महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष र डे केयर

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसर पारेर महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले शिशु स्याहार कक्ष तथा डे केयरको उद्घाटन गरेकी थिइन् ।

बैंकका अनुसार महिला नेतृत्व विकास, कार्यस्थलमा समान अवसर, समावेशी वातावरण प्रवर्द्धन तथा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमले यस पहललाई अघि बढाएको हो ।

बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै कर्मचारीमैत्री र परिवारमैत्री कार्यसंस्कृति निर्माणमा जोड दिँदै आएको जनाएको छ । मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याण प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धताको निरन्तरताका रूपमा यो सुविधा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

यस अवसरमा बैंकले सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति आफू सदैव प्रतिबद्ध रहने जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ ।

Share News