देवले युनियन र साझालाई प्राप्ति गर्यो, आउदो बिहीबारदेखि एकिकृत कारोबार हुने
काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ । देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।
मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने, दुबैले मंसिर ४ गते बोलाए साधारणसभा
काठमाडौं । मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने (मर्जर) भएको छ । मर्जरमा जान दुबै बैंकले मंसिर ४ गते साधारणसभा बोलाएका छन् । मेगाले विशेष र टुरिजमले सातौ वार्षिकसभा बोलाएका हुन् । दुबै संस्थाले साधारणसभा बोलाएकाले मर्जरमा जाने लगभग निश्चित भएको छ । मर्जरका लागि दुबै बैंककको चलअचल सम्पत्ति दाइत्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार टुरिजमका १ सय रुपैयाँको सेयर बराबर मेगामा ९५ रुपैयाँ हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्न सभामा प्रस्ताव पेश हुने छ । टुरिजमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । टुरिजम्को चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।
३ महिनामा एनएमबी बैंकको नाफा १० करोड बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एनएमबी बैंकले खुदनाफा १० करोड रुपैयाँ बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको अपरिष्कृत विवरणमा वित्तीय सुचक सकरात्मक रहेको देखाएको छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७७.८४ प्रतिशत रहेको छ । बैंकको आधार दर बढेर १०.२१ प्रतिशत पुुगेको जानकारी दिएको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ । ३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो । कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।