विदेश अध्ययन गर्ने विद्यार्थीका लागि नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा

शिक्षा कर्जा, विदेशी मुद्रा र वित्तीय परामर्श एकै स्थानबाट उपलब्ध गराइने

काठमाडौं । नबिल बैंक लिमिटेडले विदेश अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ ।

सोमबार आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा हबको उद्घाटन गरे ।

बैंकका अनुसार एजुकेशन हबबाट विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदाता संस्थालाई बैंकिङ, शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना र आवश्यक परामर्श एकै स्थानबाट उपलब्ध गराइनेछ ।

अध्यक्ष निर्वाणकुमार चौधरीले शिक्षा क्षेत्रमा गरिने लगानी राष्ट्रको भविष्यसँग जोडिएको उल्लेख गर्दै विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए । उनले आगामी दिनमा देशभरका शाखामा पनि एजुकेशन हबको अवधारणा विस्तार गरिने जानकारी दिए ।

अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले हबको सुरुवातले नेपाल र अष्ट्रेलियाबीच शिक्षामार्फत जनशक्तिमा लगानी गर्ने सहकार्यलाई थप मजबुत बनाउने बताए । उनले विद्यार्थी र अभिभावकका लागि ‘एकद्वार सेवा केन्द्र’को अवधारणालाई समयानुकूल र व्यवहारिक भन्दै प्रशंसा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलो पटक सञ्चालनमा आएको दाबी गरे । उनले विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, शिक्षा कर्जा, विदेशी मुद्रा सुविधा र वित्तीय परामर्शलाई एकीकृत रूपमा उपलब्ध गराइने बताए ।

बैंकका अनुसार एजुकेशन हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहनेछ । विद्यार्थीले अध्ययन अवधिभर कर्जा किस्ता तिर्न नपर्ने ‘मोरेटोरियम’ सुविधासहित विशेष सेवा पनि प्राप्त गर्नेछन् ।

नबिल बैंकले एजुकेशन हब शाखाको विकल्प नभई शिक्षा क्षेत्रका ग्राहकलाई छिटो, सहज र विशेषज्ञ बैंकिङ सेवा प्रदान गर्ने विशेष केन्द्रका रूपमा सञ्चालन गरिएको जनाएको छ ।

Share News