काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यहरूको कार्यकाल अब ३ वर्ष कायम गरिने भएको छ ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथि भएको दफावार छलफलका क्रममा उक्त पदावधि ३ वर्ष बनाउने सहमति जुटेको हो ।
संसदीय अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार हाल गभर्नर र सञ्चालकहरूको कार्यकाल ५ वर्षको रहँदै आएकोमा नयाँ बन्ने ऐनमा त्यसलाई घटाएर ३ वर्षमा सीमित गर्ने निर्णय गरिएको छ ।
यसैगरी, डेपुटी गभर्नर र सञ्चालकहरूको प्रारम्भिक पदावधि ३ वर्षको हुनेछ भने उनीहरूको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक देखिएमा नेपाल सरकारले २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकमा राख्ने सहमति भएको छ ।
यस ऐन संशोधन विधेयकमाथिको दफावार छलफललाई समितिले निरन्तरता दिने भएको छ ।