सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी

काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बराबरको चेक बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।  

हितग्राही खाता एक लाख पुर्याउनेमा एनआईबिएल क्यापिटल पहिलो

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. ले आफ्नो हितग्राही खाता एक लाख पुर्याएको छ । देशकै पहिलो पटक सो मात्राको हितग्राही खाता पुुर्याएको यस क्यापिटल आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने निक्षेप सदस्य संस्था भएको छ । यस संस्थाले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको समेत कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । साथै, निक्षेप खाताको बजार हिस्सा मध्ये ११ दशमलब ५५ खाता यसै संस्था मार्फत संचालन गर्न सफल रहेको छ । नेपालको धितोपत्र बजारको लागि एकिकृत मोवाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ । उक्त एपमा निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएकाे छ । यस क्यापिटलले बैंक/वित्तीय संस्था, लघुुवित्त कम्पनी, जीवन तथा निर्जिवन बीमा कम्पनी लगायत होटल गरी जम्मा ३० वटा कम्पनीका करिव ५ लाख ७२ हजार ३ सय शेयर धनीहरुलाई शेयर रजिस्टर सम्बन्धी सेवा पुर्याउदै आएको जानकारी दिइएको छ ।    

एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त

काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंक २० वर्ष पुगेको अवसरमा बैंकको छवि अझ उचाईमा पुर्याउन तीन दशकदेखि अभिनय यात्रामा सफल अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘बैंक पनि २० बर्ष पुगेको छ, अभिनयको क्षेत्रमा तीन दशक काम गरेर सफलता कमाउनु भएकी अभिनेत्री कोइरालाई ब्राण्ड एम्बेसडर बनाएर अझै उचाईमा पुग्ने लक्ष्य छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले भने । ब्राण्ड एम्बेसडर नियुक्त भएकी नायिका कोइरालाले पनि बैंकको भिजन राम्रो लागेकोले सहकार्यको प्रस्ताव स्वीकार गरेको बताईन् । ‘पुरानो बैंक, ठूलो नेटवर्क भएको र राम्रो भिजन पनि देखेपछि ब्राण्ड एम्बेसडर बन्न राजी भएको हुँ’ नायिकका कोइरालाले भनिन् । कार्इराला अागामी दुर्इ वर्षकाे लागि अनुबन्धित भएकाे बैंकले जनाएकाे छ । एनआइसी एसिया बैंकले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । निकट भविष्यमै ३ सय वटा शाखा सञ्जाल पुर्याउने र आम मानिसको पहुँचमा बैंकलाई स्थापित गर्ने उदेश्य तय गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।