मंगलबार ५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ६/६ महिनामा ब्याज पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले खरिद गर्न सक्नेछन् । मंगलबार बोलकबोल गरिएको ऋणपत्रको निष्काशन बुधबार हुनेछ । ०८६ सालमा साँवा फिर्ता हुने ऋणपत्रको ब्याज भने ६/ ६ महिनामा प्राप्त हुनेछ । न्युनतम ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म मात्रै बोलकबोल गर्न पाइने छ ।
प्रति व्यक्ति ४५ सय भारु साटिदिने भारतीय प्रस्ताव
काठमाडौं । भारतले नेपालीसँग रहेको ४५ सय भारतीय रुपैंयाँ साटिदिने प्रस्ताव अघि सारेको छ । नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाल आएको भारतीय रिजर्भ बैंक(आरबिआई)को टोलीले नेपाल राष्ट्र बैंकलाई सो प्रस्ताव राखेको हो । आरबिआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्वको टोलीले भारु सटहीबारे नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको छ । नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकले बैधानिक ढंगले बोक्न पाउने २५ हजार भारु नै साट्नुपर्ने अडान राखेको केन्द्रिय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी नेतृत्वमा विभागिय प्रमुख ढुंगानासहितको नेपाली टोलीले भारत पुगेर भारु सटहीको पहल गरेको थियो। पन्तकै नेतृत्वमा आरबिआइको टोलीले नेपाल आएर भारु सटहीबारे प्रारम्भिक छलफल गरेर भारत सरकारलाई प्रतिवेदन समेत बुझाएको थियो । नेपालको बैंकिङ प्रणालीमा ३ करोड ७४ लाख भारु मात्रै रहेको छ ।
शुभलक्ष्मी सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा राजाराम खड्का, बैकिङ छाडेर उद्यमीको बाटोमा
काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा जाने निर्णय गरे’ खड्काले विकासन्युजसँग भने । ‘अन्ततः पूर्णकालिन जागिरको रुपमा मैले बैकिङ छाडेँ र सिमेन्ट क्षेत्रमा कार्यकारी प्रमुखको भूमिका सहित उद्यमीको काम थालेको छु’ उनले फेसबुक पेजमा लेखेका छन् । उनले २० वर्ष पहिला नबिल बैंकबाट जागिर शुरु गरेका थिए । पछि एभरेष्ट, एनआईसी एशिया, सनराईज हुँदै इन्टरनेशनल डेभपलमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी थोरै समय सो बैंकमा डेपुटी जनरल म्यानेजरको भूमिकामा थिए । एनसीसी बैंकबाट दुई महिना अघि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरिसकेको छ ।