इन्भेष्टमेन्ट बैंकको एफपीओमा ४७ अर्बको आवेदन, सच्याउने नाममा आईतबार पनि नयाँ आवेदन, धितोपत्र बोर्डले बैठक डाक्यो
काठमाडौं, १७ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर (एफपीओ)का लागि आईतबार पनि आवेदन परेको छ । सेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार कार्यालय सयमपछि आवेदन लिन बन्द गर्ने जनाएको थियो । तर आईतबार पनि थप आवेदन संकलन केन्द्रहरुले बुझेको आरोप लागेको छ । शुक्रबार बुझाएको आवेदनमा गल्ती भएकोले सच्याउने नाममा आइतबार संकलन केन्द्रमा नयाँ आवेदन बुझाउने र लिने काम भएको म्यादभित्र आवेदन बुझाउनेहरुको आरोप छ । तथ्याङकले पनि आइतबार नयाँ आवेदन बुझाउने र स्वीकार गर्ने काम भएको पुष्टि गरेको छ । शुक्रबार साँझ कुरा गर्दै कोषका प्रबक्ता सुशील कुमार अर्यालले करिव २ लाख आवेदकबाट ३५ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको बताएका थिए । तर सोमबार विकासन्यूजसँगको कुराकानीमा ४७ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परको उनले बताए । ‘शुक्रबार हतारमा हिसाव निकालेका थियौं, करिव ३५ अर्ब ५० करोड रुपैयाँ संकलन भएको विवरण आएको थियो । आईतबार बेलुकासम्ममा हिसाव गर्दा ४७ अर्ब रुपैयाँभन्दा बढीको आवदेन परेको देखियो’–उनले भने । आवदेन संख्या पनि शुक्रबार साँझ र आईतबार साँझ ३० हजार फरक परेको छ । शुक्रबारसम्म करिब २ लाख व्यक्ति तथा फर्मले सेयर आवेदन बुझाएको उनले जानकारी दिएका थिए । तर आईतबार साँझसम्म आवेदन बुझाउनेको संख्या पनि २ लाख ३० हजार पुगेको बिक्री प्रबन्धक कोषले बताएको छ । अर्यालले आईतबार नयाँ आवेदन फारम भने नलिएको बताए । ‘भन्न त मान्छेले भित्रभित्र बोराका बोरा पैसा बुझाए भन्छन् । त्यो सब गलत हो’ उनले भने– बैंक एकाउन्ट भएको, फोटो भएको, नागरिकता, जन्मदर्ता लगायत प्रमाणपत्र अनिवार्य भएपछि बोराका बोरा पैसा हाल्न मिल्दैन । हजुवाको भरमा मान्छेहरु जे पनि बोल्छन् ।’ एउटै परिवारबाट ६÷७ करोड रुपैयाँसम्मको सेयर माग भएकोले कुल रकम बढी हुन आएको उनले बताए । यसैबीच नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा प्रवद्र्धकहरुको आवेदन रद्द गराउने उदेश्यले सोमबार सो बैंक, बिक्री प्रबन्धक र आटीएसलाई सोमबार बैठक बोलाएको छ । प्रवद्र्धकले एफपीओमा आवेदन गर्न नपाउने भनेर धितोपत्र बोर्डले फागुन १३ गते साढे १ बजे सूचना जारी गरेको थियो । तर त्यसअघि नै प्रवद्र्धकले आवेदनसहित पैसा बुझाईसकेको दावी गर्दै सूचना जारी गर्नुपूर्व आवेदन बुझाउनेलाई सेयर बाँडफाँडमा सहभागी गराउनु पर्ने माग गर्दै धितोपत्र बोर्ड, बैंक, बिक्री प्रबन्धकलाई दवाव दिदै आएका छन् ।
राजेन्द्र खेतानले लक्ष्मी बैंक छाडे, सञ्चालक नै आश्चर्यमा
काठमाडौं, १६ फागुन । उद्यमी राजेन्द्र खेतान लक्ष्मी बैंकबाट बाहिरिएका छन् । बैंकमा उनी दुई कार्यकाल अर्थात ८ वर्षसम्म अध्यक्ष भएका थिए । सन् २००२ मा स्थापना भएको यस बैंकमा पहिलो ६ वर्ष राजेन्द्र खेतानको बुवा स्वर्गिय मोहन गोपाल खेतान अध्यक्ष थिए । लक्ष्मी बैंकमा खेतान परिवारको प्रत्यक्ष अप्रत्यक्ष करिव ३० प्रतिशत सेयर लगानी छ । शम्भुप्रसाद आचार्य १४ वर्षको इतिहासमा यो बैंकमा पहिलो पटक खेतान परिवारभन्दा वाहिरको व्यक्ति नेतृत्वमा पुगेका छन् । फागुन १४ गतेको सञ्चालक समितिले बैंकको अध्यक्षमा शम्भुप्रसाद आचार्यलाई चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुधेश खालिङले बताए । सञ्चालकद्धय खेतान र रतनलाल संघाईको कार्यकाल सकिएपछि सञ्चालक समितिले सर्वसहमतिमा आचार्यलाई अध्यक्षमा चयन गरेको उनले बताए । तर बैंकका एक सञ्चालकले अध्यक्ष परिवर्तन भएको औपचारिक जानकारी नभएको बताए । ‘शुक्रबार बसेको बैठकमा अध्यक्षज्यूले मेरो कार्यकाल सकिदै भन्ने जानकारी दिनु भएको थियो । शम्भुप्रसाद आचार्यलाई अध्यक्षमा प्रस्ताव पनि गर्नु भएको थियो । निर्णय नै भईसकेछ ?’ उनले आश्चर्य जनाउँदै विकासन्युजसँग जिज्ञासा राखे । राजेन्द्र खेतान खेतानको वहिरगमनलाई धेरैले आश्चर्य जनक रुपमा लिएका छन् । हाल तीन अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले ठूलो मात्रामा हकप्रद सेयर जारी गरेर पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरिरहेको समयमा सबैभन्दा ठूलो प्रवद्र्धक बोर्डबाट वाहिरिनुलाई साधारण सेयरधनीहरुले पनि अस्वभाविक रुपमा लिएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरु बढीका दुई कार्यकाल मात्र बस्न पाउने गरी जारी गरेको निर्देशनको पालना गर्दै खेताल सञ्चालक समितिबाट वाहिरीएको प्रमुख कार्यकारी अधिकृत खालिङले बताए । जानकारहरुका अनुसार खेतानले हाल विदेशमा लगानी विस्तार गर्दै आएका छन् र उनी अधिकांश समय विदेशमा नै बस्दै आएका छन् । विदेशमा गरिएको लगानी र व्यवसाय प्रवद्र्धनमा खेतानको ध्यान केन्द्रीत भएको र उनी बैंक र बीमा दुवै कम्पनीको सञ्चालक समितिबाट वाहिरीएका जानकारहरु बताउँछन् । खेतान आफैले यसबारे प्रतिक्रिया दिन चाहेनन् । अध्यक्षमा चयन भएका आचार्य राष्ट्र बैंकबाट अवकाश पाएका पुराना बैंकर्स हुन् । राष्ट्र बैंकबाट अबकाश पाएपछि उनी लक्ष्मी बैंकमा आवद्ध छन् । उनी विज्ञ सञ्चालकको रुपमा बोर्डमा नियुक्त भएका थिए ।
बैंकको खुद नाफा र कर्मचारी खर्च अनुपातः सवैभन्दा बढी उत्पादकत्व प्राइमको, सवैभन्दा कम कृषि विकासको
काठमाडौं, ९ फागुन । कर्मचारीको लागि सवैभन्दा कम रकम खर्च गरेर बढी खुद नाफा गर्ने बाणिज्य बैंकहरुमा प्राइम कमर्शियल बैंक अगाडि देखिएको छ । सवैभन्दा बढी रकम कर्मचारीको लागि खर्च गरेर कम खुद नाफा गर्ने बैंकमा भने कृषि विकास बैंक परेको छ । बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले कर्मचारी खर्चको ५ गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्मा ४६ करोड ९२ लाख खुद नाफा गरेकोमा ८ करोड ५९ लाख ८४ हजार रुपैयाँ मात्रै कर्मचारी खर्च गरेको छ । बैंकले गरेको खुद नाफा कर्मचारी खर्चको तुलनामा ५ दशमलब ४६ प्रतिशतले बढी हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा कर्मचारी खर्च भन्दा निकै कम नाफा गर्ने बाणिज्य बैंकमा कृषि विकास बैंक परेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि भने १ अर्ब ३१ करोड १ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा कर्मचारी खर्चको ४ गुणाभन्दा बढी छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेकोमा सो अवधिसम्ममा २४ करोड ३० लाख ४७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । इन्भेष्टमेन्ट बैंकले कर्मचारी खर्चभन्दा ४ दशमलब ४४ गुणा बढी खुद नाफा गरेको हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा नविल बैंकले कर्मचारी खर्चको तीन गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्ममा बैंकले कर्मचारीको लागि ४० करोड ६४ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । नविलले कर्मचारीको लागि गरेको खर्चभन्दा सो बैंकले गरेको खुद नाफा ३ दशमलब ३३ गुणाले बढी हो । यस्तै सानिमा बैंकले पनि कर्मचारी खर्चको भन्दा तीन गुणा बढी खुद नाफा गरेको छ । बैंकले गत पुस मसान्तसम्ममा ४० करोड ८० लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि १२ करोड ५० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ । सानिमाले गरेको खुद नाफा कर्मचारी खर्चभन्दा ३ दशमलब २६ गुणाले बढी हो । सिद्धार्थ बैंकले कर्मचारी खर्चको २ दशमलब ७५ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ४९ करोड २८ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने कर्मचारीको लागि १७ करोड ९४ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले कर्मचारी खर्चको २ दशमलब ६८ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ६१ करोड २० लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ भने कर्मचारीको लागि २२ करोड ७९ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै सेन्चुरी कमर्शियल बैंकले कर्मचारी खर्च भन्दा खुद नाफा १ दशमलब ५२ गुणाले बढी गरेको छ । गत पुुस मसान्तसम्ममा सो बैंकले १६ करोड ७ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १० करोड ६० लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारी खर्चभन्दा २ दशमलब ८९ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ४१ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १४ करोड ५० लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै एभरेष्ट बैंकले कर्मचारी खर्चको २ दशमलब ३६ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ७५ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि ३१ करोड ९५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ ।