बिओकेको एकै पटक ८ शाखारहित बैंकिङ
काठमाडौं,१८ असार । बैंक अफ काठमाण्डू लिमिटेडले एकै साथ ८ वटा स्थानहरुबाट शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको प्रतापपुर–२, प्यूठान जिल्लाको बाङ्गेसाल–७ र ढुङ्गेगढी–३, दाङ्ग जिल्लाको सिसनीया–०५, बर्दिया जिल्लाको पाताभार–९ र मनाउ–५, नवलपरासी जिल्लाको तिलकपुर–६ र रुपन्देही जिल्लाको सिक्टन–६ मा शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैंकले यी ८ स्थानहरु बाहेक विभिन्न थप स्थानहरुमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । हाल सम्म बैंकले ३३ स्थानहरु बाट शाखा रहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । युकेएड अन्तर्गत सक्षम कार्यक्रमले आपm्नो वित्तीय पहुंच कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई बैंकिङ्ग कारोबारमा सहभागी गराउने उद्देश्यले बैंक अफ काठमाण्डूको सक्रियतामा २४ वटा विभिन्न ठाउँमा शाखा रहित सेवा केन्द्रको स्थापना गर्न सहयोग गरेको छ ।
लक्ष्मी बैंकले प्रोफेशनल दियालो बैंकलाई एक्वार गर्ने
काठमाडौं, १७ असार । लक्ष्मी बैंकले र प्रोफेशनल दियालो विकास बैंकलाई एक्वार गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष शम्भु प्रसाद आचार्य र प्रोफेशनल दियालो विकास बैंकका तर्फबाट अध्यक्ष लोक राज पन्तले सहमतिपत्र पत्रमा हस्ताक्षर गरेका हुन् । यस एक्विजिसन पश्चात् बैंकको वासलातको आकार वृद्धि, शाखा सञ्जाल विस्तार, ग्राहक संख्या तथा पूँजी वृद्धिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलवी बचत खाता सञ्चालन सम्झौता
काठमाडौं, १७ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन सम्बन्धमा बिहिबार सम्झौता भएको छ । उक्त समझदारी पत्रमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको समुपस्थितीमा प्रहरी अतिरिक्त महानिरिक्षक रमेश शेखर बज्राचार्य र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि बैंकले हाल ६७ जिल्लामा रहेका १६७ वटै शाखा कार्यालयहरुबाट नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक प्रकिया पुर्याएर शुन्य मौज्दातमा तलबी बचत खाता खोलीदिने, सहुलियत दरमा एटिएम डेबिट कार्ड, मोवाइल बैकिङ्ग सुविधा, एबिबिएस सुविधा, निशुल्क स्टेटमेन्ट, चेकबुक सुविधा, दुई लाख रुपैया सम्मको निक्षेप बीमा, एक लाख रुपैया सम्मको दुर्घटना बीमा, प्रहरी तथा प्रहरीका परिवारलाई नियमानुसार डलर सटही सुविधा प्रदान गर्न तथा भिसा डेबिट कार्ड इन्टरनेशनल अथवा ट्राभल कोटा सुविधा उपलब्ध गराउने भएको छ । उक्त अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले इतिहास बोकेको नेपाल सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक संग तत्काल करिब ७२ हजार प्रहरीको तलबी खाता संचालन गर्न पाउदा खुशी लागेको विचार ब्यक्त गरेका छन् । साथै श्रेष्ठले हाल ६७ जिल्लामा रहेका यस बैंकको सेवालाई निकट भविश्यमा ७५ वटै जिल्लामा विस्तार गर्ने अभियानमा बैंक रहेको र यसबाट नेपाल प्रहरी लगायत सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।