मेगा बैंक आठौं बर्षमा प्रवेश, चुक्ता पुँजी ९ अर्ब पुग्दै
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड आठौँ बर्षमा प्रवेश गरेको छ । सातौं बर्ष पूरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गर्नुभयो । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको जानकारी दिए अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको भन्दै टुरिजमसँगको मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्ने बताए । ‘संघीयताको कार्यान्वयनसँगै नयाँ–नयाँ आर्थिक सम्भावना र चुनौतीहरु देखिन थालेका छन् । त्यसैले नयाँ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना बनाएका छौँ,’ अध्यक्ष शाहले भने । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिए । सिइओ शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको बताए । सिइओ शाहले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको बताए । टुरिजम डेभलपमेन्ट बैंक प्राप्ति, हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणपछि यसै वर्ष बैंकको चुक्ता पुँजी ९ अर्ब भन्दा बढी हुने उनले बताए । बार्षिकोत्सवको अवसरमा सिइओ शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गरे । मेगा बैंकका ग्राहकहरुले अब जीवन बिमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बिमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन ८ अर्ब बढेर ३९ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ७.४ अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह २७.८ अर्बबाट बढेर ३५.१५ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै २ लाख ६० बढेको छ । कर्जाको औसत आकार ३४ लाख र निक्षेपको १ लाख ४९ हजार रहेको छ । मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ । सहयोग हस्तान्तरण यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले काठमाडौँको बौद्धमा संचालित ‘गरिब तथा अनाथ बालिका गृह’ लाई एक लाख रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनिलकेशरी शाहले संस्थाका संस्थापक पूर्णमाया गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक बर्ष सहयोग गर्दै आएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड’बाट सम्मानित
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ । प्रतियोगितामा स्ट्याण्डर्ड चार्टर्ड लगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितामा छानिएका छन् । साथै, विजेता बैंकहरु डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्य क्षमताको आधारमा छानिएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विजेताहरु इन्फोसिस्, विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेका हुन् । ग्लोबल फाइनान्स इडिटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए । यस बैंकले लगातार तीन पटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यस बैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननिय नेपालस् बेष्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।
मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड ६३ लाख, खराब कर्जा शून्य नजिक
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/०७४ वर्ष बैंकको निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । सोही अवधिमा बैंकको निक्षेप ४८.७६ प्रतिशतले बृद्धि भई १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकका प्रति शेयर वार्षिक आम्दानी ३२.११ रुपैयाँ रहेको छ । साथै, सो अवधिमा बैंकको प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२४ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले वार्षिक तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पुर्याएको छ । सो अवधिमा बैंकले न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गरेको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको थियो ।