सनराइज बैंक लिमिटेडको सुनवल शाखा स्थानान्तरण

काठमाडौं, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले बैंकले उक्त शाखा स्थानान्तरण गरेको हो । सुनवल शाखा कार्यालयको समुद्घाटन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स नवलपरासिका अध्यक्ष भिमबहादुर थापा (भरत)ले गरेका हुन् । साथै बैंक परिसरमा रहेको ए.टि.एम्.को समुद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका हुन् । सुनवल शाखामा निक्षेप संकलन तथा साना एवंम् मझौला व्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधा उपभोग गर्न सकिने छ । नयाँ स्थान स्थानान्तरणको अवसरमा बैंकको सो शाखामा श्रावण २३ देखि भदौ १६, २०७३ सम्मका लागि लकर सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा र ७१ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चितवन मेडिकल कलेज नारायणघाटमा एक्स्टेन्सन काउन्टर तथा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ प्रतिशतले वृद्धि

काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो । बैंकले २०७२ असार मसान्तसम्म्ममा जम्मा १४ करोड २७ लाख नाफा आर्जन गरेको थियो । बैंकले आर्जन गरेको नाफामा १६ करोड २० लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको छ । बैंकले आफ्नो खराब कर्जालाई ४ दशमलब शुन्य ४ प्रतिशतबाट घटाएर २ दशमलब ४१ प्रतिशतमा झारेको छ । बैंकले सो अवधीमा १२ अर्ब ३२ करोड निक्षेप संकलन गरेर १० अर्ब ५८ कर्जा तथा सापटी प्रवाह गरेको देखिन्छ ।

कुमारी बैंकको नाफा साढे ३४ करोडले बढ्यो

काठमाडौं, २३ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नाफा ३४ करोड ५० लाख रुपैंयाँले वृद्धि गरेको छ । २०७२ असार मसान्तमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको कुुमारी बैंकले २०७३ असार मसान्तमा ७४ करोड १ लाख नाफा कमाउन सफल भएको हो । यो नाफा अघिल्लो अवधीको भन्दा ८७ दशमलब ५० प्रतिशतले बढि हुन्छ । बैंकले आर्जन गरेको नाफामा ४३ करोड २० लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३८ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर एक दशमलब ११ प्रतिशतमा सिमित गराएको छ । कुमारी बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ ४३ पैसा रहेको छ । बैंकले ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ ।