नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् । विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए । यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ । बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ । यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ । निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे । निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा उत्कृष्ट प्रदर्शन गर्दै ‘द बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ । बैंकले ‘बेस्ट एआईरएमएल इम्प्लिमेन्टेसन’ विधामा समेत उत्कृष्ट अवार्ड जित्नुका साथै ‘बेस्ट एमएसएमई एण्ड एक्सेलेरेसन’ विधामा रनरअप बन्न सफल भएको हो । इण्डियन च्याम्बर अफ कमर्शले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए । यसअघि सन् २०२४ मा सम्पन्न दोस्रो संस्करणमा पनि बैंकले बेस्ट एसेट म्यानेजमेन्ट विधामा रनरअप अवार्ड प्राप्त गरेको थियो । हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एयरपोर्ट लाउन्ज, रेस्टुरेन्ट तथा ट्राङ्क्विलिटी स्पामा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । ग्राहकले यो सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।