कामना सेवाले मेची आँखा अस्पताललाई दियो वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन
काठमाडौं । कामना सेवा विकास बैंकले बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अस्पतालमा सेवा लिन आउने बिरामी र उनीहरूको आफन्तलाई लक्षित गरी उपलब्ध गराइएका यी सामग्रीले विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीलाई उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ । वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले अस्पतालका तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गर्दै यस्तो परोपकारी कार्यले स्वास्थ्य सेवामा पहुँच र सुविधा बढाउने बताएका छन् ।
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा १५ अर्बको वित्तीय व्यवस्था, दुधकोशी–२ जलविद्युत आयोजना अघि बढ्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहने बताइएको छ । यसमध्ये ७० प्रतिशत रकम सहवित्तीयकरणमा सहभागी बैंकहरूले लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम संस्थापक लगानीकर्ताहरूले जुटाउनेछन् । सहवित्तीयकरणमा लक्ष्मी सनराइन बैंक अग्रणी बैंकको रुपमा छ भने एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन् । कुल परियोजना वित्त १० अर्ब ५० करोड रहने छ । दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोज ७ गते विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति र २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ । परियोजनाका प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लि, कदम केसी, किरण मल्ल, श्रीमती अभिज्ञा मल्ल,विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा। हिमाल भट्टराई र विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् । आयोजना २०२९ जुलाई भित्र निर्माण सम्पन्न हुने लक्ष्य छ । उत्पादन सुरु भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुने र यो आयोजना देशकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्ने अपेक्षा गरिएको छ । सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त यो आयोजना नेपालको स्वच्छ ऊर्जा उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
२ अर्ब ७१ करोड लगानी गर्दै राष्ट्र बैंक, बैंकलाई ब्याजदर प्रस्ताव गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख, विकास बैंकमा ४० करोड ७७ लाख र वित्त कम्पनीमा १३ करोड ५९ लाख मुद्दती निक्षेपमा लगानी गरिने छ । १४ अक्टोबर २०२५ देखि १४ अक्टोबर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने सर्त राष्ट्र बैंकको छ । त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ । त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दती राख्न चाहने बैंक वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ ।