नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङको बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । भदौ २ गते सम्पन्न सम्झौतामा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र अस्पतालको तर्फबाट निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धनगढीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत योगदान पुर्‍याउनेछ । नगदरहित कारोबारलाई अघि बढाउँदै, यस कदमले डिजिटल वित्तीय कारोबारको संस्कृति विस्तार गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । 'वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ', सम्झौतापत्रमा उल्लेख छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।