नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन कोषले गर्नेछ । कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्नेछ । यसैगरी, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जित ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियमअनुसार उपलब्ध हुने उल्लेख गरिएको छ । सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम तथा बहाल रहेका कर्जा समेत कोषमा रकमान्तर गरी समायोजन गरिने व्यवस्था गरिएको छ ।

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा सम्पन्न भएको छ । बुधबार नारायणहिटी पथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको छ । यसैगरी, सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन् । निर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र विज्ञ रहेको बैंकले जनाएको छ । उनीहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसायका क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन् । बैंकले पूँजी आधार मजबुत बनाउँदै जोखिम वहन क्षमता वृद्धि र व्यवसाय विस्तारलाई तीव्रता दिन यस्तो निर्णय गरिएको जनाएको छ ।

गभर्नर पौडेलको दस्तखत रहेका ५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते)देखि ५ सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको उक्त नयाँ नोट साविककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका संकेत नम्बर भएका नोटहरू चलनचल्तीमा ल्याइएका हुन् । प्रत्येक अक्षर समूहमा ०००००१ देखि ९९९९९९ सम्मका नोट रहने व्यवस्था अनुसार करिब ३० लाख थान नयाँ ५०० रुपैयाँ नोट बजारमा आएको राष्ट्र बैंकले जनाएको छ । यसअघि २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका ५०० रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याइएको थियो । नयाँ नोटका विशेषता नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा सिरिज नम्बर २०८२ उल्लेख गरिएको छ । दृष्टिविहीनहरूले स्पर्श गरेर पहिचान गर्न सक्ने गरी पानी छापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र ढल्काउँदा र सीधा हेर्दा रंग परिवर्तन हुने कुबेरको चित्र राखिएको छ । नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो रहेको छ, जसले सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिन्छ। नोटको पछाडिको भागमा पाटे बाघको चित्रसहित नेपाली र अंग्रेजी लेखाइहरू समावेश छन् । राष्ट्र बैंकले नयाँ नोट सुरक्षा विशेषतासहित आधुनिक प्रविधिमा आधारित रहेको जनाएको छ ।