चितवनमा मालपोत र नापी कार्यालयलाई बैंकहरुको सामूहिक सहयोग
काठमाडौं । चितवन जिल्लामा रहेको मालपोत कार्यालय र नापी कार्यालय, भरतपुरलाई कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्ची बैंकहरुले संयुक्तरुपमा हस्तान्तरण गरेका छन् । आइतबार भएको कार्यक्रममा प्रभुबैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड र सिन्धुविकास बैंक लिमिटेडका प्रतिनिधिहरु, मालपोत कार्यालयका प्रमुख रमेश प्रसाद गौतम र नापी कार्यालयका प्रमुख श्रीधन ढुंगानासहित उपस्थित थिए । प्रभुबैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठका अनुसार जेनजि आन्दोलनको दौरान सो कार्यालयहरुमा क्षति पुगेको र सेवा प्रभावित भएको थियो । बैंकहरुको यस सामूहिक पहलले कार्यालय सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा गर्यो १ करोड रुपैयाँ सहयोग
काठमाडौं । आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षति पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत प्रदान गरिएको हो ।
मुक्तिनाथ वाणिज्य बैंक बन्ने, चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ
काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने भएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैंकको बोनस सेयर वितरण र अग्राधिकार सेयर जारी पश्चात् चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्ने भएपछि वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको हो । बैंकको कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ भने गत वर्ष पारित भएको १ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुग्नेछ । पुँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।