही क्षमता हुन्छ । त्यो क्षमता आफूले चिन्न सक्नुपर्ने उनको भनाइ छ । व्यक्तिको क्षमता अरूले पहिचान गरेर काम गर्न नसकिने उनको भनाइ छ । बीमाका अब्बल अनल अनल अहिले एनएलजी इन्स्योरेन्समा दाबी भुक्तानी प्रमुखका रूपमा छन् । जहाँ दैनिक बीमितहरूको गुनासाका चाङ लाग्छन् । तर, व्यवस्थापनमा अब्बल गौतमले यसलाई सजिलै सल्टाउँछन् । त्यसैले पनि उनी धेरैको विश्वासी पात्रका रूपमा चिनिन्छन् । दाबी भुक्तनीमा देखिएका समस्यालाई उनी सजिलै सल्ट्याउँछन् । ‘बीमितले जति नै बीमा गरेको थियो, सोही रकम दाबी गर्छन्, यस्तो केश हिजोको दिनमा हुन्थ्यो भने म्यानुपुलेसन हुन्थ्याे, सबै सरोकारवालाहरुले आफ्नो तवरबाट अनड्यिु फाइदा लिग्थे, तर आजको दिनमा पहिलाको जस्तो छैन,’ उनी भन्छन्, ‘अहिले सबै पारदर्शी भइसकेको छ ।’ अनलका अनुसार अहिले नियमन निकायको नियम एकातिर र वास्तविक सिनारियो अर्कोतिर छ । सबैखालका बीमा दाबीलाई एउटै आँखाले हेर्दा र एउटै नियमभित्र ल्याउँदा त्यसले पार्ने असर परिरहेको छ । ‘कुनै दुर्घटना भयो र उक्त दुर्घटनाको रिपोर्ट सर्भेयरले १५ दिनभित्र बुझाउनुपर्छ, कतिपय अवस्थामा त सर्भेयर सम्बन्धित ठाउँमा १५ दिनभित्र जानै सक्दैन, बीमा कम्पनीलाई पनि कागजात प्राप्त गरेको ३५ दिनभित्र दाबी फ्छ्यौट गरिसक्नुपर्छ,’ उनी भन्छन्, ‘तर, कतिपय केश यस्ता हुन्छन् कि समय सीमा ३५ दिन होइन ३ वर्ष पनि लागिदिन सक्छ, यो अवस्थामा आफूले संयमित भएर काम गर्न सक्नुपर्छ ।’ साथै, देशमा छाएको आर्थिक मन्दीले बीमामा खासै ठूलो असर नगर्ने र बीमा गर्न नसक्ने कोही पनि नहुने गौतम बताउँछन् । हामी नेपालीमा जनचेतनाको कमी हुँदै होइन । वास्तवमा नेपालीको हकमा हरेक नियम बाध्यकारी नै हुनुपर्ने गौतम बताउँछन् । दाबी भुक्तानीमा चुनौती उनका अनुसार क्षतिपूर्ति जसरी पनि असूल्नु पर्छ भन्ने मानसिकता बढ्दै गएको छ । जुन निकै खतरनाक हुन्छ । यसले गर्दा समाजलाई भ्रष्टाचारी बनाउँछ । अबको समयमा गलत किसिमको बीमा गरेर त्यसको फाइदा लिन खोज्ने, अपराधिक मानसिकता भएका व्यक्तिबाट बीमा क्षेत्रलाई जोगाउनु नै ठूलो चुनौती रहेको उनको भनाइ छ । ‘जस्तो मानिसको बीमा गरायो, पैसाको लागि उसलाई मारिदियो, यो नै अपराधिक मानसिकता हो,’ गौतम भन्छन्, ‘बीमा गर्ने समयमा बीमा कम्पनीले एउटा लेयर फिल्टर गर्नुपर्छ, जसले गर्दा अपराधिक मानसिकताले बीमा गर्ने व्यक्ति त्यो लेयरबाट माथि उक्लिन नपाओस्, यसमा स्थानीय प्रहरी प्रशासन जसले छानविन गर्छ उसले मिहीन रूपले छानबिन गर्दा फेक क्लेम हो है भन्ने प्रमाणित हुँदा राम्रै सजाय दिनुपर्छ ।’ उपन्यास लेख्दै अहिले उनी एउटा उपन्यास लेख्दैछन् । २०८२ सम्ममा सार्वजनिक गर्ने योजना उनको छ । ‘बाँकी जीवन बीमा क्षेत्रमै हुन्छ, आफूले सतप्रतिशत काम दिनसक्यो भने कुनैले पनि केही गर्न सक्दैन, आफूले मिहिनेत भने गर्नैपर्छ,’ उनी भन्छन् । ‘बीमा क्षेत्र उदयीमान छ, भोलि हुने आर्थिक हानी/नोक्सानीमा मद्दत गर्ने भनेकै बीमाले हो, बीमा नगरी सुखै छैन,’ उनी भन्छन्, ‘नियमनकारी निकायको नियमभित्र रहेर हामीले आफ्नो उत्कृष्ट सेवासहितको भूमिका सशक्त बनाउँदै जानुपर्छ ।’
आइएमई लाइफको ३४.५ प्रतिशत लाभांश घोषणा, १ अर्ब बराबरको बोनस सेयर
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।