कर्मचारी संचय कोष र बीमा संस्थानमा प्रशासक नियुक्तिको तयारी, छनौटका लागि कार्यविधि तयार

काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले दुबै संस्थाको प्रशासक छनौट सिफारिश सम्बन्धि कार्यविधि तयार पारेको छ । सरकारले औपचारिक रुपमा नियुक्तिका लागि आवेदन खुलाउने तयारी गरेको छ । दुबै संस्थाका लागि लिखित र अन्तरवार्ता समेत हुनेछ । केही महिनादेखि दुबै संस्था प्रमुख विहीन भएका छन् । संचय कोषका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ बर्षको कार्यानुभव प्राप्त गरेको हनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै ३० वर्ष पुरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । उम्मेदवारले कोषको आगामी व्यवसायिक योजना समेत प्रस्तुत गर्नुपर्ने छ । बीमा संस्थानमा प्रशासक हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहकोउपाधि हासिल गरेको हुनपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकीय तहमा कम्तीमा ५ बर्षको अनुभव आवश्यक पर्ने छ ।

राष्ट्र बैंकले आइतबार ८ अर्ब ८६ करोडको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो । ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने व्यवस्था गरिएको छ । निष्कासन आउदो सोमबार हुने छ । ऋणपत्रको साँवा भुक्तानी ०८२ कात्तिक १३ गते हुने केन्द्रीय बैंकले जानकारी दिएको छ । चालु आवमा सरकारले विभिन्न वित्तीय उपकरणमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने छ ।  

गुरु न्यौपानेको जफत गरिएको २ करोड १९ लाखको सेयर लिलामी कात्तिक २१ गते

काठमाडौं । जनता बैंकले सञ्चालक गुरुप्रसाद न्यौपानेबाट जफत गरेको साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले जफत गरेको ८५ हजार १ कित्ता साधारण सेयर खरिदका लागि बोलपत्र पेश गर्ने भनेको छ ।  हाल जनता बैंकको सेयर प्रति कित्ता २५८ रुपैंयाँमा कारोबार भैरहेको छ । सोही मूल्यलाई आधार मान्दा न्यौपानेसँग जफत गरिएको ८५ हजार १ कित्ता सेयरको मूल्य २ करोड १९ लाख हुन आउँछ । बैंकले कात्तिक २१ गतेलाई लिलामीको मिति तोकेको छ ।  न्युनतम मूल्य भन्दा बढी दर प्रस्ताव गर्नेलाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन विपरित खरिद गरेको शेयर जफत गर्न निर्देशन दिएको थियो । न्यौपानेले जनता बैंकको संञ्चालक रहेकै बेला श्रीमती सुमित्रादेवीका नाममा शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले सबै शेयर जफत गर्न निर्देशन दिएको हो । न्यौपानेकी श्रीमति सुमित्राको नाममा रहेको ५२ हजार ४७० कित्ता, त्यसबाट प्राप्त बोनस र हकप्रद शेयरसमेत जफत गरेको थियो । नेपालको कर्पोरेट इतिहासमा सेयर जफत भएको पहिलो घटना हो । न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवीको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट खरीद गरेका थिए । त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट ६ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या ८५ हजार १ कित्ता पुगेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । आफनै फटाइले गर्दा न्यौपानेले २ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम गुमाएका छन् ।