जब सहायक स्तरको जागिर छोडेर व्यवसायमा रमाएँ: चन्द्र प्रसाद ढकाल

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ । ती कार्यक्रममा सहभागी हुँदा उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु भए । ती बसाई भेला र बैठकमा तपाईहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाईंहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनुभयो । जस्तो कि गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु । आज यो कार्यक्रममा सहभागी हुन धेरै जना साथीहरु इच्छुक हुनुहुन्थ्यो, तर आफ्नै जिल्लामा मेलामहोत्सव तथा पारिवारिक कार्यक्रम परेकाले उहाँहरु यहाँ उपस्थित हुन सक्नु भएको छैन, तर फोनमार्फत भए पनि मलाई शुभेच्छा भने प्रकट गर्नुभएको छ । देशभरका आदरणीय उद्योगी, व्यवसायी साथीहरुको यही सहृदयी भाव, सदासयता र शुभेच्छालाई म हृदयदेखि नै सम्मान पनि गर्दछु । विगत र वर्तमान बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाटै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायीक जीवन सुरु भएको हो । करिब दुई दशकअघि हामीले आइएमइ स्थापना गरेर सुरु भएको हाम्रो व्यवसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ । देशैभरि पुगेको हाम्रो उद्यमशिलताबाट हजारौं नेपाली दाजुभाइ दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रुपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो । जब हामीले नेपाली दाजुभाइले बिदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवं परिवारका हातमा पुराइदिन थाल्यौं। त्यसले हामीलाई सँधैभरी आशिर्वादको काम गरिरह्र्यो । नेपाली दाजुभाईले विश्वासकासाथ हामीलाई दिएको र हामीले जतन साथ परिवारमा पुर्याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो। त्यही पैसाले कैयौं व्यापार चले, कयौं उद्योगहरु बने । त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी। आज कहिं न कहिं कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन् । तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र व्यापारमा लैजान सक्यौं भने, मझौला उद्योग र व्यापारलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने, ठूला उद्योग र व्यापारलाई बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्यौं भने त्यसले हाम्रो मात्रै होइन् समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ । त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरुलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्वन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ । यो मेरो प्रण हो । वर्तमान अवस्था हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको मैले पाएको छु । मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसुश गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ । राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ । निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नु पर्ने हुन्छ । त्यसैले मेरो उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विनालगानीको एउटा पाटर्नर पनि हो । महासंघमा मेरो नेतृत्व निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ। जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेजी प्रक्रियालाई सहज र शुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्टयाउनुपर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ। छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन्, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार चाहिन्छ । गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ । उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ती र जग्गा विक्रि गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ । एउटा निकायबाट फर्छयौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन्, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढङ्गबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ। निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेको छ। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ । एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको भिसिटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन् । हामीले यसको पनि दिर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ। सम्पत्तीमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग बाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ । यि काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसि डाइलगलाई अझै बढाउनुपर्ने छ। विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला(ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ। महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्नेछ । यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविइङ् पनि गर्ने छ। मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ । तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रुपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु । महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु। जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारवीच रहेको तिक्ततापूर्ण सम्वन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्वन्धमा स्थापना गर्न सफल भयौं। त्यसैगरी हामीले हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न हामी केन्द्रित हुनेछौं । कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु । एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्याउने छ । मलाई लाग्छ हाम्रा देशभरिका उद्योगी व्यवसायी साथीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्व छ । महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो । मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु । साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु। आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ। महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्यक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अफ्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध हुनेछु। महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ,अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ । मेरो अभियानका सारथिहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु । ( ढकालले सार्वजनिक सभामा राखेको विचारकाे सम्पादित अंश )

कोरोना भाइरस, चीन, विश्व अर्थतन्त्र र नेपाल

चीनलगायत विश्वको अधिकाश मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमितहरु एकाएक बढ्दै जाँदा चीनमा मात्रै हाइन संसारभर नै बहस चल्न थालको छ । एक करोड ५० लाख जनसंख्या रहेको वुहानमा ४० लाख जनसंख्या नयाँ वर्षको अवसरमा बाहिरिएको हुवे प्रान्तको वुहानमा इपीसेन्टर रही गतवर्षको डिसेम्वरको मध्यतिर फैलिएको कोरोना भाइरसले संसारलाई नै त्रसित पारेको छ । एकातिर चीनले कोरोना भाइरसलाई कसरी काबुमा ल्याउन सकिन्छ कि भनेर हरसम्भब प्रयास गरिरहेको छ भने अर्कोतर्फ चीनले आफ्नो आर्थिक बृद्धिदरलाई कसरी कायम राख्न सकिन्छ भन्ने प्रश्नमा चिनियाँ सरकार चिन्तित देखिन्छ । किनकि विश्वलाई अव थाहा भइसक्यो कि चीनले राष्ट्रिय सुरक्षा अन्तर्गत पर्ने मानव सुरक्षालाई पनि बढी ध्यान दिन थालेको छ र उसले यस्ता देखापर्ने समस्याका लागि लड्नसक्छ कि सक्दैन भन्ने प्रश्न नै भएन । बरु यस्तो समस्या चीनसंग कति दिन टिक्नसक्छ भन्ने प्रश्न हो । तर त्यो भन्दा पनि ठूलो प्रश्न उसले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउछ र आफ्नो आर्थिक बृद्धिदरलाई कसरी ६ प्रतिशत भन्दा कम आउन दिंदैन, यही विश्व जगतको चाँसोको कुरा हो र छ पनि । विगत १८ बर्षसम्म ६ प्रतिशत भन्दा वढीमा आर्थिक बृद्धिदर हासील गर्दै आएको चीनका लागि यो आफैमा ठूलो चुनौती र लडाई पनि रहेको छ । सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि २ प्रतिशत भन्दा बढी आफ्नो आर्थिक बृद्धिदरमा कमी आएको थियो । यद्यपि त्यतिखेर सार्स २७ देशहरुमा देखापरेको थियो । जुनबेला सार्सले चीनको अर्थतन्त्रमा लात्ता बजारेको थियो, त्यतीबेला चीनले संसारको अर्थतन्त्रको ८ प्रतिशत भाग ओगट्ने गरेको थियो । तर आज त्यो स्थितिमा चीन छैन । चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशत भन्दा बढी भार ओगटेको छ र त्यो भन्दा पनि यो देश आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ । आज यो देशले आफ्नो आर्थिक बृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन पुरै विश्व नै खलबलिन्छ ।  यो संसारभरिका अर्थशास्त्रीहरुले राम्ररी बुझेका छन् । वुहानमा संक्रमण भईरहेको बेला बेईजिङमा चीनियाँ अर्थशास्त्रीहरुलाई चिन्ता हुनु नौलो कुरा थिएन । त्यही भएर कसरी आफ्नो आर्थिक बृद्धिदर कायम राख्न सकिन्छ भनी एकआपसमा बादविवाद तथा तर्कवितर्क सुरु गरिसकेका थिए । चीनियाँ अर्थतन्त्रमा परिरहेको कोरोना भाइरसको असर सांघाई स्टक एक्सचेन्ज ८.२५ प्रतिशतले तल झर्नु साथै सन्जेन कम्पोजिट इन्डेक्स ८.४ प्रतिशले तल झर्नु कोरोना भाइरसको चिनियाँ अर्थतन्त्रलाई पहिलो झट्का हो । त्यस्तै चिनियाँ मुद्रा ९युआन० अमेरिकी डलरको तुलनामा ७ प्रतिशतसम्म कमजोर हुनु कोरोनाको अर्को ठूलो झट्का हो । यो झट्काले पनि चीनलाई अलि कम दुखिरहेको छ होला तर ढाडमा त त्यतिवेला असर पर्यो जव पव्लिक वैंक अफ चाइना ९पीओवीसी० ले सर्वसाधारणबाट १.२ ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो । बजार र बैंकमा पैसाको तरलता कम भयो भनेर लिन लागिएको रकम तरलता बढी भयो भनी केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर परयो कि बैंकभरिको पैसा चलायमान भएन । पैसाको बितीय चक्र एकाएक उल्लेखनिय रुपमा प्रवाहहिन हुन थाल्यो । यसको पछि कति प्रान्तले २० औं दिन जती कुनै कम्पनी, कार्यालय, कलकारखाना नखोल्ने निर्णय पनि एउटा थियो । सन् २०२० जनवरीमा भएको अमेरिका र चीनको सम्झौता, जसमा चीनले अमेरिकाबाट २०० विलियन डलर बराबरको सामान किन्ने र दुई देशवीचको ब्यापारिक युद्ध कम गर्ने कुरा पनि गाह्रो भइसकेको कुरा पनि केही विज्ञहरुले विश्लेषण सुरु गरिसकेका छन् । दैनिक ८५ मिलियन आन्तरिक यात्रु ९प्यासेन्जर० हिड्ने ट्राफिक १८ मिलियनमा झरेको कुरा चीनले लुकाउन खोजे पनि यो लुकाउन सक्ने कुरा भएन । यद्यपि हाल स्थितिमा ८० प्रतिशतसम्म सुधार भइसकेको देखिन्छ । चाइनाभरि आठ सय एप्पल मोवाइलका स्टोरहरु बन्द, ग्लोबल टिभी उत्पादनमा ५० प्रतिशतले कमी, हुण्डाई कम्पनी पार्टपूर्जाको अभाबले केही दिन बन्द हुनु, वुहान प्रान्तमा रहेका १९ ठूला कम्पनीका एक लाख भन्दा बढी कामदार तीन हप्ता घर बस्नु, चार हजार दुई सय स्टारबक्स बन्ददेखि लेभाइज आदिका कारखानाहरु बन्दले चीनको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । १८ बर्ष भन्दा बढी समय लगातार यस देशले आर्थिक बृद्धिदर ६ प्रतिशत भन्दा कमी आउन थिएन तर अमेरिका तथा केही पश्चिमेली देशका अर्थशास्त्रीहरुले पाँंच ५.६ प्रतिशत भन्दा कममा झर्छ भन्दै ठोकुवा गर्दै हिडेका छन ।  तर यो चीनको लागि आफैमा ठूलो चुनौती रहेको छ । अक्सफोर्डका अर्थशास्त्रीहरुले पहिलो चौमासिक चीनका लागि ४ प्रतिशत मात्र आर्थिक बृद्धिदर हुनेछ भनी विश्लेषण गरेका छन् । जसको लागि चीनले केही गर्नुपर्ने चुनौति देखापरेको छ । विश्व अर्थतन्त्रमा कोरोनाले पारेको असर चीनका अधिकांश सहरहरुको बाटामा अत्यावश्यक सामाग्री वोक्ने सवारीसाधहरुबाहेक अरु नचल्नाले इन्धनको खपटमा १८ प्रतिशतको कमी आउनु तथा हवाई ईन्धनको खपतमा २१ प्रतिशतको मागमा कमी हुनाले पेटोल निर्यातक राष्टहरुको संघ (ओपेक) र रुसले आफना खानीहरुमा कामदार घटाएर ईन्धन उत्पादन घटाउने कि ईन्धनको मूल्य कम गर्ने भनी बहस नै गरे । र हालसम्म पनि गर्दैछन् । विश्वको १९ प्रतिशत भन्दा बढी अर्थतन्त्र बोकेको चीनमा यदि आप्नो आर्थिक बृद्धिदर १ प्रतिशत कम हुन्छ भने यसको असर संसारमा ०.२ प्रतिशतले पर्दछ भन्ने सबैले बुझेको कुरा हो । यदि चीनले २ ट्रिलियन अमेरिकी डलर बराबरको सामान कम उत्पादन गर्दछ भने यो भनेको हाम्रो छिमेकी देश भारतको जिडिपीको ७० प्रतिशत बराबर हो । यो मामिलामा विश्व जानकार नभएको होइन तर पनि विश्व अर्थतन्त्रमा कोरोना भाइरसले ठूलो असर गरेको छ भनी केही मुलुक पत्याइरहेका छैनन् । पर्यटन क्षेत्रको मात्र अध्ययन गर्ने हो भने चिनियाँं पर्यटकको कमीले संसारभर ठूलो असर गर्दछ । कोरोना भाइरसले गर्दा ५५ प्रतिशत चीनियाँ पर्यटकले विदेश नजाने निधो गरी टिकट रद्द गरिसकेका छन् । यसको झट्का विश्व पर्यटनको अर्थतन्त्रमा नै पर्ने देखिन्छ । पर्यटन व्यवसायले १८ प्रतिशत जिडिपी ओगटेको कम्बोडियामा चीनका पर्यटकले मात्र ६ प्रतिशत जती जिडिपीमा योगदान गर्दछन । जुन अहिले विगत ५ हप्तादेखि ठप्प नै छ । यस्तै, ११ प्रतिशत भन्दा बढी पर्यटन व्यवसायले जिडिपी धानेको थाईल्याण्ड र हङकङमा चीनका पर्यटकले मात्रै क्रमशः ४ र ७ प्रतिशत जती जिडिपीमा सहयोग गर्दछ । यस्तै मलेसिया, सिंगापुर, श्रीलङ्का, ताईवान, भियतनाम, फिलिपिन्स, ईन्डोनेसिया र दक्षिण कोरियामासमेत चीनका पर्यटकले सम्पूर्ण जिडिपीको १ देखि २ प्रतिशतसम्म प्रभाव पार्ने देखिन्छ । यी पूर्वीय दक्षिण एसियाका देशहरु पर्यटनका लागि प्रख्यात छन् र करिब ४ देखि ६ प्रतिशत जिडिपी पर्यटनबाट नै अर्थतन्त्र धान्दै आएका छन् । यसरी संसारभरि नै चिीनयाँ पर्यटकले उल्लेखनीय रुपमा योगदान गरेको देखिन्छ । जसले गर्दा करिब २ दर्जन भन्दा बढी देशमा कोरोना भाइरसको ठूलो असर परेको छ । थाईल्याण्डले मात्रै यस बर्ष १५० मिलियन डलर पर्यटनमा कमी हुन्छ भनी अनुमान गरिसकेको छ । यस्तै जीभीए (ग्रस भ्यालु एडेड) हेर्दा चीनले भियतनामको ६ प्रतिशत व्यापार, ताईवानको १७ प्रतिशत, मलेसियाको १० प्रतिशत, दक्षिण कोरियाको १० प्रतिशित, थाईल्याण्ड र सिंगापुरको १० प्रतिशत भन्दा बढी, चिलीको ७ प्रतिशत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पेरु, दक्षिण अरेविया आदी देशमा ५ प्रतिशतसम्म व्यापार हिस्सा साझेदार गरिरहेको छ । विश्वभरीका करिब १३० देशमा सानो ठूलो असर परेकै छ तर हाल दुई दर्जन भन्दा बढी देशमा व्यापारको ठूलो असर परेको देखिन्छ । कोरोना भाइरसको असरले कच्चा तेलमा केही समयका लागि १५ प्रतिशतसम्म माग कम भएको विश्व जगतले बुझेकै छ । जुन सन् २००० पछिको ठूलो घटना हो । यस्तै ३ हप्ता पहिले तामामा संसारभरिको मागको १३ प्रतिशतसम्म कमी आएको थियो र हाल पनि ६ प्रतिशतसम्म तामाको मागमा कमी नै रहेको छ जुन विश्व अर्थतन्त्रको लागि ठूलो चुनौती हो । नेपाली अर्थतन्त्रमा कोरोना भाईरसको असर २० बर्ष अगाडिसम्म एशियाको शक्ति भनेर चिनिन थालेको चीन अहिले विश्व शक्तिवान राष्ट हुनै लागेको छ । यदि यसको अर्थतन्त्र विग्रियो भने नेपालको अर्थतन्त्रमा असर नपर्ने कुरै भएन । करिब १६ प्रतिशत जती चीनयाँ पर्यटकले ओगटेको नेपालको पर्यटन व्यवसाय कोरोना भाइरसको पहिलो आक्रमण हो । नेपालमा आउने १६ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटक यो बर्ष २० प्रतिशत पुग्ने अनुमान लगाइएको थियो । तर, नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाइरसले ठूलो झट्का दिइने देखिएको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७.५ प्रतिशत जिडिपी ओगटेको नेपालको पर्यटन क्षेत्रमा करिब ५ औं भाग चिनियाँ पर्यटकको भएकाले नेपालको जिडिपीमा ३ महिनाका लागि २ प्रतिशतसम्म घाटा हुनु स्वभाविक कुरा नै हो । जसले गर्दा प्रत्यक्ष रुपमा १०० मिलियन डलर भन्दा बढी र अप्रत्यक्ष रुपमा २२० मिलियन डलरभन्दा बढी हिस्सा ओगट्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले गर्दा ४० देखी ५० मिलियन डलर घाटा वा कमी व्यहोर्नु पर्ने देखिन्छ । कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई जीभीए (ग्रस भ्यालु एडेड) मा यो बर्ष ३ देखि ४ प्रतिशतसम्म असर गर्ने देखिन्छ । चीनमै व्यापार व्यवसाय बन्द रहेका बेला नेपालले आयात वा केही मात्रामा भए पनि निर्यात गर्नसक्ने कुरा भइरहेको छैन । यो कहिलेसम्म भइरहने हो त्यो पनि अनिश्चित नै छ । जसले गर्दा नेपालमा यसको ठूलो असर परेको देखिन्छ । अर्थतन्त्रको हिसाबले विश्वकै प्रमुख ६ देशभित्र पर्ने २ देश भारत र चीनको विचमा नेपाल रहेकाले यदि यी देशमा अर्थ सम्बन्धी केही असर परेमा नेपालमा पनि असर नपर्ने कुरा भएन । तर समयमै सम्बन्धित निकायहरु, संस्थाहरु, व्यक्तिहरुले सरकारलाई उचित सूझाव नदिएको खण्डमा यस्ता घटनाहरुले नेपालको अर्थतन्त्रलाई ठूलो झट्का दिन सक्दछ । (दुवाल वुहानमा पीएचीडीरत ईन्जिनियर र चन्द अर्थशाश्त्री हुन्)

साढे तीस लाख ग्राहकको विश्वास बोकेर अघि बढ्दैछौं : किरण कुमार श्रेष्ठ

काठमाडाैं । यस बैंकले ५५ वर्षको इतिहासमा अनेकौं आरोह अवरोह पार गर्दै आएको छ । ५० को दशककाे अन्त्यमा आइपुग्दा बैंकको वित्त अवस्थाका अधिकांश सूचकहरु नकारात्मक रहन गयो । फलस्वरुप २०५९/६० सालदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भई पुनः बैंकले प्रगतिको यात्रा शुरु गर्यो र आज यहाँसम्म आइपग्दा धेरै सकारात्मक परिणामहरु देखिन थालेको छ । आ ब २०७५/०७६ को आफ्नो वित्तीय विवरणहरुको अन्तिम लेखापरीक्षण समेत सम्पन्न गरी यही माघ २४ गते बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्न गईरहेको व्यहोरा निवेदन गर्न चाहन्छु । चाल आवकाे दोश्रो त्रैमास भर्खरै समाप्त भएको छ । यस अवधिको प्रारम्भिक बिबरण अनसार २०७६ पौष मसान्त सम्ममा बैंकको कुल निक्षेप रु १ खर्ब ९७ अर्व, कूल कर्जा लगानी रु १ खर्ब ५२ अर्व तथा खुद मुनाफा रु २ अर्ब ५ करोड रहेको छ भने बैंकको कुल सम्पत्ती रु २ खर्व २६ अर्ब पुगेको छ। त्यसै गरी कर्जा निक्षेप अनुपात सीडी रेसियो ७७ प्रतिशत रहेको छ र बैंकको आधार दर ६.६ प्रतिशत रहेको छ । बैंकले निर्धारण गरेको कर्जाको व्याजदर वैकिङ्ग क्षेत्रमै प्रतिस्पर्धी रहेको छ भने निक्षेपको व्याजदर पनि अन्य बैकको तुलनामान प्रतिस्पर्धी नै रहेको छ । अहिले हामीले वचत निक्षेपमा ४ प्रतिशत देखि ६ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ९.७५ प्रतिशत सम्म व्याज दिईरहेका छौं । सर्वसाधारणको अपार विश्वास तथा मायाका कारण बैंकको निक्षेप ग्राहक संख्या ३० लाख ३७ हजार पगेको छ भने कर्जा ग्राहक संख्या १ लाख ५८ हजार पुगिसकेको छ । त्यसैगरि १० लाख भन्दा बढी ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकशन र ५ लाख १० हजार ग्राहकहरुले बैंकको भिसा डेबिट कार्ड प्रयोग गरिहेका छन । यसै गरी देशका सातै प्रदेशका ७७ वटै जिल्लामा २३८ शाखा कार्यालयहरु, २०५ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ्ग, २८ वटा एक्स्टेन्सन काउण्टर माफत हामो कार्यजालो र सेवाको पहुँच पुर्याइ रहेका छौं । अबको दिनमा बंकले युवा वर्गलाई लक्षित गरी सेवा सुविधाहरुको अझ विस्तार र विकास गर्ने योजनामा रहेको छ । यस बैंकले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल बैंकिंग क्षेत्रमै सबैभन्दा उच्च अर्थात रु ५.०५ अर्ब नाफा आर्जन गन सफल भएको कुरा सहर्ष जानकारी गराउन चाहान्छु । त्यगैगरी बैंकले यस वर्ष हाइएष्ट ट्याक्स पेयर अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष लगानीकर्तालाई पहिलो पटक १२ प्रतिशत लाभांश वितरण गर्न समेत सफल भएको छ । हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएको हुनाले सरकारका नीति र कार्यक्रमहरु अनुरुप कार्य अगाडि बढाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । यसै हिसाबल उत्पादनशिल तथा प्राथमिकता क्षेत्रका कृषि, जलविद्युत, पर्यटन तथा उद्योग क्षेत्रमा प्राथमिकताका साथ हामीले हाम्रो लगानीलाई केन्द्रित गरेका छौं । यस क्षेत्रमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रतिशत सिमा भन्दा माथि हाम्रो लगानी रहेको छ । यसै गरि व्याज अनुदान सहितको सहलियतपूर्ण कर्जा अन्तर्गत हालसम्म ९५४ जनालाई कुल ७८ करोड ८० लाख कर्जा प्रवाह गरिएको छ । सहलियतपूर्ण कर्जालाई कूल कर्जाको १ प्रतिशत सम्म लगानी पुर्याउने योजनाका साथ काम गरिरहेका छौ । यस्तै अनुदान सहितको कषि कर्जा तर्फ बैंकले हालसम्म ५६५३ जनालाई कुल र अर्ब १ करोड प्रवाह भएको समेत जानकारी गराउँछु । सर्वसाधारणको वित्तीय पहुंच बढाउने उदेश्यले हामीले शाखा संजाल विस्तार तर्फ विषेश जोड दिएका छौं । मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना भई सकेको र आजको दिनमा मुलुकभर ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा गरी २३८ वटा शाखा सहित उपस्थित छौं भन्न पाउँदा मलाई खुशी र गर्व महसुस भएको छ । यसै गरी सरकारको ७५३ वटै स्थानीय निकायहरुमा बैंकका शाखा स्थापना गर्ने नीति अनुरुप यस बैंकले स्थापना गर्नुपर्ने २२ वटै स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी संचालनमा पनि ल्याईसकिएको छ ।  आजको बैंकिग प्रतिष्पर्धामा आफनो प्रतिष्पर्धी क्षमतालाई समयानुकुल पारमार्जन गर्न अति नै जरुरी रहेको सम्बन्धमा बैंकको उपलब्धीलाई दीर्घकालीन रुपमा दिगो बनाइ राख्न समयम रणनीतिक कामहरु गर्नु पर्ने आवश्यकता बोध गरी हामीले बैंकको रणनीतिक योजना २०२०–२०२५ तर्जुमा गरेका छौं । यस रणनीतिक योजनाको कार्यान्वयनबाट बैंकको आगामी कार्यक्रमलाई योजनाबद्ध रुपमा सञ्चालन गरी बैंकको प्रतिष्पर्धी क्षमताको विकाु गर्न सकिने विश्वास लिएका छौं । त्यसैगरी व्यवस्थापन अडिट र ओ एण्ड एम सर्भे सम्पन्न गरिसकेका छौं । अहिले बैकिङ्ग क्षेत्रमा देखिएका जोखिमहरु तथा नयाँ चुनौतिहरुका सामना गर्न बैंकको रिक्स व्यवस्थापन प्रणलीलाई राम्रो र भरपर्दो बनाउन डीएफआइडीको आर्थिक सहयोग र पीडब्लुसीको प्राविधिक सहयोगमा यस बैंकमा नेपाल रिस्क ट्रान्सफरमेसन सिस्टम संचालन भईरहेको छ । सो परियोजनाले यस बैंकको विद्यमान जोखिम व्यवस्थापन प्रणाली र पद्धतिलाई इन्टरनेश्नल नम्स अनुरुप सुधार गर्ने विश्वास लिएका छौं । त्यसैगरी सम्पत्ती शुद्धिकरण निवारणका लागि बैंकिंग क्षेत्रमा अहिलेको जल्दोबल्दो विषय एएमएल÷सीएफटी संग सम्बन्धित विषयहरुको नियमन, व्यवस्थापन तथा रिपोर्टीङ निकै चुनौतीपुर्ण भएको छ । यसको लागि हामीले बैंकको कम्प्लेन्स डिपार्टमेन्टको सदढिकरण, उपयुक्त जनशक्ति व्यवस्थापन, तालिम तथा प्रविधिको स्तरोन्नती गर्दै अगाडि बढि रहेका छौं । यस आर्थिक वर्ष २०७६/०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन भन्ने अभियान संचालन गरी फिजिल एण्ड फाइनान्स स्मार्टनेस को लक्ष्यसहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौं । बैंकको विद्यमान कर्मचारी सेवा विनियमावलीका प्रावधान बमोजिम विगत चार वर्षको अवधिमा १३५४ जना कर्मचारीहरु सेवा निवृत भई अनिवार्य अवकासमा गएका छन् भने १०६० जना नयां कर्मचारीहरु नियुक्त गरिएको छ । बैंकको ४ वर्ष अगाडिको ४८ वर्षको औसत उमेर ३६ वर्षमा झरेको छ । यसै आर्थिक बर्ष आयोजना गरिएका १३० वटा तालिम कार्यक्रम मा ३४८१ जना कर्मचारीहरु सहभागी भएका छन् । बैंकको समग्र विकास तथा कर्मचारी समस्याको समयमा सम्बोधन गर्न बैंक व्यवस्थापन र ट्रेड युनियन बीच रामो सम्बन्ध र समझदारी समेत रही आएको छ। बैंकले आर्जन गरेको खद मनाफाको कम्तिमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व वहन सम्बन्धी क्रियाकलापहरुमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था बमोजिम हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं । समृद्धिसंग जोडी नाता, सबै नेपालीको बैंक खाता भन्ने राष्ट्रिय अभियानलाई सार्थक पार्न घनिभुत रुपमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ । गत २०७६ वैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बैंकमा खाता खोली शुभारम्भ भएको यस अभियानलाई बैंकले देशभरी रहेका सबै शाखा कार्यालयहरु माफत व्यापक रुपमा अगाडि बढाएको छ । यस कार्यक्रममा हालसम्म २०३ वटा शाखा कार्यालयहरु मार्फत १९९७१ जना व्यक्तिहरु सहभागी गराइएको छ भने यस अभियान अन्तर्गत शाखा कार्यालयहरुले १५१४ संख्यामा नयां निक्षेप खाता खोलिएका छन् । बैंकको उद्धेश्य अनुरुप कार्यक्षेत्रको दायरालाई अझ फराकिलो बनाउने उद्धेश्यले विभिन्न संघ संस्था तथा निकायहरुसंग समन्वय र सहकार्य गर्ने नीति अनुरुप हामीले नेपाल टेलिकमसंगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना गर्ने कार्यलाई अगाडी बढाएका छौं भने सहलियतपूर्ण कर्जालाई प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुर्याउन युवा परिषद् नेपाल, हेफर इन्टरनेशनल, युके एड, सक्षम, नेपाल घरेलु तथा साना उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मंच, समद्धि लगायत संघ संस्थाहरुसंग सहकार्य गरी रहेका छौं । एक कम्पनी आरविवि मर्चेन्ट मार्फत चाडै नै म्युचुअल फण्ड संचालन गर्ने तयारीमा लागेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका निदशन बमोजिम डिवेन्चर जारी गर्ने प्रत्रिया अगाडि बढाइएको छ । क्रडिट कार्डलगायत कर्जा तथा निक्षेपका नयां प्रडक्टहरुसमेत तर्जुमा गरी लागु गर्ने योजनामा छौं । विभिन्न संघ संस्था र निकायमा बहालवाला तथा सेवा सुविधा सहितको सहुलियत कर्जा शीर्षकमा नयां कर्जा प्रडक्ट निकट भविश्यमा ल्याउने तयारीमा छौं । बैंकको सूचना प्रविधि प्रणालीलाई समयानुकुल अद्यावीक लैजान आइटी इनह्यान्समेन्ट रोडम्याप गरी कार्यान्वयन गर्न तर्फ अगाडि बढेका छौं । बैंकले यसै आर्थिक वर्ष भित्र विभिन्न १६ स्थानमा रहेका जग्गामा बैंकको भवन निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । ती मध्ये ५ वटा स्थानमा यसै वर्ष निर्माण कार्य सम्पन्न हुनेछ ।  अन्त्यमा यस बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी आजको अवस्थामा ल्याई पूर्याउने कार्यमा योगदान  गर्नुहुने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु । साथै यस अवसरमा बैंकलाई यस अवस्थासम्म ल्याई पर्याउन योगदान दिनुहुने यस बैंकका सम्पूर्ण अग्रज  पदाधिकारी तथा कर्मचारीहरुलाई सम्मानका साथ स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । बैंकका सेवा सुविधालाई स्वीकार गरी आजका दिनसम्म यस बैंकसंग विविध कारोवार गरिरहनु भएका ग्राहकप्रति हार्दिक  कृतज्ञता प्रकट गर्न चाहन्छु र आगामी दिनहरुमा अझ गुणस्तरीय समय सापेक्ष सेवा सुविधाहरु प्रवाह गर्ने  प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । (राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकात्सव कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत  किरण कुमार श्रेष्ठले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )