दसैँ, तिहार र छठमा दैनिक ४० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सीमा बढाएको छ । भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले जानकारी दिए ।  उनका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ । तर, चाडपर्वका अवसरमा एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उनले बताए ।  ‘बडा दसैँको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, शुभ दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ,’ भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  उक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन परिपत्र जारी गरिएको छ । 

एनआईएमबि र एनभीएबीच ७ बुँदे सहमति, बैंकर्स संघसँगको सर्भिस ड्राफ्ट लागू

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले धितो मूल्याङ्कनकर्तालाई कारबाहीका लागि गरेको सिफारिस फिर्ता लिन सहमत भएपछि मूल्याङ्कनकर्ताहरुले आन्दोलन फिर्ता लिएका छन् । एनआईएमबिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योती प्रकाश पाण्डे र नेपाल भ्यालुयर्स एसोसिएशन (एनभीए)का अध्यक्ष ई.सञ्जय कुमार महतोले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेसँगै बैंकविरुद्धको आन्दोलन फिर्ता लिएका हुन् ।  कर्जा प्रवाहमा धितो मूल्याङ्कन गर्दा कैफियत भेट्दा मूल्याङ्कनकर्तालाई कारबाही गरेपछि गत साउनदेखि मूल्याङ्कनकर्ताहरुले बैंक विरुद्ध आन्दोलन गर्दै आएका थिए । तर, बैंकले अब उपारान्त कुनै पनि मूल्याङ्कनकर्तालाई कालोसूची लगायतका कारवाही गर्नु अघि एनभीएसँग प्रयाप्त रुपमा छलफल र सूक्ष्म अनुसन्धान गर्ने सहमति गरेपछि मूल्याङ्कनकर्ताहरुले आन्दोलन फिर्ता लिएको एनभीएका सचिव ईं रबिन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार यस अघिका विभिन्न कारबाहीका सिफारिस आजैबाट खारेज गर्ने सहमति भएको छ । तर, यस सहमतिले कानुनी प्रक्रियाद्वारा निचोडमा पुगिसकेका कारबाहीलाई भने असर नगर्ने सहमति पत्रमा उल्लेख छ ।  एनआईएमबि र एनभीएले नेपाल बैंकर्स संघसँग गरेको सर्भिस ड्राफ्ट आजकै मितिदेखि लागू गर्ने सहमति भएको छ । मूल्याङ्कनकर्ताको काम र अधिकार एनआईएमबिको सर्भिस ड्राफ्टको एनेक्समा उल्लेख अनुसार हुने एनभीएका सचिव अधिकारीले जानकारी दिए ।  एनआइएमबिले कात्तिक मसान्तभित्र नयाँ मूल्याङ्कनकर्ता नियुक्ति गर्न सार्वजनिक सूचना जारी गर्नेछ । नियुक्तिको लागि योग्यता र अनुभव तोक्न बैंक स्वतन्त्र छ भने एनभीएएले त्यसमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको सचिव अधिकारीले बताए ।  'अहिले मूल्याङ्कनकर्ताको रुपमा रहेका र भविष्यमा नरहन सक्ने मूल्याङ्कनकर्ताले सूचीकृत हुँदा राखेको रकम मुद्दती अवधि सकिनासाथ फिर्ता लिन सक्नेछन् । भविष्यमा मूल्याङ्कनकर्ता नरहेपनि बैंकले ती मूल्याङ्कनकर्तालाई गर्ने व्यवहार सहमतिको २ नम्बर बुँदा बमोजिम हुनेछ,’ उनले भने । उनका अनुसार एनभीए र एनआइएमबि बैंकबिच सहमति भए बमोजिमको मूल्याङ्कन, परामर्श शुल्क तत्काल लागू हुनेछ भने ठूला परियोजनाहरुको शुल्क मूल्याङ्कनकर्ता र ऋणीको आपसी सहमतिमा तय हुनेछ । त्यसमा बैंकले समन्वय पूर्ण भूमिका खेल्नेछ । तर, समय सापेक्ष दुवै पक्षको सहमतिमा भविष्यमा मूल्याङ्कन शुल्क परिवर्तन गर्न दुवै पक्ष सहमत छन् । मूल्याङ्कनकर्ताको काम कर्तव्य र अधिकार बैंकर्स संघसँगको सम्झौता अनुसार हुनेछ भने बैंक को हित चिताइ काम गर्नु मूल्याङ्कनकर्ताको उत्तरदाहित्व रहनेछ । एनभीएले विभिन्न माग राखी एनआइएमबिविरुद्ध यसअघि घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट फिर्ता लिनेछ ।

माछापुच्छ्रे बैंकको ८ प्रतिशत लाभांश पारित, दसैँ अगाडि नै सेयरधनीको खातामा जम्मा गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक दसैँ अगाडि नै सेयरधनीहरूलाई लाभांश खुवाउन सफल भएको छ । शुक्रबार पोखरामा सम्पन्न २७औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेसँगै सेयरधनीहरुलाई दसैँ अगाडि नै प्रतिफल वितरण गर्न सफल भएको हो । साथै, यस वर्ष सबैभन्दा पहिले वार्षिक साधारण सभा आयोजना गर्ने बैंक समेत बनेको छ ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।  बैंकले नगद लाभांश दसैँ अगाडि नै सम्बन्धित सेयरधनीहरूको खातामा जम्मा गर्ने जनाएको छ । साथै बैंकको बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।