नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट । नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् ।  रासस

सनराइज बैंकको नाफा ५ करोड घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च गरेको देखिन्छ । सनराइज बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ९.९९ रुपैंयाँ तथा प्रति सेयर नेटवर्थ १२१.०६ पैसा रहेको छ ।

अनिल शाह पुस १७ देखि सेञ्चुरीकाे सीईओ बन्ने

काठमाडौं । अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबार सम्हाल्ने भएका छन् । हाल मेगाको सीईओ रहेका शाहले त्यहाँ दुई कार्यकाल सकिएपछि सेञ्चुरीमा जान लागेका हुन् । सेञ्चुरीको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपछि शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।