अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र हकप्रद सेयर लिलामी हुदै, कात्तिक २३ गते अन्तिम मिति
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर १ लाख ८७ हजार ६७८ र सार्वसाधारण समूहको ७१ हजार ५७१ कित्ता रहेको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति कात्तिक २३ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धकमा सन्तोष कोइराला र अर्जुन थापा
काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला तथा अर्जुन थापा बढुवा भएका छन् । बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरी कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा बढुवा गरेको हो । कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए भने सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका थिए । कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् । त्यसैगरी, थापाले तत्कालिन ग्रिण्ड्लेज बैंकबाट सन १९९२ बाट करियर शुरु गरेका थिए भने माछापुच्छ्रे बैंकमा स्थापना काल देखि नै आबद्ध थिए । थापाको कर्जा लगानी, रिस्क म्यानेजमेन्ट लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता रहेको छ । थापाले यसै बैंकको पोखरा क्षेत्रको क्षेत्रीय प्रबन्धकको रुपमा समेत काम गरेका थिए । कोइरालालाई हाल बैंकको सम्पूर्ण ’बिजिनेस’ तथा थापालाई बैंकको ’संचालन’ हेर्ने जम्मेवारी पनि दिईएको छ ।
बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले बुधबार ५ अर्ब उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरी बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले आउदो बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम रिभर्स रिपोमार्फत उठाउन लागेको हो । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । राष्ट्र बैंककाअनुसार बैकिङ प्रणालीमा अझै ४२ अर्ब रुपैयाँ बढी तरलता रहेको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० दिने निक्षेप संकलन उपकरणमार्फत ४ पटक बजारबाट १६ अर्ब रुपैयाँ उठाइ सकेको छ । रिभर्स रिपोको ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । बजारमा पर्याप्त तरलता भएपछि बैंकले कर्जा र निक्षेपको ब्याज दर घटाएका छन् । कर्जाको ब्याज दर न्युनतम् १० देखि बढीमा १२ प्रतिशतसम्म छ । यस्तै मुद्धती निक्षेपको ब्याज दर पनि घटेर ६ प्रतिशत भन्दा तल झरेको बैकर्सले बताएका छन् ।