माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । बैंकले यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय प्रतिवेदन मापदण्डको पालना गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ । माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो । डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६ भन्दा बढी विद्यार्थीमध्ये २१ जना बाबुआमा गुमाएका तथा सीमान्तकृत विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ । बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । यस्तै, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने श्री जन जागृति माध्यमिक विद्यालयका करिब ४५० विद्यार्थीको प्रविधिमा पहुँच बढाउने उद्देश्यले बैंकले ल्यापटप, कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । आयोजित कार्यक्रममा बैंकको ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रप्रसाद नेपाल तथा प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको पठनपाठन थप प्रभावकारी हुनुका साथै गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
४५ अर्बको ऋणपत्र जारी गर्दैै राष्ट्र बैंक
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजे अनलाइनबाट हुने छ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । बैंकले जारी गर्न लागेको यो ऋणपत्र एक वर्षे अवधिको लागि हो । यसको साँवा भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।