गरिमा विकास बैंक काठमाण्डौं आयो, यसै वर्ष नाफामा ७० प्रतिशत वृद्धि
काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सोही अवसर पारेर राजधानीको लाजिम्पाटमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगतग गरिमा विकास बैंकले शनिबार काठमाण्डौंको लाजिम्पाटस्थित होटल एम्बेरसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो । बैंकका सञ्चालक तथा ओम अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’प्रमुख कार्यकारी अधिकृत ढकालले भने । काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा बैंकले ‘आफ्नो टोल आफैं सफा गरौं, धुलो रहित महानगरपालिका बनाऔं’ भन्ने नारा सहित सरसफाई तथा चेतना अभियानको आयोजना गरेको हो । यसबाट राजधानीको वातावरण प्रदुषण नियन्त्रणमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास बैंकले लिएको छ । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि चैत २७ देखि लाजिम्पाटबाट सेवा सुरु गरेको बैंकको औपचारिक उद्घाटन हुन बाँकी छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ । यस क्रममा बैंकले खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको छ ।
जनता बैंकले ल्यायो गौतम वुद्ध बचत खाता, बार्षिक ८ प्रतिशत ब्याज दिने
काठमाडौं । जनता बैंक नेपालले गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । न्यूनतम १०० मै खाता खोल्न सकिने गौतम वुद्ध बचत खातामा निक्षेप कर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन । यसबाट सर्वसाधारणहरु बचत गर्न प्रोत्साहित हुने तथा उच्चतम ब्याजदरबाट लाभान्वित हुने बैंकले दावी गरेको छ । साथै, बैंकले सार्वसाधारणका लागि विभिन्न अवधिका मुद्दती खाताहरुमा वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । ४ अर्ब ७२ करोड चुक्तापूँजी रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दार्चुलासम्म देशका ग्रामीण तथा शहरी क्षेत्रमा रहेका ६७ वटा शाखा कार्यालय, ४ वटा सीमित बैंकिङ्ग इकाइ र १९ वटा ब्रान्चलेस बैंकिङ इकाइ मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
गरिमा विकास बैंकको नाफा ७० प्रतिशतले बढ्यो
काठमाडौं । गरिमा विकास बैंकको नाफा करिब ७० प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षका तेश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा १० करोेड १९ लाखले बढाएर २४ करोड ८५ लाख पुर्याएको हो । जुन अघिल्लो आवको भन्दा ६९ दशमलब ५० प्रतिशत हुन आउँछ । गत आवको तेश्रो त्रैमासिकमा बैंकले १४ करोड ६६ लाख नाफा कमाएको थियो । एक अर्ब २९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४६ करोड ८९ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा १३ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९ करोड कर्जा तथा लगानी प्रवाह गरेको देखिन्छ । बैंकको खराब कर्जा पनि शुन्य दशमलब ७४ प्रतिशत मात्रै रहेको छ । गरिमाको प्रति सेयर आम्दानी २५ रुपैंयाँ ५६ पैसा छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ १७ पैसा रहेको छ । गरिमाले बैशाख १४ गतेदेखि मात्रै १० बराबर ७ कित्ताको अनुपातमा ९० करोडको हकप्रद सेयर निष्काशन गरेको छ ।