कसरी गर्ने स्वास्थ्य बीमा ? कसरी पाइन्छ दाबी भुक्तानी ?

बिमितले आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा आर्थिक सुरक्षण मिलोस भनेर बीमा गर्ने गर्छन् । जस्तोसुकै आर्थिक अवस्था भएका व्यक्तिहरु पनि स्वास्थ्य बीमामा सहभागी हुन भन्ने हिसाबले सामूहिक स्वास्थ्य बीमाका योजनाहरु अहिले उपलब्ध छन् । अहिले गरेको बीमाले भविष्यमा आउँने स्वास्थ्य जोखिम तथा दुःखमा साथ दिन्छ । बैक, अस्पताल, राजदुतावासहरु, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु जस्ता निकायले आफ्ना कर्मचारीहरुको अहिले सामूहिक बीमा गर्दै आएका छन् । स्वास्थ्य बीमाको सन्दर्भमा बीमा शुल्कको अनुपातमा दाबी निकै धेरै आउँने गर्छ । यसको अर्थ भनेको स्वास्थ बीमा नाफाको लागि मात्र होइन, सेवामा समेत समर्पित छ भन्ने बुझ्न सक्छौं । एउटा व्यवसायको बीमा गर्दा त्यसमा अर्को बीमा सेवा थप गर्ने (एकोमोडेट) प्रकृतिका स्वास्थ बीमा अघि बढिरहेको छ । उदाहरणको लागि होटलको बीमा गर्ने क्रममा होटलमा काम गर्ने कर्मचारीहरुको समेत स्वास्थ बीमा गर्न सकिन्छ । ट्राभल मेडीकल इन्स्योरेन्स गराउँने बिमितहरु प्रायः धेरै हुने गर्छन् । विदेश जाने क्रममा इन्स्योरेन्स नभई सम्बन्धित देशले भिसा दिदैनन् । एक महिनाका लागि घुम्न जादा पनि स्वास्थ्य बीमा गर्नुपर्छ । यो बीमा एक प्रकारले अनिवार्य जस्तै छ भन्न सकिन्छ । के हो स्वास्थ्य बीमा ? सरकारले अहिले लघु बीमा संचालन गरिरहेको छ । ४ सदस्य भएको परिवारले २५ सय बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा गर्न मिल्ने व्यवस्था छ । सस्तोमा १२ सय ५० रुपैयाँ बीमा शुल्क वार्षिक रुपमा बुझाउँनु पर्छ भने महङ्गोमा ३७ हजार ५ सय बीमा शुल्क बुझाउँनु पर्ने बीमा योजना स्वास्थ्य बीमामा छन् । सबैभन्दा सस्तो बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक तोकिएको छ भने सबैभन्दा महङ्गो बीमा शुल्क बुझाउँदा बिमांक रकम १० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तै, अन्य पोलिसी मार्फत बिमितलाई स्वास्थ्य जोखिम परेको अवस्थामा बीमा सुरक्षा दिनु नै स्वास्थ्य बीमा अन्तर्गत पर्छ । बीमा कम्पनीहरुले अस्पतालसँग सम्झौता गरेर बिमितलाई उपचार छुट तत्काल प्रदान गर्नेदेखि भर्ना भइसकेपछि बिमितलाई बिल हेरेर दाबी भुक्तानी गराइरहेका छन् । साथै, अस्पतालमा भर्ना भएको बिमितले कम्तिमा २० घण्टासम्म अस्पतालमा बिताएको हुनुपर्छ । दाबी भुक्तानीको अवस्था अहिले बीमाको दाबी भुक्तानी लिन निकै सहज छ । यसमा २ किसिमले बिमितलाई सहज बनाइएको छ । एउटा भनेको बीमा कम्पनीहरुले नै विभिन्न अस्पतालहरुसँग समन्वय गरेका हुन्छन् । त्यस्तो अवस्थामा बिमितले तोकिएको प्रतिशतमा सम्बन्धित अस्पतालमा छुट पाउँन सक्छन् । अर्को भनेको बिमितले उपचार गराउँदा आफ्नो खल्तीबाट पैसा तिर्ने र उपचारपछि इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानी लिने भन्ने हो । भुक्तानी दाबी गर्ने अवस्था सामान्यतः बीमा कम्पनीहरुले आवश्यक कागजात पूरा भएको अवस्थामा दाबी भुक्तानी सहजै गर्दै आएका छन् । स्वास्थ्य बीमामा पनि केही कागजात भने आवश्यक पर्छ । डाक्टरको प्रेस्कृप्सन लेखिएको पत्रले स्वस्थ्य बीमाको दाबी भुक्तानी मजबुद बनाउँने गर्छ । यस्तै, सोही उपचारकै क्रममा डाक्टरले तोकेको टेष्टहरु उल्लेख गर्नु आवश्यक हुन्छ । कुनैपनि बिमितले बीमा कम्पनीमा स्वास्थ्य खर्चका ओरिजिनल बिल पेश गर्नु पर्छ । मुख्यतः यी कुरामा मात्रै ध्यान पुर्याउदा पनि स्वास्थ्य बीमाको दाबी भुक्तानी लिन झण्झट व्यहोर्नु पर्ने अवस्था आउँदैन । दाबी भुक्तानी नपाइने अवस्था पहिलो कुरा त बीमालेखले नसमेटेको कुरामा बीमाको दाबी भुक्तानी पाइदैन । यस्तै, डाक्टरले नलेखेको भिटामिन वा फलफुलको मूल्य बीमाले भुक्तान गर्दैन । डेन्टल बिमितको हकमा कस्मेटिक रुपमा प्रयोगरिने ब्रासेस, क्राउनको पैसा बीमाले दिदैन । यति कुरा बुझेको अवस्थामा स्वास्थ्य बीमा गर्न र त्यसबाट दाबी भुक्तानी लिन समस्या हुँदैन । (प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिवारीसँग गरिएको कुराकानीमा आधारित)

बैंकको किस्ता तिर्ने समय १ वर्ष जति बढाउन पर्नसक्छ

कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामी सबैले के बुझ्नु पर्छ भने बैंकिङ क्षेत्र आमनागरिकको निक्षेपबाट चल्छ । यो निक्षेपलाई सुरक्षित बनाउनको लागि सबै क्षेत्रको सहयोग उत्तिकै चाहिँन्छ । अहिले तत्कालिन रुपमा बैंकिङ क्षेत्रको समस्या भनेको धितो र ऋण हो । निक्षेपकर्ताको निक्षेप त सुरक्षित छ नै तर जसले ऋण लिनुभएको छ । उनीहरुको व्यापार व्यवसाय नचलेपछि तिर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्था आएको खण्डमा र त्यो अवस्था नआओस् भन्नका लागि सरकारले राहतको व्यवस्था मिलाउन पनि आवश्यक छ । सरकारले उनीहरुको लागि केही सावाँ व्याज तिर्ने म्याद पनि थप्ला । अहिले सरकारले चैतको किस्ता असारमसान्त भित्रसम्म तिर्न सकिने भनेको छ । तर, मलाई लाग्छ यो निर्णय हतारमा भयो । लकडाउन कतिसम्म रहन्छ, कसैलाई थाहा छैन । किनकि देशमा कोरोनाले कतिसम्म असर र संक्रमण विस्तार गर्छ भन्नेमा भर पर्छ । सबैको सहयोगबाट बैंकहरु चल्ने हो । यदि भोलि ६ महिनासम्म लकडाउन रह्यो भने पहिलेको जस्तो बैंकहरुले नाफा गर्यो भन्ने अवस्था आउँदैन । यसको असर बैंकिङ क्षेत्रमा पर्छ नै । हामीले आफै केही पनि गर्न सक्दैनौं । यसका लागि राष्ट्र बैंकको निर्देशन आउनु पर्नेहुन्छ । यदि यो लकडाउन लामो समयसम्म रह्यो भने अस्ति गरेको सम्बोधनले मात्र पुग्दैन । त्यहाँ चैतभित्र तिर्नुपर्ने किस्ता असार भित्र पनि तिर्दा हुन्छ भनेको छ । यदि यो लकडाउन लम्बियो भने अहिलेको पनि असारमा तिर्नु पर्यो र असारको पनि तिर्दा त्यो तिर्न सक्ने अवस्था आउँदैन । मलाई लाग्छ यो निर्देशन ५ महिना, एक वर्ष वा कतिसम्म गर्न सकिन्छ, गर्नु पर्छ । हामी कसरी यसको न्युनिकरण गर्छौं भन्ने कसैलाई थाहा छैन । लकडाउन खोलेर जोखिम निम्त्याउनभन्दा लकडाउन कायम नै गर्नु उचित हुन्छ । बैंकको क्वाटर रिपोर्ट र वित्तीय रिपोर्टमा परिवर्तन यो एक दुई महिनाको लकडाउनले बैंकिङ क्षेत्रको वित्तीय विवरण नराम्रो आउँदैन । ग्राकहलाई व्याज त चार्ज भइरहेको नै हुन्छ । लिने र दिने दुवै व्याज चार्ज भइरहेको हुन्छ । त्यो हिसावले त्यति धेरै परिवर्तन तथा घाटा नहोला जस्तो लाग्छ । तर, व्याज इनकम क्यास नआएकोले वितरणयोग्य नाफा घट्छ । क्यास आएपछि नाफा वितरण गर्न पाइन्छ । तर, अन्य नोक्सान खासै पर्दैन । बैंकहरुलाई अहिले प्रत्यक्ष असर पर्ने भनेको इन्ट्रेस्ट इनकम हो । बैंकको नगद इनकम घट्छ । त्यसमा कर्जाको ग्रोथ रहँदैन । रेमिटान्स पेमेन्ट पनि एकदमै घट्छ । विस्तारै सबै क्षेत्रमा कमि आउँछ । खराब कर्जामा कस्तो असर ? यो विषयमा अहिले नै आँकलन गर्न सकिदैन । समयवद्ध रुपमा कर्जाको सावा र व्याज तिर्यो भने खराव कर्जा बढ्दैन । चैतको पैसा चैतमै तिर्यो भने खराब कर्जा बढ्दैन । अन्यमा भने केही चाप चाहिँ पर्छ नै । लकडाउनको समयमा क्लाइन्ट तथा नोट ह्याण्डलिङ हामी नियमित रुपमा अफिसमै बसेर काम गरिरहेका छौं । हामीहरु मसान्त आउन लाग्यो भनेर दुरी कायम गरेर काम गरिरहेका छौं । हामीले सुरक्षित हुने सामग्रीहरुको प्रयोग बढाएका छौं । कर्मचारीहरुले आफ्नो सुरक्षाका लागि पञ्जा, माक्स लगाउने काम गरिरहेका छन् । ग्राहक पनि नजिक नआओस् भने बार लगाएका छौं । स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र आउन दिन्छौं । भिडभाड गर्न दिएका छैनौं । यसरी नै हामीले सुरक्षित भएर काम गरिरहेका छौं । ग्राहहको चाप पनि एकदमै घटेको छ । सबै काम इन्टरनेटबाटै गरिरहेका छौं । काउन्टरमा बस्नेलाई जोखिम जोखिम सबै क्षेत्रमा छ । अस्पतालका चिकित्सकलाई पनि जोखिम छ । तर, उनीहरुले सेवा दिनेकि नदिने ? त्यो जोखिम हामीलाई पनि छ । जोखिम भएपनि हामी लागिरहेका छौं । अत्यावश्यक सेवामा आइसकेपछि हामीले सेवा दिने हो । अहिले धेरै स्टाफहरु घरबाटै काम गर्छन् । पहिले ४÷५ जना काउन्टरमा बस्थे भने अहिले एक दुई जना मात्र बसिरहेका छन् । त्यस्तो धेरै समस्या छैन । बैंकिङ क्षेत्रमा कर्मचारी कटौती हुने अवस्था अन्य क्षेत्रमा कर्मचारी हायर एण्ड फायर गर्न सकिन्छ । तर, बैकिङ क्षेत्रमा त्यो सम्भव छैन । हाम्रो नीति नियम पनि कडा छ । जतिबेला जेसुकै भएपनि हाम्रो कम्पनी धान्नसम्म कर्मचारीलाई कटौती गर्ने अवस्था हुँदैन । हामी त्यो पक्षमा छैनौं । मलाई लाग्छ, सबै बैंकहरुको हाम्रो जस्तै छ । कर्मचारी नै कटौती गर्ने खालको समस्या हाम्रोमा आउँदैन । हामी कहाँ कर्मचारी आइसकेपछि अन्य ठाउँमा जाने वातावरण पनि छैन । हामीसँग देशभर ८ सयभन्दा बढी कर्मचारी छन् । एक सय दुई शाखाहरु छन् । सबैसँग राय सल्लाह लिएर काम गरिरहेका छौं । डिजिटल बैकिङतर्फको ध्यान मलाई लाग्छ, विकास बैंकहरुमा मोबाइल बैकिङमा नै हामी लिडर हौं । मोबाइल बैकिङलाई हामीले प्राथमिकताका साथ हेरिरेहका छौं । हामीसँग ३५ वटा एटिएम छन् । बैंकमा नआउने वातावरण निर्माण गरेका छौं । मोबाइल बैकिङको एउटा टोली बनाएका छौं । जोखिम नहुने गरी काम गरिरहेका छौं । त्यो हिसावले सीमित रकम कारोबार गर्न हामीले प्रमोट गरिरहेका छौं । हाम्रोमा मोबाइल बैकिङका ४५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । मोबाइल बैकिङमा कहिले काहिँ नेटवर्क नभएको कारणले समस्या आउन सक्ने हो । तर, अन्य भौतिक तथा क्यास ट्रान्सर्फरमा त्यस्तो कुनै समस्या र जोखिम छैन । हामीले ग्राहक आउने वित्तिकै योे सुविधा पाउनुहुन्छ भन्ने कूरा गरेका छौं । इमेल मेसेज गरेका छौं । हाम्रो डिजिटल बैंकिङ चलाइरहेका छन् । (महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेसँग गरिएको कुराकानीमा आधारित)

लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय

लकडाउनकाे अवधिमा बैकिङ सेवा सुचारू गर्न निकै कठिन छ । कठिन अवस्थामा पनि अवसरहरू हुन्छन् । यतिबेला नगद काराेबार कठिन बन्दै गएकाे छ । याे अवस्थामा  हामी मोबाइल बैंकिङ प्रवर्द्धन गर्नको लागि रणनीतिक रुपमा लागि रहेका छौं । डिजिटल बैंकिङ सम्बन्धी सचेतना गर्नको लागि हामीले विभिन्न च्यानलहरु प्रयोग पनि गरिरहेका छौं । पहिलो, मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने मनासायले ग्राहकहरुसँग विभिन्न माध्यममार्फत सम्पर्कमा छौं । जस्तै विभिन्न प्रकारका सामाजिक संजालमार्फत डिजिटल बैंकिङ सम्बन्धी सचेतनात्मक सामग्रीहरु पस्किरहेका छौं । यसमार्फत हामी उहाँहरुलाई मोवाईल बैंकिङ चलाउन सिकाइरहेका छौं । दोस्रो, मोवाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र यस एपलाई चलाउन प्रेरित गरिरहेका छौं । उक्त कार्यलाई सहज गराउन कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेका छौं । कल सेन्टर तथा डेडिकेटेड कार्यदलमार्फत ग्राहकलाई यथाशिघ्र सेवा पनि दिइरहेका छौं । त्यसैगरी, तेस्रो चरणमा हामी बैंकका ग्राहकलाई मोवाईल बैंकिङमा देखिएका समस्या हल गर्नका निम्ति सपोर्ट गरिरहेका छौं । त्यसको लागि हामीले एउटा टोली बनाएका छौं । जसबाट दैनिक सयौंको सङ्ख्यामा ग्राहकलाई मोबाइल बैंकिङमार्फत मोवाइल बैंकिङ चलाउन सिकाउने तथा यसमा रहेका विभिन्न प्रडक्ट फिचर बुझाउने काम गर्छौं । यदि कुनै ग्राहकलाई गाह्रो वा मोबाइल बैंकिङ चलाउन समस्या भइरहेको छ भने हाम्रो कल सेन्टर वा डेडिकेटेड कार्यदलका सदस्यको डाइरेक्ट मोवाइलमा सम्पर्क गर्न सक्नुहुनेछ, हामी ग्राहकको समस्या यथासिघ्र समाधान गर्नेछौं । मोबाइल बैंकिङमा आकर्षण लकडाउन भइसकेपछि हामी ग्राहकसँग झन बढी नजिक भएका छौं । लकडाउन हुनुभन्दा पहिले पर्याप्त समय नहुँदा ग्राहकलाई यस्तो समस्या आउन सक्छ भनेर भन्ने मौका नै पाएनौं । ग्राहकसँग समन्वय गर्ने समय पनि त्यति भएन । ग्राहकले सोच्नै नपाएको समयमा लकडाउन भयो । तर, हामीसँग धेरै ग्राहक थिए । उनीहरुले त्यसको सही प्रयोग गरिरहेका थिएनन् । प्यासिभ युजर नै बढी थिए । तर, धेरै ग्राहक अहिले सक्रिय भएका छन् । लकडाउन लगतै हामीले हाम्रो मोवाईल बैकिङ सेवा लिएका तर प्रयोग नगरी रहेका ग्राहकलाई फोन गरेर सेवा सम्वन्धी जानकारी दियौं । हजारौको सङ्ख्यामा कल गरेका थियाैं । धेरै ग्राहकहरु खुसी पनि हुनुभयो, यस्तो समयमा हामीलाई सूचित गराउनुभयो भनेर । अहिले धेरै मानिसहरु फुर्सदमा हुनुहुन्छ । धेरैजना सामाजिक सञ्जालमा भएको हुनाले हामीले सामाजिक सञ्जालमार्फत यो सेवा सम्बन्धी जानकारी दिइरहेका छाैं । यो समयमा माछापुच्छ्रे बैंक तथा समग्र बैंकिङको हिसावमा कूरा गर्ने हो भने मोबाइल बैंकिङका ग्राहकको संख्या त्यति बढेको छैन । नम्बर नबढे पनि एक्टिभ युजरर्स भने बढेका छन् । पहिले एक्टिभ युजरर्सहरु कम थिए । म यस्तो सुविधा लिन्छु भन्ने खालका ग्राहक अहिले बल्ल आउनु भएको छ । पहिले १ सय जना मोबाइल बैकिङ भएका ग्राहक हुन्थे भने त्यसमा २० जनामात्र एक्टिभ युजरर्स हुन्थे । तर, अहिले सेवा सूचारु गर्ने शतप्रतिशतले नै मोबाइल बैंकिङमार्फत कारोबार गरिहनु भएको छ । कतिपय मानिसलाई अहिलेसम्म एप्लिकेसन चलाउन आएको थिएन । अहिले फुर्सद भइसकेपछि घरपरिवारमा बुबाआमालाई छोराछोरीहरुले पनि मोबाइल बैंकिङ सिकाइरहेका छन् । कतिपयले पहिलेको पासवर्ड बिर्सिसक्नु भएको रहेछ । उहाँहरुको पासवर्ड रिसेट गरिदिने लगायतका सेवाहरु दिएर हामी सहयोग गरिरहेका छौं । पहिलेका प्यासिभ युजरहरु अहिले एक्टिभ भएर मोबाइल बैंकिङको एप्लिकेसन चलाउन थाल्नुभएको छ । माछापुच्छ्रे बैंकको हालसम्म करिब ४ लाख ५० हजार मोबाइल बैंकिङका ग्राहक छन् । करीव ३५ हजार ग्राहक इन्टरनेट बैंकिङ चलाउने छन् । कार्ड प्रायोगकर्ता करिब दुई लाख ५० हजार छन् । मोबाइल बैंकिङमा के–के गर्न पाइन्छ ? मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै काम गर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेट, टिभी, खानेपानी, बीमा शुल्क, स्कूल कलेजकाे फि तिर्न लगायतका बिल तिर्न सकिन्छ । खासगरी माछापुच्छ्रे बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सकिन्छ । मोवाईल मार्फत फिक्स डिपोजिट गर्दा ०.५ प्रतिशत प्रिमियम पनि प्रदान गरिरहेका छौं । मोबाइल बैकिङका विशेषताहरु माछापुच्छ्रे बैंकलगायत धेरै बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटीसी, एनसेलको मोबाइल रिचार्ज गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न, वालेज टपअप गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न तथा क्युआरकोड मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथि उल्लेख गरेको माछापुच्छ्रे बैंकको मोवाईल बैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखिको रकम ग्राहकले आफ्नो अनुकुल समयमा मुद्दती निक्षेपमा राख्न सक्नुहुन्छ । एक लाखसम्मको कारोबार विभिन्न मिडिया मार्फत, ग्राहकले पैसावाट पनि कोरोनाको संक्रमण हुने थाहा पाएपछि, पैसाको प्रयोग घट्दै गएको मैले पाएको छु । सकेसम्म र सम्भव भएसम्म ग्राहकले क्युआर, पिओएस तथा विभिन्न वालेटको प्रयोग गरिरहेको पाइएको छ । विभिन्न सुपरमार्केट, अनलाईन सप, तथा पसलहरुले पैसाको विकल्पको रुपमा डिजिटल पेमेन्टलाई लिइरहनु भएको छ । हालको लागि अति उपयोगी पेमेन्ट अप्सनको रुपमा क्युआरलाई लिन मिल्छ । सहजै पेमेन्ट गर्न सकिने तथा संक्रमणको डर पनि नहुने भएकाले । अनलाइन डेलिभरी सुरु गर्नुभएको व्यापारीहरुले पनि यसलाई अत्याधिक रुपमा प्रयोग गरिरहनु भएको छ । उहाँहरुले घरमै क्युआर लिएर कारोबार गरिरहनु भएको छ । हामीले ठूलो रकमको कारोबार गर्नेदेखि सानो दैनिक उपभोग्य सामान खरिद विक्री गर्नेसम्मका लागि यो सेवा प्रदान गरिरहेका छौं । मोबाइल बैंकिङ मार्फत ग्राहकहरुले दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि दिनमा एकलाख रुपैयाँ तिर्न सक्ने तथा लोड गर्न सक्ने सुविधा छ । औचित्य, अवसर र जोखिम करिब एक वर्षभन्दा अगाडि, जतिखेर क्युआर आयो, त्यतिखेर मोबाइल बैकिङलाई ट्रान्जेक्सन अलर्ट टूल्सको रुपमा मात्र हेरिन्थ्यो । अहिले विस्तारै पेमेण्टमा पनि मोबाइल बैकिङ हुन सक्छ भनेर मोबाइल बैकिङको प्रयोग राम्रो ग्रोथ रेटमा बढ्दैछ । अहिले पनि लकडाउन भइसकेपछि मानिसहरुलाई मोबाइल बैकिङ चाहिँदो रहेछ र यो क्यासअल्टरनेटिभ रहेछ भनेर सोच्ने फुर्सद भएको छ । यो हिसाबले हेर्दा लकडाउन पश्चात मोवाईल बैंकिग प्रयोगकर्ता अझै बढ्ने सम्भावना छ । मोबाइल बैकिङले मानिसको जीवनलाई सहज बनाइदिएको छ । विभिन्नखालको कष्टहरु घटाइदिएको छ । यो पेमेन्ट सर्भिससँग जोडिएर आउने विभिन्न कम्पनीहरुले बढी अवसर सिर्जना गरिहेका छन्, जस्तै वालेट । मोबाइल बैकिङको प्रयोग हुन्थेन भने नेपालमा धेरै वालेट सर्भिसहरु आउँथेन । उनीहरुको विजनेसले अहिले जसरी एग्रेसिभ रुपमा काम गर्थेन । यसको प्रयोग वाइड स्प्रेड हुने थिएन । तर, अहिलेको अवस्थामा जसरी मोबाइल बैकिङको प्रयोग बढ्दै गएको छ, त्यसरी नै अवसहरु पनि बढ्दै जानेछन् । बैंकलाई पनि ग्राहकहरु बैंकमा नै नआएर विभिन्न सेवा सुविधाहरु दिने अवसर पनि दिएको छ । यसले बैंकलाई कर्मचारी घटाउन अथवा जनशक्तिको कम परिचालन गर्न मद्दत पनि गर्न सक्छ । अर्कोतर्फ बैंकको खर्च कटौती गर्न पनि सहयोग गर्छ । विशेष गरी मोबाइल बैंकिङले बैंकहरुको अपरेशनल खर्च घटाउन ठूलो सहयोग गर्छ । यही अनुपातमा भविष्यमा एक्टिभ युजर बेस बढेको खण्डमा, बैंकहरुले प्रविधिमा ठूलो फड्को मार्ने अवसर प्राप्त गर्नेछन् । हालको विषम परिस्थितिले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । मोबाइल बैकिङको मुख्य चुनौती यसको सुरक्षाको हो । यसको सेवा सुविधामा कति सुरक्षा हुन्छ भन्ने हो । यो प्रविधि हो, प्रविधिमा सानोतिनो रिक्स जहाँ र जहिले पनि हुन्छ । तर, यसलाइै बैंकहरुले न्युनिकरण तथा कम गरिरहेका छन्। हामी पनि त्यही अनुसार अगाडि बढिरहेका छौं । नेपालमा क्यासलेसको सम्भव सरकारले पनि अहिले क्यासलेस भुक्तानीलाई फोकस गरिरहेको छ । लकडाउनको अवस्थामा, विशेषत सहरी क्षेत्रमा अहिले पनि क्यासलेस जस्तो भइसकेका छौं । अहिले मानिसलाई नगद समाउँदा पनि रिक्स छ । त्यसले पनि मोबाइल बैंकिङको अवसर सिर्जना गरिदिएको छ । हामी यो तीन हप्तासम्म क्यासलेस जसरी नै बसेका छौं, त्यो परिस्थिति मनन् गर्दा क्यासलेस भुक्तानी सम्भव छ । सरकारले क्यासलेसमा जाने निर्णय गरेमा अझ सहज हुनेछ । बानी पर्नको लागि केही समय अप्ठेरो महसुस हुन सक्छ । त्यो समयमा मानिसहरुले आफूलाई अपग्रेट गर्ने मौका पाउँछन् । नेपालमा स्मार्टफोन होल्डरहरुर बढी भएको कारणले पनि यो सम्भव छ । प्रतिशतको आधारमा हेर्ने हो भने बैकिङ प्रणालीमा आवद्ध हुनेहरुको संख्या पनि राम्रो छ । भारतको जति गाह्रो नहोला तर सम्भव अवश्य छ । विश्वसनियता हामीले हाम्रो मोबाइल बैकिङ र इन्टरनेट बैकिङ आफैले उत्पादन गरेको प्रडक्ट नभए पनि किनेको प्रडक्ट हो । तर, ती सबै सेवाहरु हाम्रै बैंकमार्फत नै संचालित हुन्छ । आफ्नो बैंकको डेटाहरु पनि बैंककै अधिनमा र डेटा सुरक्षाको लागि उचित सुरक्षा प्रणाली अपनाइएको हुन्छ । उचित सुरक्षा प्रणाली, व्यवस्थित आन्तरिक नियन्त्रण प्रणाली र समय समयमा हुने ईन्टरनेट सेक्युरीटी अडिटले धेरै हदसम्म विश्वसनियता कायम गरी राख्दछ । त्यसैगरी, बैंकमा आउनसक्ने रिक्सहरुलाई हेर्न, भविष्यमा हुन सक्ने भवितव्यलाई न्यूनीकरण गर्न हामीले इन्भफरमेसन सेक्युरिटी अफिसर पनि राखेका छौं । यसका साथै, हाम्रो मोबाइल बैंकिङको विश्वसनियता के छ भनेर करीव १ बर्ष पहीले नै अन्तराष्ट्रिय मान्यताप्राप्त संस्थामार्फत ईन्टरनेट सेक्युरीटी अडिट गरी उनीहरुको परीक्षण विवरण बमोजिम जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गरिरहेका छौं । (माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ विभागका  नायब प्रमुख रेग्मीसँग  सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)