राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो १४२ जनाका लागि जागिर, कुन पदका लागि कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो । बैंकका अनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना माग गरिएको छ । छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहका लागि भर्ना खुलाइएको छ । त्यसैगरी, पाँचौं तहको वरिष्ठ सहायक पदअन्तर्गत प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी माग गरिएको बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ । आवेदन दिने उम्मेदवारले तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । यदि शैक्षिक योग्यता नेपालबाहिरको संस्थाबाट हासिल गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ । नेपाल सरकार वा सरकारी स्वामित्वका संस्थामा कार्यरत उम्मेदवारले विभागीय स्वीकृति पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा मागभन्दा कम आवेदन परेपछि असार ३० गतेसम्म आवेदन दिने समय लम्बिएको हो । बैंकका अनुसार यदि मागभन्दा बढी आवेदन परेपछि असरा ३० गते अगाडि पनि बिक्री बन्द गरिनेछ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सानिमा बैंकले सातै प्रदेशमा सञ्चालन गर्‍यो मातृ स्वास्थ्य र पोषण अभियान

काठमाडौं । सानिमा बैंकले सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी स्वास्थ्य शिविर र पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले दुर्गम तथा पहुँचबाहिर रहेका समुदायका गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत करिब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलाले प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा सहभागी महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्शसमेत प्रदान गरिएको बैंकले जनाएको छ । यस्तै, सहभागी प्रत्येक महिलालाई तीन महिनासम्म पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्री पनि वितरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार गर्भावस्था र सुत्केरी अवस्थाका महिलामा देखिने कुपोषण, रक्तअल्पता (एनिमिया) लगायत स्वास्थ्य समस्याको न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । सानिमा बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा मानवीय सेवासम्बन्धी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।