काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्सबाट ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ ।
बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान पाएको हो ।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मानले अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान अझ सुदृढ हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो ।
डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा उत्कृष्ट कार्य गरेबापत बैंकलाई यो अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।
गत वर्ष पनि बैंकले ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको थियो ।
साथै ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै गुणस्तरीय वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
हालै बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।