राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणसँगै उनले पदबहालीसमेत गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।

कार्यकारी निर्देशकमा पदोन्नतिपछि रावलले बैंकको सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।

Share News