एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या, अनुसन्धानको लागि राष्ट्र बैंकले टोली खटायो
काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन । स्रोतका अनुसार असोज ३१ गतेदेखि स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । कारोबारमा समस्या देखिएपछि एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । आइतबार कार्यलय खुलेलगत्तै राष्ट्र बैंकले एक टोलीलाई एनआइसी एशिया बैंकको स्थलगत अध्ययन गर्न खटाएको छ । ‘स्वीफ्ट कारोबारमा समस्या भएको र केही कारोबारमा गडबढी भएको भन्ने जानकारी आएकोले अध्ययन गर्न राष्ट्र बैंकबाट एक टोली गएको छ । वास्तविकता एकिन भएको छैन’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । उक्त बैंकको कारोबारमा समस्या देखिएको बारेमा अनौपचारिक सूचना आएको तर बैंकबाट औपचारिक जानकारी केही नआएको प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ । केही समयअघि बंगलादेशमा स्वीफ्ट कारोबार ह्याक गरी ह्याकरले करोडौ डलर बेपत्ता बनाएको घट्ना स्मरण गर्दै बैंकहरु उच्च सर्तकतामा देखिएको स्रोतले बताएका छन् ।
माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको ९ प्रतिशतका दरले ६६ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । बाेनस सेयर वितरणपछि बैंककाे चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने बैंकले जनाएकाे छ । साथै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ४४ करोड ३४ लाख रुपैयाँ नगद लभांश दिने भएको छ ।
लक्ष्मी बैंकले पौने ७५ करोडको बोनस सेयर दिने, पुँजी ८ अर्ब नाध्याे
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ७४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको हो । कात्तिक १ गते बसेको बैंक सञ्चालन समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर जारी पनि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने भएकाे छ । असार मसान्तसम्ममा बैंककाे चुक्ता पुँजी ७ अर्ब ४७ कराेड रूपैयाँ छ । बाेनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।