सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले मर्जरमा जाने निर्णय गरेको हो ।  मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न बैंकले असार १४ गते बिहान ११ बजे विराटनगर, मोरङस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।  बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ । साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति तथा सम्पत्ति-दायित्व मूल्याङ्कनसम्बन्धी अधिकार पनि समितिलाई नै दिने प्रस्ताव छ । यस्तै, सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।  बैंकले साधारण सभा प्रयोजनका लागि असार २ देखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । असार १ गतेसम्म कारोबार भई नामसारी भएका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन् ।

४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै सालपा विकास बैंक, सञ्चालकको भत्ता बढाउने

काठमाडौं । सालपा विकास बैंकले आफ्नो सेवा विस्तार गर्दै थप चार जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार हालको कार्यक्षेत्रबाहेक थप चार जिल्लामा सेवा विस्तार गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी गरिएको हो । बैंकले उक्त प्रस्तावसहित अन्य विविध विषयहरू पारित गर्न असार १५ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थित शुभम फाउण्डेशनको परिसरमा बिहान ११ बजे १४औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति तथा सो समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पेश गरिनेछ । साथै सञ्चालकहरूको सेवा सुविधा पुनरावलोकन गर्ने विषयमा पनि छलफल हुनेछ । यसैगरी गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ । त्यस्तै आगामी कार्यकालका लागि सञ्चालक समिति चयन गर्ने विषयमा पनि निर्णय हुने बैंकले जनाएको छ।

धितो र गैर बैंकिङ सम्पत्ति मूल्याङ्कनका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो भ्यालुएटर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाममा धितो पारित हुने चल तथा अचल सम्पत्ति, मेशिनरी र गैर–बैंकिङ सम्पत्तिको मूल्याङ्कन कार्यका लागि मूल्याङ्कनकर्ता (भ्यालुएटर) सूचीकृत गर्न आवेदन आह्वान गरेको छ । बैंकको कर्जा प्रशासन विभागका अनुसार विभिन्न शाखाबाट प्रवाह हुने कर्जा सुविधाअन्तर्गत धितो सुरक्षणका रूपमा रहने सम्पत्ति तथा मेशिनरीको मूल्याङ्कन गर्न योग्य ओभरसियर, इन्जिनियर, इन्जिनियरिङ कन्सल्टेन्सी फर्म तथा कम्पनीहरूबाट आवेदन माग गरिएको हो । धितो मूल्याङ्कन कार्यविधि, २०७७ (संशोधनसहित) अनुसार योग्यता पुगेका र अयोग्य घोषित नभएका व्यक्तिहरू तथा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । आवेदन बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा प्रशासन विभाग तथा देशभर रहेका प्रादेशिक कार्यालयहरूमा बुझाउन सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार यसअघि सूचीकृत भई सम्झौताको म्याद सकिएको तीन महिना नाघेका मूल्याङ्कनकर्ताको सम्झौता नवीकरण नहुने भएकाले उनीहरूले समेत नयाँ प्रक्रियाअन्तर्गत पुनः आवेदन दिएर सूचीकृत हुनुपर्नेछ ।