सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमा सम्बन्धी सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमा सम्बन्धी सम्झौता भएको छ । महिन्द्रा फोर व्हीलरको विराटनगर, ईटहरी, धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्टन अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) सँग सम्झौता गरेको छ । सो सम्बन्धी आधिकारीक बिक्रेताकोतर्फबाट ईष्टन अटो प्वाईन्टका सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतापश्चात महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुचयोग्य र झन्झटमुत्त सेवाहरु पाउने छन् । उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरू, स्थानिय बैंकका प्रतिनिधीहरू, बीमा सर्भेयरहरू लगाएतको उपस्थिती रहेको थियो ।

बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

काठमाडौं । दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने निर्णय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्‍याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरू संशोधन गर्दै घटाउन थालेका हुन् । प्रभु महालक्ष्मी लाइफले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित हकप्रद सेयर घटाउँदै अब ७ प्रतिशत मात्रै निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रद सेयर घटाउने निर्णय गरेको कम्पनीले जनाएको छ । १० प्रतिशत बोनस सेयर ७ प्रतिशत हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब ५ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा भएकाले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । प्रस्ताव गरेको उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । तर, बोर्डले अनुमति नदिँदा हालसम्म हकप्रद सेयर जारी गर्न सकेको छैन । यसबीचमा कम्पनीले ५.५ प्रतिशत बोनस सेयर वितरण गर्‍याे । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । उक्त बोनस घटाउँदै कम्पनीले हकप्रद सेयर संशोधन गरेको छ । अब कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत मात्रै हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोनस सेयर वितरण गरेका कारण संशोधन गरेको कम्पनीहरू बताउँछन् । तर, हकप्रद सेयर संशोधन हुँदैमा कुनै असर नपर्ने बीमा कम्पनीका सीईओहरूको भनाइ छ । तर, पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानमा भने असर पर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनी र लगानीकर्ताले सोंच्ने तरिका फरकफरक हुन्छ, कम्पनीले प्राविधिक रूपमा सही व्याख्या गरेपनि त्यसले लगानीकताको मनोविज्ञानमा केही न केही असर पुगेको हुन्छ । तर, सकरात्मक असर पुग्छ वा नकरात्मक असर पुग्छ त्यो लगानीकर्तामा निर्भर हुन्छ,’ उनले भने, ‘कस्तो असर गर्छ भनेर सेयर मूल्यमा हुने परिवर्तनका आधारमा मात्र भन्न सकिन्छ ।’

मधेश प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । मधेश प्रदेश सरकारसँग जनकपुरधाममा बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन दुई करोड रुपैयाँ छुट्याएको जानकारी दिँदै अन्य प्रदेशमा सुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए । उनले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् बिस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धि प्रस्तुति गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।