बैंकहरूको खराब कर्जा १८ प्रतिशत बढ्यो, ५ बैंकले घटाए

काठमाडौं । बैंकहरूको खराब कर्जा औसत साढे ५ प्रतिशत पुगेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म औसत खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो दर ४.६ प्रतिशत थियो । यस आधारमा बैंकहरूको खराब कर्जा एक वर्षमा १८.१८ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा वृद्धि प्रभु बैंकमा देखिएको छ । बैंकको खराब कर्जा १२१.८२ प्रतिशतले बढेर १५.५५ प्रतिशत विन्दुमा पुगेको छ । अघिल्लो वर्ष यो ७.०१ प्रतिशत विन्दु थियो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ४३.९७ प्रतिशतले बढेर २.०३ प्रतिशत विन्दु पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खराब कर्जा ३६.३७ प्रतिशतले बढेर ८.६६ प्रतिशत विन्दु पुगेको छ । 

त्यसैगरी, सिद्धार्थ बैंकको ३४.७३ प्रतिशतले बढेर ३.५३ प्रतिशत विन्दु, एभरेस्ट बैंकको २८.९४ प्रतिशतले बढेर ०.४९ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २०.२४ प्रतिशतले बढेर ५.८८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको २०.२२ प्रतिशतले बढेर ५.२३ प्रतिशत विन्दु पुगेको छ ।

एनएमबी बैंकको खराब कर्जा १९.४६ प्रतिशतले बढेर ४.९१ प्रतिशत विन्दु पुगेको छ भने कृषि विकास बैंकको १८.३१ प्रतिशतले बढेर ४.०७ प्रतिशत विन्दु पुगेको छ । प्राइम बैंकको खराब कर्जा १५.१४ प्रतिशतले बढेर ६.६९ प्रतिशत विन्दु, कुमारी बैंकको ७.३३ प्रतिशतले बढेर ७.४६ प्रतिशत विन्दु र एनआईसी एशिया बैंकको ५.९४ प्रतिशतले बढेर ९.२६ प्रतिशत विन्दु पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.२२ प्रतिशतले बढेर ३.९५ प्रतिशत विन्दु पुगेको छ । ग्लोबल आइएमई बैंकको २.०५ प्रतिशतले बढेर ४.९६ प्रतिशत विन्दु र माछापुच्छ्रे बैंकको ०.५० प्रतिशतले बढेर ३.९८ प्रतिशत विन्दु पुगेको छ ।

यद्यपि, अधिकांश बैंकहरूको खराब कर्जा बढेका बेला पाँच बैंकले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । नेपाल एसबीआई बैंकको खराब कर्जा १२.८३ प्रतिशतले घटेर २.९२ प्रतिशत विन्दुमा झरेको छ ।

नेपाल बैंकको ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत विन्दु, नबिल बैंकको ६.२५ प्रतिशतले घटेर ४.२ प्रतिशत विन्दु, सानिमा बैंकको ४.६ प्रतिशतले घटेर २.८७ प्रतिशत विन्दु र हिमालयन बैंकको ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशत विन्दुमा सीमित भएको छ ।

null

Share News