ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी बने निफ्राको अध्यक्ष, बाहिरिए अनुज अग्रवाल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले रेग्मीलाई अध्यक्ष चयन गरेको हो । रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालकका रूपमा कार्यरत थिए । यसअघि अध्यक्ष रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएपछि रेग्मीले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । अग्रवाल विशाल ग्रुपको प्रतिनिधित्व गर्दै संस्थापक समूहका तर्फबाट निफ्राको सञ्चालक बनेका थिए । तर, विशाल ग्रुपले उनको स्थानमा दीपक कुमार अग्रवाललाई सञ्चालकका रूपमा मनोनयन गरेपछि अनुज अग्रवालले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
शोधनान्तर स्थिति साढे ८ खर्बले बचतमा, चालु खाता ७.२९ खर्ब रुपैयाँ
काठमाडौं । शोधनान्तर स्थिति साढे ८ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । जबकि २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा २४ अर्ब १९ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । २०८३ वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत पुगेको छ । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।