पाँचवटा जीवन बीमा कम्पनी अर्ब क्लबमा, साउनमा यस्तो छ कम्पनीको व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरूले १८ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा जीवन बीम कम्पनीहरूले १८ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क संकलन गरेका छन् । बीमाशुल्क संकलनमा ५ कम्पनीले अर्ब रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी), हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक अर्ब बढी बीमा रकम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, एलआईसीले २ अर्ब ७ करोड ८० लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ९३ करोड ३४ लाख र सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ । कुनको कति ?:

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार पुग्यो

गोदावरी । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार ९ सय १५ पुगेको बताए । सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या ३ लाख ९ हजार १२ र पुरुषको संख्या २ लाख ७७ हजार १ सय ९० रहेको साउदले बताए । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ९९ हजार १ सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार ४ सय २० र अछाममा ५७ हजार ९ सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ४२ हजार १ सय २, बाजुरामा ३६ हजार ५ सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार ९ सय २८ र दार्चुलामा १६ हजार १ सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ । प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ । बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् । सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो । साथै बोनस दर बीमाङकीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्म जारी गरेका १ लाख ५२ हजार ८९० बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ ।