नबिल बैंकद्धारा महानगरीय प्रहरीलाई ईलेक्ट्रोनिक सामाग्री सहयोग

काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरेको बैंकले जनाएको छ । असोज २६ गते बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् । नबिल बैंकले आर्थिक वर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसाका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब रुपैयाँ पु¥याएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।  

माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामीमा राखिएको छ । बैंकको संस्थापक सेयर २० हजार २ कित्ता र सर्बसाधारण समूहको १ लाख ४० हजार ७४० कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो। बैंकले गत साउन ५ देखि भदौं ७ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरका लागि आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर लिन कात्तिक ५ देखि १३ गतेसम्म आवेदन गर्न सकिने बैंककोसेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।  

सिनर्जीलाई बेष्ट फाइनान्सले प्राप्ति गर्ने, सिनर्जीको सेयर कारोबार रोक्का

काठमाडौं । सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रक्रिया अगाडि बढेपछि बिहीबार सिनर्जी फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बिहीबार साँझा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको वेष्ट फाइनान्सका अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । एक्विजिशनपछि कम्पनीको नाम बेष्ट फाइनान्स राखिने भएको छ । अध्यक्ष बेष्ट फाइनान्सका पदमराज न्यौपानेले निरन्तरता पाउने र प्रमुख कार्यकारी अधिकृतमा सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विनितमणि उपाध्ययले निरन्तरता पाउने भएका छन् । नयाँ समझदारी पछि सिनर्जी फाइनान्सले कात्तिक १७ गतेको लागि बोलाएको साधारणसभा र ७० प्रतिशत हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव अन्यौलमा परेको छ । स्वाप रेसियो बारे सहमति भएको छैन । दुबै संस्थाको डीडीए गर्ने र डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो तय हुने अध्यक्ष न्यौपानेले बताए । केही समय अघि जनरल फाइनान्सको नाम परिर्वतन भई वेष्ट फाइनान्स लिमिटेडको नाममा कारोबार भईरहेको छ ।