२४.९२ प्रतिशत बढ्यो सानिमा रिलायन्सको दाबी भुक्तानी, २३.१६ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.७२ प्रतिशत बढेर ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीका खुद दाबी भुक्तानी २४.९२ प्रतिशत बढेर ३ अर्ब १७ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ५१ लाख रुपैयाँ छ भने कुल खर्च २१.९९ प्रतिशत बढेर ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १८.३८ प्रतिशत बढेर ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, महाविपत्ति कोष ७.०९ प्रतिशत बढेर १३ करोड ४३ लाख रुपैयाँ, जीवन बीमा कोष ४८.५९ प्रतिशत बढेर १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ ।

बीमा एजेन्टलाई पनि तलब दिनुपर्ने, काम र क्षमताको आधारमा बढुवा

काठमाडौं । बीमा मध्यस्थकर्ता व्यवस्थित गर्ने अध्ययन कार्यदलले जीवन बीमाका अभिकर्ता (बीमा एजेन्ट) लाई तलब सुविधा दिनुपर्ने सुझाव दिएको छ । कार्यदलले प्राधिकरणका अध्यक्ष मदन दाहाल समक्ष बुझाएको प्रतिवेदनमा एजेन्टलाई तलब दिनुपर्ने सुझाव दिएकाे हाे । गत पौष ९ गते प्राधिकरणका निर्देशक कमल रेग्मीको संयोजकत्वमा बीमा मध्यस्थकर्ता व्यवस्थित गर्ने अध्ययन कार्यदल गठन भएको थियो । जहाँ नेपाल बीमक संघका प्रतिनिधि, जीवन बीमक संघ, लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एशोसिएसनका प्रतिनिधि र पेशागत बीमा अभिकर्ताको संघका प्रतिनिधि सदस्य रहेका थिए । बीमा मध्यस्थकर्ताहरु सम्बन्धी व्यवस्थामा देखिएका कमिकमजोरी अध्ययन गर्ने, थप व्यवस्थित, मर्यादित, परिस्कृत तथा क्षमतावन बनाउने र मध्यस्थकर्ताहरुलाई पेशागत रुपमा आवद्ध गराउन सक्ने आधारहरुको पहिचान गर्ने उद्देश्यले कार्यदल गठन भएको थियो । उक्त कार्यदलले एक महिना अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनमार्फत् कार्यदलले अभिकर्ताहरुलाई तलबको व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो । कार्यदलले सुरुवातको केही समयमा मात्रै तलब दिनुपर्ने र विस्तारै तलब घटाउँदै जानुपर्ने सुझाव दिएको छ । यसो गर्दा काम गर्न चाहने नयाँ अभिकर्तालाई प्रोत्साहन हुने कार्यदलले परिकल्पना गरेको छ । सुरुमा अभिकर्ताहरुलाई तलबको व्यवस्था गर्दा उनीहरुले निर्धक्क भएर काम गर्ने वातावरण बन्ने विश्वास कार्यदलका संयोजक रेग्मीले बताए । ‘सुरुमा अभिकर्ताले व्यापार नल्याए पनि उनीहरुलाई टिक्ने वातावरण बनाउँनु पर्छ,’ प्राधिकरणका निर्देशक समेत रहेका रेग्मीले भने, ‘पछि व्यापार ल्याउन थालेपछि त्यही व्यापारबाट कमिसन बापत् उनीहरुले रकम पाउँछन् । त्यसपछि विस्तारै तलब घटाउँदै जानुपर्छ ।’ यसले मानिसहरुलाई बीमा एजेन्ट बन्ने प्रोत्साहन मिल्ने र त्यसले समग्रह बीमा बजार, बीमित र सरकारलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । उनले विश्वका धेरै देशहरुमा नयाँ एजेन्टहरुलाई तलब दिने व्यवस्था रहेको पनि सुनाए । अमेरिका र यूरोपका धेरै देशमा यस्तो व्यवस्था रहेको बताउँदै नेपालमा पनि सोहीअनुसारको व्यवस्था राख्नुपर्ने उनको  भनाइ छ । यस्तै, बीमा एजेन्टले बीमा ऐन र नियामवली अनुसार पाइरहेको कमिसन र इन्सेन्टिभ यथावत् राख्नुपर्ने, कामका आधारमा वितगमा पाइरहेकोभन्दा थप केही प्रतिशत इन्सेन्टिभको व्यवस्था गर्नुपर्ने र मूल्यवृद्धि लगायतका विषय सम्बोधन गर्न राहत तथा छुटको व्यवस्था गर्नपर्ने सुझाव पनि कार्यदलकाे प्रतिवेदनमा उल्लेख छ । काम र क्षमताको आधारमा तहगत प्रमोशन गर्ने व्यवस्था गरिदिनुपर्ने सुझाव पनि कार्यदलले दिएको छ । कति पाउँछन् कमिसन ? बीमा नियमवली २०४९ मा भएको व्यवस्था अनुसार अभिकर्ताले १० पोलिसी बिक्री भएको मितिबाट १० वर्षसम्म कमिसन पाउने गर्छन् । सावधिक जीवन बीमा अन्तर्गत २० वर्ष वा सो भन्दा धेरै अवधिको बीमा गराउँदा पहिलो र दोस्रो वर्ष २५ प्रतिशत तेस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिशन अभिकर्ताले पाउँछन् । १५ देखि १९ वर्षसम्मको बीमा गराउँदा पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष २० र तेस्रा वर्षदेखि १० वर्षसमम ५ प्रतिशत कमिशन अभिकर्ताले पाउँछन् । १० देखि १४ वर्षसम्मको अवधिको बीमामा पहिलो र दोस्रो वर्षमा १५ प्रतिशत, तेस्रो देखि १०औं वर्षसमम ५ प्रतिशत कमिसनको व्यवस्था छ । सोहीअनुसार ८ देखि १० वर्षको बीमामा दोस्रो वर्षसम्म १० र तेस्रो वर्षदेखि १०औं वर्षसम्म ५ प्रतिशत, ५ देखि ७ वर्षसम्मको बीमाको हकमा पहिलो वर्ष १० र दोस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिसनको व्यवस्था रहेको छ । बीमा कम्पनीको आन्तरिक नीति, योजना र रणनीतिअनुसार कमिशन केही फरक पर्ने गरेकाे पनि छ ।

मेटलाइफ ‘फर्चुन म्यागजिन’को विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा

काठमाडौं । मेटलाइफ ‘फर्चुन म्यागजिन’ २०२५ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सूचीमा पर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश भएका थिए । मेटलाइफका अध्यक्ष र प्रमुख कार्यकारी अधिर्कत (सीईओ) मिशेल खलाफले भने सम्मान पाउँदा निकै खुसी भएको बताउँदै विश्वस्त भविष्य निर्माण गर्ने परम्परालाई निरन्तर विस्तार गर्न सक्ने बताए । पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि फर्चुन र कर्न फेरीले सहकार्य गर्दै कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्यांकन गर्दै आएका छन् । ३ हजारभन्दा बढी शीर्ष कार्यकारीहरू, निर्देशकहरू र वित्तीय क्षेत्रका सदस्यहरूलाई आफ्नै उद्योगका प्रतिष्ठानहरूलाई नौ विशेषताका आधारमा मूल्यांकन गर्न भनिन्छ । यी विशेषताहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय स्थायित्व र प्रतिभा आकर्षित तथा कायम राख्ने क्षमता जस्ता तत्वहरू समावेश छन् । मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ