निष्क्रिय कर्जा ४५ अर्ब, ऋण असुली न्यायधिकारणमा ४३ अर्बको दावी, कसरी घटाउन सकिन्छ बैकिङ जोखिम ?

काठमाडौं, १६ बैशाख । बैंकिङ्ग क्षेत्रमा जोखिमका घटनाहरु बढ्दै गइरहेको पाइएको छ । विगतमा विरलै देखिने सञ्चालन जोखिमका समाचारहरु आजकाल झण्डै दैनिकजसो पत्रपत्रिका तथा अन्यसंचार माध्यमहरुबाट बाहिर आई रहेको देखिएको छ ।  व्यवसाय विस्तार, व्यापार विविधिकरण, सेवा तथा सुविधाहरुको बृद्धि, प्रविधिमा भर पर्नुपर्ने बाध्यता, अस्वस्थ्य प्रतिस्पर्धा आदि कारणले गर्दा जोखिम बृद्धि हुँदै गएको अनुभव गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा करिव ४५ अर्ब रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु ऋण असुली न्यायाधिकरणको स्थापनासँगै करिब ४३ अर्व रुपैयाँ दावी गरी करिव २ हजार आठ सय मुद्दाहरु दर्ता भई सकेका छन् । ११ वटा संस्थाहरु समस्याग्रस्त छन् भने ४ वटा संस्था त खारेजीमा नै गइसकेको छ । यी कुराहरुलाई मध्येनजर गरेर नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (इनबीआई)ले यही २०७३ बैशाख २२ गते राष्ट्रियस्तरको “जोखिम व्यवास्थापन सम्मेलन २०१६” को आयोजना गर्दैछ । यो सम्मेलनको प्रमुख उद्देश्य यस क्षेत्रमा देखा परेका विभिन्न किसिमका जोखिमहरुको समाधान गर्ने तरिकाहरु आदान प्रदान गर्नु रहेको एनबीआईले जनाएको छ । यस सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी, स्ट्याण्डर्ड चार्टर्ड बैंक भारतमा सञ्चालन जोखिम प्रमुखका रुपमा काम गर्दै आएका उदय भाष्कर भेमुरी तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले प्रमुख वक्ताका रुपमा प्रस्तुतिकरण दिने कार्यक्रम रहेको छ । यसका अतिरिक्त नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी र नेपाल एस.बि.आई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले नेतृत्व र सहजीकरण गर्ने गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख जोखिम अधिकृत गोपी भण्डारी, एभरेष्ट बैंकका नायव महाप्रवन्धक राजेश गौतम, एन.आई.सी. एशिया बैंकका कार्यवाहक प्रमुखकार्यकारी अधिकृत लक्ष्मण रिसाल र तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई सम्मिलित छुट्टा छुट्टै प्यानल डिष्कसन गरी जोखिम व्यवस्थापन रणनीति तयार गर्नका लागि निचोड निकाल्ने कार्यक्रम रहेको एनबीआईले जनाएको छ ।

नेपाल बैंकले १० लाख ३१ हजार कित्ता सेयर बेच्दै

काठमाडौं, १५ बैशाख । नेपाल बैंक लिमिटेडले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्रि गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै १० लाख ३१ हजार ६ सय ७४ कित्ता सेयर खरिदका लागि आव्हान गरेको हो । प्रति कित्ता न्युनतम ४ सयबाट बोलकबोलका आधारमा आवेदन भर्न सकिनेछ । आवेदकले न्युनतम १०० कित्तादेखि अधिकतम ४ लाख  २१ हजार ४ सय १० कित्ताका लागि शिलबन्दी गरि आवेदन दिन सक्नेछन् । १० लाख मुल्यसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा प्यान नम्बर उल्लख गर्नु पर्नेछ भने सो भन्दा बढिको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नु पर्नेछ । बैशाख १५ गतेबाट आवेदन खुल्ला गरिएको छ भने जेठ ४ गते आवेदन दिने अन्तिम म्याद तोकिएको छ । जेष्ठ ५ गते सेयर बाँडफाँट हुनेछ । बैंकले बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । आवेदकले सिद्धार्थ क्यापिटल लिमिटेडको खाता नम्बर ००११५२०७२८१ मा रकम जम्मा गर्नु पर्नेछ । भुक्तानीका लागि भने गुड फर पेपेन्ट चेक अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने विकल्पका रुपमा नेपाल बैंकले नेपाल इन्स्योरेन्समा रहेको आफ्नो संस्थापक सेयर बेच्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको ६१ औं बर्षगाँठः गभर्नर भन्छन–असहजता चिर्दै आत्मनिर्भरताको बाटोमा

काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भूकम्प र भारतीय नाका बन्दी जस्ता असहजतालाई चिर्दै नेपाली अर्थतन्त्र आत्मनिर्भरताको बाटोमा अघि बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६१ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले असाधारण बर्षलाई चिर्र्दै आफ्नै खुट्टामा उभिने प्रयास गरिएको बताएका हुन् । केन्द्रिय बैंकको अथक प्रयासले अर्थतन्त्रलाई ऋणात्मक हुनबाट जोगाउनुका साथै असहज परिस्थितिमा समेत सेवाग्राहीलाई सरल सेवा प्रवाह गरेको उनले बताए । कस्तो छ वित्तिय परिसूचक राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको बैशाख १० गतेसम्ममा जम्मा ३५ अर्ब ७१ करोड मात्रै पूँजीगत खर्च भएको छ । जुन विनियोजित बजेटको १७ दशमलब १ मात्रै भएको छ । मर्जरले घटायो संख्या बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली २०६८ कार्यान्वयनमा  आएपछि ८९ वटा बैंक तथा वित्तिय संस्था मर्जर भएर ३६ वटामा संस्था बनेका छन् । मुद्रा व्यवस्थापन राष्ट्र बैंकले तीन बर्ष तीन महिनासम्मका पुग्ने नोट स्टक राख्ने प्रक्रिया समेत सुरु गरिसकेको जनाएको छ । अन्तराष्ट्रिय सम्बन्ध विस्तार भूकम्पपछि राष्ट्र बैंकले पारस्परिकताको आधारमा सहयोग तथा सुपरिवेक्षकिय  सूचनाहरु आदान प्रदान  गर्न भारतीय रिजर्भ बैंक र चीनको बैंकिङ नियमनकारी निकाय चाइना बैंकिङ रेगुरलेटरी कमिसनसँग सम्झौता सम्पन्न भएको जनाएको छ । पुर्व गभर्नरलाई सम्मान समारोहमा राष्ट्र बैंकका प्रथम गभर्नर हिमायलय सम्शेर जबरादेखि हालसम्मका सम्पुर्ण गभर्नरहरुलाई सम्मान गरेको छ । उनीहरुलाई नेपालको वित्तिय स्थायीत्व कायम गराउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बैंकले जनाएको छ ।