२ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी
काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए । कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।
वित्तीय साक्षरता र समाजसेवामा सिटिजन्स बैंकको अग्रणी भूमिका, लाखौं नागरिक लाभान्वित
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय साक्षरताका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरी देशैभरका लाखौं नागरिकलाई लाभान्वित बनाएको छ । विगत् १९ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले दिगो विकास र समावेशी वृद्धिलाई ध्यानमा राख्दै सामाजिक कार्यलाई अघि बढाएको जनाएको छ । वित्तीय समावेशीकरणका लागि बैंकले सातै प्रदेशका १४८ शाखामार्फत सञ्चालन गरेको वित्तीय साक्षरता अभियानबाट विद्यार्थी, महिला, किसान, मजदुर तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूसहित करिब १० हजार मानिस लाभान्वित भएका छन् । स्वास्थ्य क्षेत्रतर्फ बाराको विश्रामपुर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ८०० जनाको आँखा परीक्षण र १५० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर तथा खानेपानीका लागि पाइप लगायतका सामग्री हस्तान्तरण गरिएको छ । यसैगरी वातावरण संरक्षणका लागि “एक खाता, एक रुख“ अभियानअन्तर्गत काठमाडौंको बूढानीलकण्ठसहित सातै प्रदेशमा गरी कुल १ बजार ५०० बिरुवा रोपिएको छ । शिक्षा क्षेत्रमा बैंकले हुम्लाको अदानचुलीस्थित छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट तथा दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल पेपर, ई-ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट र सफ्टवेयरजस्ता शैक्षिक सामग्री वितरण गरेको छ । हालसम्म १०० भन्दा बढी सिएसआर कार्यक्रम सञ्चालन गरिसकेको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कृषि विकास बैंक र एएफयूबीच समझदारी, कृषि नवप्रवर्तनमा सहकार्य हुने
काठमाडौं । कृषि विकास बैंक लिमिटेड र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), चितवनबीच कृषि अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं र सुदीप दाहाल, विभागीय प्रमुख वीणा शर्मा, निकु आचार्य, वरिष्ठ शाखा प्रमुख महेश्वर मरहट्टालगायत तथा विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक डा. रामहरी तिमिल्सिनाको उपस्थिति रहेको थियो । सम्झौताअनुसार दुवै संस्थाले कृषि तथा वन क्षेत्रको अनुसन्धान, नवप्रवर्तन, व्यावसायिक कृषि विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा बैंक र शैक्षिक संस्थाबीचको सहकार्यलाई सुदृढ बनाउन संयुक्त रूपमा काम गर्नेछन् । यसअन्तर्गत कृषि विकास बैंकले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई वित्तीय साक्षरता, व्यवसाय योजना, उद्यम विकास, बैंकिङ तथा वित्तीय परामर्श सेवा, अनुसन्धान अनुदान, इन्टर्नशिप तथा उद्यमशीलता विकास कार्यक्रममार्फत सहयोग गर्ने जनाएको छ । साथै विश्वविद्यालयमा सञ्चालित बिजनेस इन्क्युबेशन सेन्टर, कृषि नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन कार्यक्रमलाई आवश्यक प्राविधिक तथा वित्तीय सहयोग पनि उपलब्ध गराइनेछ । समझदारीपत्रमार्फत दुवै संस्थाले कृषि वित्त, जलवायु वित्त, ग्रामीण बैंकिङ, मूल्य शृङ्खला विकास, बजार पहुँच, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, संयुक्त तालिम, गोष्ठी, कार्यशाला, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने सहमति गरेका छन् । बैंकले यस सहकार्यबाट कृषि क्षेत्रमा आधारित अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतालाई थप प्रोत्साहन मिल्ने, रोजगारी सिर्जना तथा दिगो कृषि विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै आधुनिक, प्रतिस्पर्धी र दिगो कृषि प्रणाली निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा पनि बैंकले गरेको छ ।