कसमस डेभलपमेन्ट बैंकको खुद नाफा एक करोड ५३ लाख रुपैयाँ
काठमाडौं, ६ साउन । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७२/०७३ मा करिब एक करोड ५४ लाख ७ हजार १८२ रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधि सम्ममा बैंकले २ करोड ४२ लाख ९ हजार रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरेद्धारा बैंकको आर्थिक प्रगति विवरण र बैंकले गरेका बैंकिङ्ग सेवाको समिक्षा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बैंकको खुद नाफा प्रति शेयर आम्दानीको हिसाबले करिब ३१ प्रतिशत हुने कार्यकारी अधिकृत घिमिरेले बताए । उनका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो वर्षको खुद मुनाफा ६४ प्रतिशतका दरले वृद्धि भई ६३ करोड १४ लाख रुपैयाँ सङकलन भएको छ । साथै कर्जातर्फ ३७ प्रतिशतले बृद्घि भई ४९ करोड ९० लाख रुपैयाँ लगानी हुन गएको बैंकले बताएको छ । यसरी गरिएको लगानीमा खराव कर्जा प्रतिशत शुन्य रहेको छ । साथै आ.व.२०७२/०७३ को आषाढ मसान्तमा नेपाल स्टक एक्सचेन्जमा प्रतिशेयर मुल्य ७३० रुपैयाँ कायम हुन आएको छ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले विप्रेषण (रेमिट्यान्स) को माध्यमबाट मात्र करिब ७६ करोड रुपैयाँ बराबरको रकम कारोवार भएको घिमिरेले जानकारी गराए । बैकको हाल कायम रहेको चुँक्ता पूँजी ५ करोड ३ लाख १२ हजार रुपैयाँमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको सेयर पूँजी बृद्घि गर्ने कार्यका लागि यही साउन ११ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
मातृभूमि विकास बैंकको नाफा ८७ लाख २९ हजार, १२ प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ६ साउन । मातृभूमि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ८७ लाख २९ हजार रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ३३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६५ लाख ५८ हजार रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १२ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ५ करोड ५६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ४७ करोड ४५ लाख रुपैयाँ र लगानी ३१ करोड ६ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.२१ प्रतिशत मात्र रहेको छ ।
एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि
काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् । हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।