बैंकको कर्जा लगानी ३७ अर्ब ९१ करोड वृद्धि, रियलस्टेट र ओभरड्राफटमा घट्यो, हायर पर्चेजमा बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी बढेर २० खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी थियो । २ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३७ अर्ब ९१ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १.८, विकास बैंकको ४.८ र वित्त कम्पनीको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१, औद्योगिक उत्पादन २.४, निर्माण ३.०, थोक तथा खुद्रा व्यापार ३.३, सेवा उद्योग २.८, र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०. र १५.२ प्रतिशत थियो । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ । यस्तै ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग अवधिमा बढेको छ । गत भदौ मसान्तसम्ममा साधारण पुनरकर्जा ६ अर्ब ४६ करोड र निर्यात कर्जा ६८ करोड १३ लाख गरी ७ अर्ब १४ करोड रुपेयाँ पुनरकर्जा लगानीमा रहेको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधि सम्म ९० करोड ४७ लाख रुपैयाँ उपयोगमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सिद्धार्थ बैंकले सामान्य वचतमा ८ प्रतिशत ब्याज दिने
काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ क्यापिटलको स्मार्ट एप्लिकेसन रहेका छन् ।
रेमिट्यान्स वृद्धिदर रोकियो, अर्थतन्त्रमा अब के हाेला ?
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएपछि यसको असर परेको हो । गत वर्ष १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबर रेमिट्यान्स प्राप्त भएको थियो । रेमिट्यान्स आप्रवाह घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) घट्ने संभावना छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । रेमिट्यान्स वृद्धिमा ब्रेक लाग्ने क्रमले निरन्तरता पाए मुलुकको विदेशी मुद्रा संचितीमा असर गर्ने अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । यसले आगामी दिनमा गरिवी न्युनीकरण र उपभोगमा असर गर्ने उनको तर्क छ । “अहिले नै यसले खासै असर गर्देन, निरन्तर यो अवस्था रहेमा सरकारले विकल्प सोच्नु पर्ने अवस्था आएको छ” शर्माले भने ।