कसरी हुन्छ वित्तीय अपराध ? नेपाल र भारतका बैकर्सहरु राष्ट्रिय सम्मेलनमा जुट्दै

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा वित्तीय अपराधहरु बढ्दै गएका छन् । साईबर फ्रड भयो, एटीमबाटै पैसा चोरी भयो तथा क्रेडिट तथा डेविट कार्ड असुरक्षीत भन्ने समाचार आईरहेको हुन्छन् । त्यस्तै, बैकिङ क्षेत्रमा स्कीमिङ, भिजिङ, सिम कोल्नीङ, सिण्डिकेट तथा आइडेन्टी थेप्ट जस्ता बैंकिङ्ग अपराधीक शब्दहरुको प्रयोग बढ्दै गएको छ । वित्तीय अपराधका शैली, रुप, नाम, प्रकृति सबै फेरिएका छन् । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले भारतको फिन्टेलेक्ट संस्थासंगको सहकार्यमा यही बैशाख १४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्ये नजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौँमा राष्ट्रियस्तरको बैकिङ अपराध सम्मेलनका आयोजना गर्दैछ । कार्यक्रमको मुख्य उद्देश्य, वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा चर्चा गरिने छ । यस कार्यक्रममा के कस्तो रणनीतिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल हुने एनबीआईले जनाएको छ । यस सम्मेलनमा स्रोत व्यक्तिहरुको रुपमा भारतबाट एक्सिस बैंकका राजेन्द्र शाखलेच र डीसीबी बैंकका प्रविधि प्रविधि विभाग प्रमुख प्रशन्न लोहर लगायतका विज्ञहरु सहभागी हुने र उनीहरुले बैकिङ अपराध र नियन्त्रणको विषयमा प्रस्तुतिकरण गर्ने भएका छन् । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, अपराध अनुसन्धान विभागका पूर्व प्रमुख हेमन्त मल्ल, बैंक अफ काठमाडौंका प्रमुख सञ्चालन अधिकृत प्रविन क्षेत्री, मेघा बैंकका उप प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले प्रस्तुती गर्ने भएको छन् । यस सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बढी उच्च पदस्थका बैंकिङ्ग कर्मचारीहरु सहभागिता हुने आयोजकले जनाएको छ ।

एनएमबी बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई १ अर्ब १४ करोड

काठमाडौं । एनएमबी बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । बैकले गत वर्षको तुलनामा ३७ करोड २३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षकाे प्रथम ९ महिनामा बैंकको नाफा ७७ करोड ११ लाख रुपैयाँ मात्रै थियो । बैंकले गत चैत मसान्तसम्ममा ७१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । बैंकले यो अवधिसम्ममा ६० अर्ब २४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी नौ अर्ब ९० करोड रुपैयाँ छ । यो बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७० दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १ दशमलव ७० प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । आइतबार यो बैंकको प्रतिसेयर ६ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

एभरेष्ट बैंकको २६ प्रतिशतले नाफा बढ्यो, ९ महिनाको कमाई डेढ अर्ब रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंक लिमटेडले चालू आर्थिक वर्षको नौ महिनामै डेढ अर्ब रुपैयाँ नाफा कामाएकाे छ । यो बैंकले चालू आर्थिक वर्षको तेस्रो अपरिस्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ करोड ६८ लाख अर्थात २६ दशमलव २० प्रतिशतले बढी हो । अधिल्लो वर्षको यही अवधिमा यो बैंकले १ अर्ब २० करोड रुपैयाँ खुँद नाफा गरेको थियो । बैंकले गत चैत मसान्तसम्ममा निक्षेप ९२ अर्ब ८१ करोड रुपैयाँ  संकलन  गरेकाे छ। बैंकले यो अवधिसम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी १२ अर्ब ३६ करोड रुपैयाँ छ । यो बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रुपैयाँ मात्रै छ । बैंकको जगेडा कोषमा भने ५ अर्ब  ४३ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७० दशमलव ८९ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ६७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२० रुपैयाँ ०४ पैसा छ । आइतबार यो बैंकको प्रतिसेयर कारोबार १९ सय १० रुपैयाँमा भएको छ ।