दशैं अगाडि नै माछापुच्छ्रे बैंकका सेयरधनीलाई लाभांश, असोज १० गते डाक्यो २७औं भेला
काठमाडौं । माछापुच्छ्रे बैंकले दशैं अगाडि नै सेयरधनीहरूलाई लाभांश खुवाउने भएको छ । यस वर्ष दशैं असोज १६ गते दशैं परेको छ । बैंकले दशैं अगाडि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो । लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७औं वार्षिक साधारण सभा बिहान ११ बज बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रतिसेयर १ सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई २० अर्ब रुपैयाँउने, बोनस सेयर माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हदसम्म जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंक सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा वृद्धि गर्ने र सोही बमोजिम बैंकको नियमावलीको सम्बन्धित दफाहरु संशोधन गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २७औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल र माछापुच्छे सेक्युरिटिजको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक गर्न जी.पी. राजवाहक एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त गर्ने र सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साबिक सञ्चालकलाई बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो ।
ज्योति विकास बैंकको दशैं अफर : हवाई टिकट खरिदमा ५ सय क्यासब्याक
काठमाडौं । ज्योति विकास बैंकले दशैंलक्षित अफर सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकले ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा JBBL500 प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ । पहिलो ४०० जनाले मात्र यो अफर पाउने पनि बैंकले जनाएको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।