राष्ट्र बैंकले १ अर्ब ११ करोड लगानी गर्ने, आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ११ करोड रुपैयाँ निक्षेप लगानी गर्न आह्वान गरेको छ । आर्थिक रुपमा स्वस्थ्य रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम लगानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केही वर्षअघि विकास बैंक र फाइनान्स कम्पनीमा राखिएको निक्षेप असुरक्षीत भएको भन्दै राष्ट्र बैंकले ती सबै संस्थामा रहेको निक्षेप लगानी फिर्ता गर्ने, सीमा तोक्ने कार्य गरेको थियो । राष्ट्र बैंकलाई पछ्याउँदै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, बीमा कम्पनीहरु, टेलिकम कम्पनीहरु लगायत सबै संस्थागत निक्षेप लगानीकर्ताले विकास बैंक र वित्त कम्पनीमा निक्षेप राख्न हिचकिचाएका थिए । परिणाम विकास बैंक र वित्त कम्पनीहरुमा तरलताको संकट बढ्नुको साथै, निक्षेप वृद्धिदर समेत घटेको थियो । पछिल्लो वर्ष राष्ट्र बैंकले आफ्नो निक्षेप लगानी गर्दा संस्थागत विविधिकरण गर्न बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीलाई निश्चित रकम तोकेर त्यसमा प्रतिस्पर्धा गराउँदै आएको छ । राष्ट्र बैंकले लगानी योग्य १ अर्ब ११ करोड रुपैयाँ मध्ये ९४ करोड ४४ लाख वाणिज्य बैंकमा, १७ करोड ७१ लाख विकास बैंकमा र ५ करोड ९० लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गर्ने उल्लेख गरेको छ । बढाबढ व्याजदरमा १ वर्षको लागि लगानी गर्न आह्वान गर्दै राष्ट्र बैंकले वित्तीय अवस्था राम्रो भएको, संस्थागत सुशासनमा गम्भिर अटेर नगरेको संस्थाले आवेदन गर्न सक्ने शर्तहरु राखेको छ ।  

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरिद गर्ने

काठमाडौं, १९ भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । आइतबार हामा मर्चेण्ट खरिद सम्बन्धी सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हामा मर्चेण्ट खरिद गरेपछि बैंकको नाम भने सिभिल बैंक नै रहनेछ । त्यस्तै, बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापनले समेत निरन्तरता पाउनेछ । यस अघि सिभिल बैंकलेरु २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ । चुक्तापुँजी २२ करोड रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिदपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड पुग्नेछ । हामा मर्चेण्टलाई गाभेपछि बैंकको पूँजी तथा प्रतिष्पर्धी क्षमतामा समेत वृद्धि हुने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले २०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुर्याउन बोनस शेयर र हकप्रद शेयरका साथै अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाउने उनले जानकारी दिए ।

सानिमा क्यापिटल लिमिटेडले काम थाल्यो

काठमाडौं, १९ भदौ । सानिमा क्यापिटल लिमिटडले कार्यारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डले भदौ १६ गते कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र दिएको हो । कम्पनीले निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम गर्नेछ । कम्पनीले चाँडै सामुहिक लगानी कोष (म्युचल फण्ड)को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा समेत कामा गर्ने बताएको छ । कम्पनीको नारायणचौर, नक्सालमा रहेको छ । १५ करोड अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी भने ११ करोड रहेको छ । क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल छन भने सञ्चालकमा तेज बहादुर चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहेका छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने मनिष नारायण जोशी रहेका छन् ।