ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा भदौ १८ गते प्रभु बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टतर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कॉर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवासहितका शाखामार्फत प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटेल तथा रिसोर्टका सेवा–सुविधा विशेष छुटसहित प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटेल तथा रिसोर्टको सेवा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य इलेक्ट्रोनिक भुक्तानी प्रणाली प्रयोग गर्नुपर्नेछ । यसमार्फत आवास सेवामा विशेष संस्थागत छुट प्राप्त गर्न सकिनेछ भने खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ । यसअघिका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले भने राजीनामा दिएका छन् ।
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी
काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरूलाई थप सुविधा उपलब्ध गराउन बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । साझेदारीअनुसार एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे मा खानेकुरामा, बेकरीका सबै सामानमा र स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट सुविधा पाउनेछन् । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।