काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेश गरेको अवसर पारेर बुधबारदेखि बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले आम नागरिकको बैंकिङ सेवामा पहुँच बढाउने, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने तथा सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई वित्तीय सेवा लिन थप सहज हुने बैंकको विश्वास छ । साथै, स्थानीय आर्थिक गतिविधि, उद्यमशीलता र उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तारमा समेत सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।
आइएसओ ९००१:२०१५ मान्यता प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।