एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६८ प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.८८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
जीवन बीमाको नाफा २ अर्ब : सिटिजनको उच्च वृद्धि, सरकारी कम्पनीको घट्यो
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा जीवन बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले पहिलो त्रैमासमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा १८.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा जीवन बीमाको खुद नाफा १ अर्ब ६२ करोड १३ लाख रुपैयाँ थियो । यो अवधिमा सबैभन्दा धेरै नाफा हिमालय लाइफले आर्जन गरेको छ । हिमालयन लाइफले २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल लाइफले २० करोड ५४ लाख र रिलायबल लाइफले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा वृद्धि गर्नेमा सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । सिटिजनले गत आवको सोही अवधिको तुलनामा ८३.३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा ६६.९१ प्रतिशतले वृद्धि भएको छ भने एशियन लाइफलको खुद नाफा ४२.१९ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको खुद नाफा ३५.६२ प्रतिशतले वृद्धि भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीम कम्पनीको खुद नाफा ९४.१७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमा २२ लाख रुपैयाँमा सीमित भएको छ ।
बीमा प्राधिकरण र एएसएनबीच समझदारी, बीमा क्षेत्रमा थप योगदान पुर्याउने विश्वास
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन)बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले प्राधिकरणको केन्द्रीय कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरू समेटिएका छन् । यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञानसम्बन्धी अध्ययन एवम् अनुसन्धानसम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदानप्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) पनि उपस्थित थिए ।