कुमारी बैंकलाई ‘फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम सम्मान

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बिजनेस मोडेल इनोभेसन’ विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै उक्त सम्मान प्राप्त गरेको जनाएको छ । ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनका लागि बैंकलाई अवार्ड प्रदान गरिएको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण प्रयासलाई सम्मान गर्दै आएको छ । यस वर्ष विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेकोमा कुमारी बैंकले आफ्नो केवाईसी प्रणालीमार्फत उल्लेखनीय प्रदर्शन गर्दै प्लेटिनम अवार्ड जित्न सफल भएको हो । बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको पालना गर्न सहयोग पुर्‍याएको छ । साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ । आगामी दिनमा पनि डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।

कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । साथै, दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।   

प्रहरी सेवामा सुधार ल्याउन मुक्तिनाथ बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीलाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ, बाँकेको साईगाउँ प्रहरी चौकी तथा झापाको काँकरभिट्टा स्थित जिल्ला प्रहरी कार्यालयलाई कम्प्युटर, फर्निचर लगायत कार्यालय सामग्री हस्तान्तरण गरेको जनाएको छ । त्यसैगरी ट्राफिक व्यवस्थापनलाई सहज बनाउन बर्दियाको गुलरिया स्थित ट्राफिक प्रहरी कार्यालयलाई रोड डिभाइडर तथा सचेतनामूलक बोर्ड समेत प्रदान गरिएको बैंकले जनाएको छ। उक्त सहयोगले प्रहरीको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिने यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि दिगो विकास र समुदाय सशक्तीकरणका लागि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।