प्रभु बैंकको एक्स्टेन्सन काउन्टर तिलगंगा आँखा अस्पतालमा
काठमाडौं, १८ साउन । प्रभु बैंकले गौशाला स्थित तिलगंगा आँखा अस्पताल परिसरमा एक्स्टेसन काउन्टर सञ्चालन हुने भएको छ । उक्त अस्पताल परिसरमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पुरा गरिसकेको छ । बैंकका अनुसार अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउन्टरमा बुझाई अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनकाअनुसार अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म बैंकले सेवा उपलब्ध गराउने छ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने यस तिलगंगा एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएपश्चात् उपचारको लागि आउने सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवा लिन सक्नेछन् । साथै, तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
रिलायबल बैंकले ल्यायो नयाँ योजना, सय दिने मुद्दतीमा ७ प्रतिशत ब्याज
काठमाडौं, १८ साउन । रिलायबल डेभलपमेन्ट बैंकले सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । सय दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार सय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने छ । उक्त सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।
चार वटा बाणिज्य बैंकको नाफा चार अर्ब, सिद्धार्थ, प्रभु, सनराईज र लक्ष्मीले कति कमाए ?
काठमाडौं, १८ साउन । चार वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा चार अर्ब नाफा कमाएका छन् । मंगलबार वित्तिय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक, प्रभु बैंक, सनराईज बैंक र लक्ष्मी बैंकले सो अवधीमा कुल चार अर्ब नाफा कमाउन सफल भएका हुन् । चारमध्ये सिद्धार्थ बैंक र प्रभु बैंकको नाफा एक अर्ब नाघेको छ भने सनराइज बैंकले आफ्नो नाफा १०२ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, लक्ष्मी बैंकको नाफा पनि २३ करोडले वृद्धि भएको छ । सिद्धार्थको नाफा १२४ करोड सिद्धार्थ बैंक लिमिटेडले २०७३ असार मसान्तसम्ममा एक अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ४७ करोडले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ७७ करोड नाफा कमाएको थियो । बैंकले कमाएको नाफामा १५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । सिद्धार्थको खराब कर्जा एक दशमलब ४१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी रुपैंयाँ ४९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैंयाँ ९१ पैसा रहेको छ । प्रभुले कमायो ११४ करोड प्रभु बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १४ करोड नाफा कमाएको छ । बैंकको यो नाफामा एक अर्ब ५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १३ करोडले बढि हो । बैंकले सो अवधीमा जम्मा एक अर्ब १ करोड रुपैंयाँ नाफा कमाउन सफल भएको थियो । समस्याग्रस्त ग्राण्ड बैंकसँग मर्ज भएको प्रभुको खराब कर्जा ८ दशमलब ३८ प्रतिशत रहेको छ । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेको छ । सनराइजको नाफा १०२ प्रतिशतले वृद्धि त्यस्तै, सनराइज बैंकले आफ्नो नाफामा १०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ९५ लाख रुपैंयाँ नाफा कमाएको हो । यो नाफा बैंकले २०७२ असारमसान्तसम्ममा कमाएको भन्दा ४८ करोड अर्थात १०२ प्रतिशतले बढि हो । सो नाफामा ५५ करोड रुपैंयाँ भने राइटब्याकबाट प्राप्त भएको हो । बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । ३ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ । लक्ष्मी बैंकले कमायो ६७ करोड लक्ष्मी बैंकले २०७३ असार मसान्तसम्ममा ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्मको भन्दा २३ करोड ७४ लाखले बढि हो । बैंकले सो अवधीमा ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । लक्ष्मी बैंकको यो नाफामा १० करोड रुपैैंयाँको हिस्सा राइटब्याकले ओगटेको छ । ३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।