भूकम्पले क्षति पुर्‍याएको जनप्रिय आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले बनाइदियो नयाँ भवन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका–१, भण्डारवनमा रहेको विद्यालयको नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हंसा बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको भवन पुनर्निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण पाउने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे । उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएकाले समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण कार्य सम्पन्न गरेको बताए । बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच दिलाउनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन, नियमित पठनपाठनलाई निरन्तरता दिन र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुग्नेछ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, कर्पोरेट बैंकिङ सेवा एकै प्लेटफर्मबाट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ । यससँगै बैंकका कर्पोरेट ग्राहकले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । सहकार्यपछि ‘र्यापिड’ प्लेटफर्मलाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ । ‘र्यापिड’ एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । यस सुविधा प्रयोगसँगै कर्पोरेट ग्राहकले अब आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्मबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । सेवा प्रयोग गर्न ग्राहकले बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ र त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ‘र्यापिड’ले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले सेवा प्रयोगलाई अझ सहज र पारदर्शी बनाउनेछ । प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले डिजिटल कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । बैंकले एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई कृषि विकास बैंकको स्मार्टबोर्ड

काठमाडौं । कृषि विकास बैंकले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामग्री डिजिटल स्मार्टबोर्ड सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमको आयाेजना गरी बैंकले उक्त सामग्री सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग प्रदान गरिएको बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले बताए । सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक राघवप्रसाद दवाडीले बैंकको सहयोगले  विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा कृतज्ञतासहित हार्दिक आभार प्रकट गरे । कार्यक्रममा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, अभिभावक संघका अध्यक्ष जनकबहादुर अधिकारीलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक किरण धितालले गरेका थिए ।