एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन सेवा

घरबाटै कर्जाका लागि आवेदन दिन र स्वीकृतिको अवस्था अनलाइनमै हेर्न सकिने

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा आवेदन र ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवासँगै कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ ।

बैंकका अनुसार नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थानबाट कर्जाका लागि आवेदन दिन सक्नेछन् । आवेदन पेश गरेपछि आफ्नो कर्जा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी पनि ‘रियल–टाइम’ मा ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ ।

एनएमबि बैंकले यस सेवाले बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटाउने विश्वास व्यक्त गरेको छ । साथै कर्जा स्वीकृतिको समय घट्नुका साथै सम्पूर्ण प्रक्रिया थप पारदर्शी, सरल र वातावरणमैत्री हुने बैंकको दाबी छ । 

यसरी दिन सकिन्छ अनलाइन कर्जा आवेदन

ग्राहकले बैंकको डिजिटल पोर्टलमा लगइन गरी लोन सर्भिसमा गएर एक्सपोलर प्रोटक्स विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि आवश्यक कर्जा शीर्षक चयन गरी विवरण भरेर आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

आवेदन पेश गरेपछि ग्राहकले तुरुन्तै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन् । सोही आईडी प्रयोग गरेर कर्जा आवेदनको अवस्था अनलाइनमै हेर्न सकिनेछ ।

बैंकका अनुसार यो सेवा नेपालमा आधुनिक र कागजरहित बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । कर्जा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै ग्राहकको समय बचत गर्न र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्न बैंक प्रतिबद्ध रहेको जनाएको छ ।

हाल एनएमबि बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News